|

हेटौंडा : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको संरक्षकबाटै संविधानको उल्लंघन भएको बताएका छन्।

हेटौंडामा बुधबार आयोजित मकवानपुर जिल्ला पार्टी पुनर्गठन घोषणा कार्यक्रममा अध्यक्ष यादवले संविधानको संरक्षक राष्ट्रपतिले नै संविधानको उल्लंघन गरेको बताएका हुन्।

संसदका दुवै सदनले दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन गरेको जसपा अध्यक्ष यादवले आरोप लगाए। उनले देशको निर्वाचन प्रणाली नै बदल्नुपर्ने बताए। उनले निर्वाचन प्रणाली बदलेर जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने बताए।

‘अब नेपालमा निर्वाचनमा भाग लिएर जनताद्वारा प्रत्यक्ष निर्वाचित भएर राष्ट्रपति बन्ने व्यवस्था हुनुपर्छ’, यादवले भने। उनले केपी शर्मा ओलीको सरकारले अध्यादेशमार्फत नागरिकता वितरण गर्ने प्रयास गरेकोमा सर्वोच्च अदालतले अध्यादेशबाट नभई कानुन बनाएर नागरिकता दिन भनेको उल्लेख गरे।

त्यही अध्यादेश केपी ओलीको सरकारले राष्ट्रपतिसमक्ष पठाउँदा तुरुन्त राष्ट्रपतिबाट प्रमाणीकरण भएर अध्यादेश जारी भएको तर सोही अध्यादेशलाई हुबहु संसदको दुवै सदनले दुई पटक पारित गरेर राष्ट्रपतिसमक्ष पठाउँदा राष्ट्रपतिले प्रमाणीकरण नगरेको आरोप उनले लगाए।

नेपालको संविधान संशोधन गर्न आवश्यक रहेको उनले दोहोर्‍याए। यादवले एउटा स्थानीय तहमा मात्रै करोडौं खर्च गर्नुपर्ने, हजारौं कर्मचारी खटाउनुपर्ने भएकाले अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो रहेको भन्दै चिन्ता व्यक्त गरे। अर्थतन्त्रमा गिरावट आइरहेका वेला खर्चिलो निर्वाचन प्रणालीलाई बदल्नुपर्ने यादवको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.