|

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समुन्नत समाजको निर्माणमा जुट्न सबै गैरसरकारी संस्थाहरूसँग आह्वान गरेकी छन्।

बिहीवार काठमाडौंमा समाज कल्याण परिषद्ले ४३ औँ सामाजिक सेवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गरिब, विपन्न, समुदायको सामाजिक र आर्थिक रुपान्तरण गर्दै समुन्नत समाजको निर्माण गर्न सबै गैरसरकारी संस्था जुट्नुपर्ने बेला आएको बताइन्।

मन्त्री रेग्मीले परिषद्‌मा आवद्ध ५४ हजार गैरसरकारी संस्था तथा २ सय हाराहारीमा रहेका अन्तरराष्ट्रिय गैरसरकारी संस्थाका काम कारबाहीलाई परिषद्ले अत्यन्त सूक्ष्म रुपमा अध्ययन गरिरहेको बताइन्। उनले गैर सरकारी संस्थाका कामकारबाहीलाई पारदर्शी, वैज्ञानिक किसिमले अघि बढाउन परिषद् लागिपरेको बताइन्।

उनले सामाजिक संघ, संस्थाले प्राप्त गरेको सहयोग, दूरदराजका ग्रामीण तथा विपन्न व्यक्ति, समुदायलक्षित कार्यक्रमहरु तर्जुमा र कार्यान्वयनमा जोड दिनुपर्ने आजको आवश्यकता रहेको स्पष्ट गरिन्।

मन्त्री रेगमीले परिषद्‌बाट राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा एकद्वार नीति अनुरुप परियोजना सञ्चालन गर्नेगरी संघसंस्थालाई प्रोत्साहन गर्ने कार्यको शुरुवात गरिएको पनि जानकारी दिइन्।

परिषद्‌की अध्यक्षसमेत रहेकी मन्त्री रेग्मीले सामाजिक संघ, संस्थाको कामलाई पारदर्शी र परिणाममुखी बनाउन समाज कल्याण परिषद् कटिबद्ध रहेको बताइन्।

मन्त्री रेग्मीले अहिले अस्तव्यस्त रहेको भृकुटीमण्डपलाई आफू नेतृत्वको टिमले पारदर्शी बनाउनको निमित्त टेण्डर प्रक्रियाबाट कामहरु सञ्चालन गरिरहेको जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.