|

काठमाडाैं : शुक्रबार प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’ को बुकिङ आक्रामक देखिएको छ। नेपाली र हिन्दी भाषामा प्रदर्शन हुन लागेको फिल्मको बुकिङ नेपालमा मात्र नभएर भारतमा पनि उत्साहजनक देखिएको हो। 

सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा बनेको फिल्म ५० देशका १२ सयभन्दा बढी पर्दामा एकसाथ प्रदर्शन हुँदैछ। आइतबार खुला भएको बुकिङ बुधबार दिउँसोबाट तीव्र गतिमा बढेको हो।

भारतमा मात्रै ५ सयदेखि १ हजार पर्दामा रिलिज हुने तयारीमा रहेको फिल्मको ९५ प्रतिशत टिकट बुक भइसकेको छ। 

भारतका दर्शकले दिएको साथले उत्साहित रहेको फिल्मका निर्मातासमेत रहेका सेनले जनाएका छन्। वर्षौंदेखि देखेको सपना र त्यसका लागि गरेको संघर्षले अहिलेको नतिजा दिइरहँदा आफू एकैपटक उत्साहित र भावुक भएको उनले बताएका छन्। 

सेप्टेम्बर २३ लाई भारतमा राष्ट्रिय चलचित्र दिवसको रुपमा मनाउने गरिन्छ। उक्त दिन सबै सिनेमाघरमा जुनसुकै फिल्मको टिकट ७५ रुपैयाँ मात्र रहने गर्छ।  जसकारण शुक्रबार दर्शकको उपस्थिति ठूलो संख्यामा भए पनि बक्स अफिसमा भने त्यो अनुरुपको कलेक्सन नहुने देखिएको छ।

तर शुक्रबारको दर्शक उपस्थितिले शनिबार र आइतबारको व्यापारमा भने ठूलो फरक पार्नेछ। 

नेपालमा पनि बिहीबार दिउँसोदेखि तीव्र गतिमा टिकट बुकिङ भइरहेको छ। केही हलमा दर्शकको संख्या बढेपछि शो संख्या पनि बढाइएको छ।

कमलपोखरीस्थित बिग मुभिजमा बिहीबार बिहानसम्म ७ वटा शो रहेकोमा दर्शकको उपस्थिति बढ्ने देखिएपछि ७ शो थप गरिएको छ। थपिएका शोमा पनि दर्शकको संख्या बढ्दै छ। 

देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स अन्तर्गतको वान स्टप बिर्तामोडमा रहेका सबै ४ शोमा दर्शकको चाप बढेपछि ४ वटा शो थप गरिएको छ।

उपत्यकाको सिभिल मल, लबिम मल, छाया सेन्टर लगायतका हलले पनि दर्शकको चाप बढेपछि शो थपेका छन्। यीबाहेक नारायणगढ, बुटवल, नेपालगञ्ज लगायतका शहरमा पनि शुक्रबारका सबैजसो शो हाउस रहने देखिएको छ। सँगै शनिबारका शोका लागि पनि बुकिङ तीव्र गतिमा भइरहेको छ। 

फिल्मको हिन्दी डबको भने बुकिङ खुलिसकेको छैन। प्राविधिक कारण देखाउँदै हलहरूले शुक्रबार मात्रै फिल्मको बुकिङ खुल्ने बताएका छन्। 

फिल्मको हिन्दी डबलाई लिएर चलिरहेको विवाद पनि बिहीबारबाट टुङ्गिएको छ। मन्त्रालयले हिन्दी डबलाई पनि नेपाली फिल्मको मान्यता दिई १५ प्रतिशत कर नलाग्ने निर्णय गरेपछि विवाद टुङ्गिएको हो।

तर हिन्दी डब फिल्म भने साेमबार मात्रै प्रदर्शनमा आउने भएकाे छ। सेनले फेसबुकमार्फत फिल्मकाे हिन्दी डब साेमबारदेखि मात्र आउने जानकारी दिँदै यसकाे कारण भने पछि बताउने जनाएका छन्।

राति हल खोल्नुपर्ने मागमा फिल्मकर्मीको समर्थन

निर्माण टोलीले उठाएको राति ११ बजेपछि पनि निर्वाध रुपमा हल खोल्नुपर्ने मागमा अन्य फिल्मकर्मीले पनि सहमति जनाएका छन्।

अशोक शर्माले बिहीबार भुवन केसीलाई ट्याग गर्दै एउटा स्टाटस लेखेर यो निर्णयको बारेमा अघिल्ला बोर्ड अध्यक्ष दयाराम दाहालसँग छलफल भइसकेको बताएका छन्।

शर्माले लेखेका छन्, ‘चलचित्र विकास बोर्डले राति ११ बजेसम्म हलहरूमा सम्पूर्ण शो सकीसक्नुपर्ने नियम बनाएको छ भन्ने सुनेँ‚ यदि यो सत्य हो भने सरासर गलत निर्णय हो। दयाराम दाहाल अध्यक्ष भएको बेला चलचित्रका सबै संघसंस्थासहित बसेको बैठकले आवश्यक भए २४ सै घन्टा सिनेमा हल खोल्ने सहमति भएको छ। पटक पटक सहमति तोड्ने नियम बदल्ने राम्रो चलन होइन। क्लब, रेस्टुरेन्टहरू २४ घन्टा खोल्न मिल्ने‚ सिनेमा हल किन नमिल्ने?’

प्रदर्शनको मुखमा आएर निर्माता संघ र विकास बोर्डसँग जुध्न पुगेको ‘प्रेम गीत ३’ लाई प्रदर्शनको एकदिन अगाडि मन्त्रालयले नै नेपाली फिल्मको मान्यता दिनु र दर्शकको उत्साहजनक उपस्थिति हुनुले राम्रो शुरुवात दिएको छ।

पहिलो पटक यति ठूलो अन्तरराष्ट्रिय बजारमा प्रवेश गरेको फिल्मले दर्शकबाट कस्तो प्रतिक्रिया पाउँछ र त्यसको प्रभाव नेपाली फिल्म र उद्योगमा कस्तो पर्छ भन्ने हेर्न भने बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.