|

पर्वत : चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने समस्याबारे जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिकाले संयुक्त रूपमा पोखरा–१७ को छोरेपाटनमा बजार अनुगमन गर्दा लेवल नभएका, म्याद नाघेका र पसल नवीकरण नभएको फेला परेको छ।

पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले बजार अनुगमनअन्तर्गत बुधबार खाद्य सामग्रीको अनुगमन  गरिएको बताइन्। नेपालीका मुख्य चाडबाडहरू नजिकै आउँदा बजारको नियमित अनुगमन गरेर बिक्रीका लागि राखिएका सामानको उपभोग्य मिति, छोटो समयमा नै बिक्री गरिसक्नुपर्ने वस्तु, मूल्य सूची, भण्डारणलगायतको अनुगमन गर्न थालिएको हो।

पोखरा महानगरपालिकाकी उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समिति संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुषा कार्की, पोखरा महानगर बजार अनुगमन अधिकृत भरतराज पौडेल, उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइराला लगायतको उपस्थितिमा पोखरा महानगरपालिका–१७ छोरेपाटनका पसलहरूमा अनुगमन गरिएको हो।

पोखरा महानगरकी उपप्रमुख गुरुङका अनुसार उक्त वडाका ३ वटा खाद्य स्टोर्समा अनुगमन गर्दा लेवल नभएका, म्याद कटेका र पसल नवीकरण नभएको फेला परेको छ।

छोरेपाटनमा रहेको एबिसी स्टोर्सबाट म्याद कटेका ६ हजार २ सय रूपैयाँ बराबरको खाद्य सामग्री नष्ट गरिएको छ। १० लिटर कोसेली तेल, जोन्सन एन्ड जोन्सन ४ थान, बेकिङ पाउडर ९ बट्टा, भ्यासलिन ३ थान, पोका पाउडर ५ थान नष्ट गरिएको महानगरपालिकाका अनुगमन अधिकृत भरतराज पौडेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.