|

बागलुङ  : निसीखोला गाउँपालिका–५ मसगाउँका जुम बहादुर बुढाथोकी मगरले निसेलढोरमा दुई दशकदेखि स्याउ खेती गर्दै आएका छन्। लामो समयदेखि परम्परागत तरिकाले स्याउका उत्पादन गर्दै आएका बुढाथोकीले १५ रोपनी जग्गामध्ये केही जग्गामा मात्रै लगाएको स्याउ खेतीले स्याहार पाएन।

१० वर्षमा उनले लगाएका स्याउका विरुवा मासिए, नेपाल प्रहरीको जागिरे रहेका बुढाथोकी मगरले २०५८ सालमा अवकासपछि उनको स्याउ खेती प्रतिको रुचि घटेको थिएन।

स्याउ खेतीका विषयमा जागिरे जीवनको समयमै विभिन्न स्थानमा सेवा गर्दा थाहा पाइसकेका मगरले  जनआन्दोलनपछि परम्परागत रुपमै स्याउ खेती थाले। तर स्याउको राम्रो उत्पादन हुन नसक्दा मगरको मात्रै हैन मगर संगै निसेलढोर र ढोरपाटनका किसानहरु स्याउखेति भन्दा आलुखेती तर्फ अग्रसर भइरहेका थिए।

उनले आफ्नो व्यक्तिगतरुपमा ढोरपाटन स्याउ फर्ममा नयाँ र पुराना स्याउ गरी १५ रोपनी जग्गामा स्याउ विस्तार गर्ने लक्ष्य राखे। उनको १५ रोपनी जग्गा मध्ये ८ रोपनी जग्गामा स्याउ खेतीका लागि तयारी अवस्थामा राखेका छन्। उनले ५ रोपनी जग्गामा नयाँ २२० विरुवा र पुराना ५० वटा  स्याउका विरुवा छन्। 

ढोरपाटन क्षेत्रमा हिमपातसँगै पानी र वर्षाका कारण मुस्ताङमा जस्तो स्याउको राम्रो उत्पादन नभएपछि किसानहरु व्यावसायिक उत्पादनमा अग्रसर भएका थिएनन्। कृषि अध्ययनले समेत ढोरपाटनमा असिना र वर्षातका कारण व्यवसायिक स्याउखेती गर्न कठिन देखाएको थियो।  तर कृषि ज्ञान केन्द्रको पहलमा इटालीबाट ल्याइएको आधुनिक प्रजातिको स्याउको विरुवा ढोरपाटनमा परीक्षणका लागि मात्रै लगाइएको थियो।

परीक्षणका लागि लगाएको स्याउखेती एक वर्षमै सफल बनेको पाइएको छ। सानो बोटमा धेरै स्याउ फल्ने गरी विकास गरिएको इटालियन प्रजातिको स्याउले एक वर्षबाटै उत्पादन दिन थालेपछि ढोरपाटन क्षेत्रको हावापानीमा उक्त स्याउको परीक्षण सफल भएको ढोरपाटन स्याउ ब्लकका अध्यक्षसमेत रहेका जुम बहादुर बुढाथोकी मगरले बताए।

बागलुङको ढोरपाटन क्षेत्रमा परम्परागत तरिकाले स्याउ खेती गर्न थालेको वर्षौ भए पनि व्यावसायिक उत्पादनका लागि आधुनिक प्रजातिको इटालीबाट ल्याइएको स्याउको विरुवानै उत्कृष्ट देखिएको छ।

ढोरपाटन उपत्यका, सेन्तुङ, श्यालपाखे र निशेलढोर, मस लगायतको स्थानमा परम्पराकाल देखिनै फ्याट्ट फुट्ट स्याउ खेती हुने गरे पनि त्यसले व्यवसायिकता पाउन थिएन।

आर्थिक वर्ष २०७५÷७६ र २०७६÷०७७ सालमा ढोरपाटन नगरपालिका–९ र निसीखोला गाउँपालिका–५ लाई मसेटिएर ढोरपाट स्याउ ब्लक कार्यक्रम समेत चलाएर यहाँका किसानहरुलाई स्याउ खेती प्रति जागरुक बनाइएको थियो। ढोरपाटन क्षेत्रमा उक्त इटालियन प्रजातिका एक हजार ११५ विरुवा यहाँका किसानहरुलाई वितरण गरिसकेको र एक वर्षमै उत्पादन दिन शुरु गरेपछि किसान खुसी भएका छन्।

ढोरपाटन नगरपालिका–९ ढोरपाटन उपत्यकाका किसान राम बहादुर घर्तीले समेत १८१ वटा विरुवामा केही विरुवामा एक वर्षमै स्याउ फल्न थालेको बताए। यस्तै ढोरपाटनको जीवन पुनले उक्त प्रजातिको ११६ विरुवा लगाए। उनले परिक्षणका लागि लगाइएका १६ बुटाको हुर्काइ राम्रो देखेपछि थप एक सय विरुवा लगाए।

ढोरपाटन स्याउ ब्लकका अध्यक्ष जुमबहादुर बढा मगरले यो वर्ष ढोरपाटनका स्याउ लगाउन इच्छुक किसानहरुलाई कृषि ज्ञान केन्द्रमार्फत चार हजार ५०० विरुवा माग गरेका छन्। यो वर्ष ढोपाटनका किसानहरुले अनुदानमा पाइने विरुवालाई उच्च प्राथमिकतामा राखेर माग गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए।

“छिटो फल्ने, थोरै जग्गामा धेरै विरुवा लगाउन सकिने र अधुनिक प्रजातिका स्वादिलो स्याउ फलाउन सकिन्छ” भट्टराईले भने “ढोरपाटन, निशेलढोर, तमानको उच्च भाग र जैमिनीको उच्च भागबाट समेत उक्त स्याउको विरुवाको माग भएको छ, स्याउ किसानहरुको उत्साहलाई ज्ञान केन्द्रले मनन् गरेको छ, बागलुङको हावापानीमा इटालिबाट ल्याएको विरुवा राम्रो संग हुर्किएर फल दिएको छ।” उक्त विरुवा खरिद गर्दै डेढ देखि दुई मिटरसम्म अग्लो हुन्छ।

ढोरपाटन क्षेत्रको हावापानीमा इटालियन प्रजाति अन्तर्गतका चार प्रकारका आधुनिक स्याउको परिक्षण सफल भइसकेकाले व्यावसायिक उत्पादन बढाउनका लागि किसानलाई पहिलो वर्ष ५० र अहिले ७५ प्रतिशत अनुदानमा विरुवा दिन थालिएको बताए।

इटालियन प्रजातिको एउटै विरुवाको बजार मूल्य एक हजार २०० रहेको छ भने अहिले ७५ प्रतिशत अनुदानमा विरुवा वितरण गर्दासमेत किसानको लागत प्रतिविरुवा रु. ३०० पर्ने गरेको छ।

परम्परागत रुपमा लगाइएको स्याउको बोटले तीन वर्षदेखि चार वर्ष सम्ममा मात्रै उत्पादन दिन थाल्ने गरेकोमा इटालीबाट ल्याइएको आधुनिक प्रजातिको स्याउले एक वर्षमै उत्पालन दिन थालेपछि यहाँका स्याउ किसानहरु हर्षित भएका छन्।

उक्त विरुवाको मनाङ र मुस्ताङमा सेमत उच्च माग रहेको छ। थोरै स्थानमा धेरै स्याउ छोटो समयमै फलाउनका लागि इटालियन स्याउको विरुवा उपयुक्त छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.