|

बागलुङ : हिउँदमा बेँसी झर्ने र बर्खामा लेक चढ्ने त भल्कोटवासीको परम्परा नै हो। जेठ अन्तिम सातादेखि असारसम्म निसीखोला गाउँपालिका वडा नम्बर ६ भल्कोटका बासिन्दा आफ्ना गोठ लेकमा सार्ने गर्छन्। यसपछिका करिब ४ महिना बेँसी सुनसानजस्तै हुन्छ। बर्खा रोकिएर चाडपर्व शुरु भएपछि मात्र उनीहरू बेँसी झर्न थाल्छन्।

४ महिनादेखि सुनसान भर्कोबाङमा यति वेला निकै रमझम छाएको छ। वडा नम्बर ६ मा पर्ने भर्कोबाङमा सयौँ वस्तुभाउ र मानिसको चहलपहल छ।

मध्यपहाडी लोकमार्गभन्दा केही माथि रहेको पहाडको थुम्को (भर्कोबाङ) मा स्थानीयले आफ्ना पशुचौपाया लेकबाट झारेका छन्। असोज ५ भन्दा अगाडि कसैले पनि बेँसीमा पशुचौपाया झार्न नपाउने नियमै छ।

मकै भित्र्याईसकेपछि अहिले यो ठाउँ खुला र हरियाली छ। अब केही दिन स्थानीयका सयौँ पशुचौपाया यहीँका गोठमा हुनेछन्।

लेकबाट झरेका सयौँ पशुचौपायाले भर्कोबाङका पाखा भरिएका छन्। ती पाखामा असंख्यमा गाईगोरु, बाच्छाबाच्छी, भैँसी र भेडाबाख्रा चरनमा निकै रमाइरहेका देखिन्छन्।

गोठालाहरूले पाखाको छेउछाउतिर गोठ बनाएका छन्। उनीहरू अब केही दिन यही गोठमा दिनरात बिताउने छन्। असोज ५ गतेलाई भल्कोटवासी विशेष दिनका रुपमा पनि लिन्छन्। महिनौंदेखि परिवारसँग छुटेकाहरू पनि भेट हुन्छन्। ५ गते नै अधिकांश गोठाला बेँसी झर्ने गर्छन् भने केही विस्तारै दसैंसम्म आउँछन्।

स्थानीयले लेक जाँदा महिनौं पुग्ने खर्चबर्च बोकेर जाने हुँदा बेँसी झरेपछि मात्रै परिवारसँग भेट हुने गर्छ। लेकबाट सयौँ पशुचौपाया बेँसी झरेपछि दशैँ आएको सन्देश दिएको मानिन्छ।

यहाँ एउटै परिवारले दर्जनौँ पशुचौपाया पाल्ने गर्छन्। वस्तुभाउलाई घाँस खुवाउनकै लागि उनीहरू लेकमा गोठ लैजाने गर्छन्। करिब ४/५ महिना लेकमा बिताउँदा उनीहरूले चोयाका विभिन्न सामग्री बुन्ने, घ्यू उत्पादन गर्ने र बेच्ने गर्छन्।

स्थानीयले गोठ लेक लैजान वैशाखदेखि नै पाउने भए पनि बेँसी झर्न भने असोज ५ नै कुर्नुपर्ने नियम बनाएका छन्।

‘असोज ५ मा बेँसी झर्ने नियम हाम्रा पाका पुर्खाले बनाएका हुन्, हामीले त्यसलाई निरन्तर मान्दै आएका छौँ। ५ गतेभन्दा अगाडि झर्नेलाई कारबाही हुन्छ, जरिवाना गरिन्छ। किनकी यहाँका एकै परिवारले धेरै वस्तुभाउ पाल्छन्, पहिला बेँसी झार्नेले यहाँ भएका घाँस एक्लै खुवाउँछ।  त्यसले गर्दा सबै एकैपटक असोज ५ गते बेँसी झर्नुपर्ने नियम छ, कोही ५ गतेभन्दा पछाडि पनि झर्छन्‚’ स्थानीय धनिश्वर बुढा मगरले भने।

बुढा मगरले धेरैजसो गोठाला असोज ५ मै बेँसी झर्ने र भेडी गोठाला मात्र अलिक पछि बेँसी झर्ने बताए। उनले महिनौँलाई पुग्ने खर्चबर्च बोकेर लेक जाने र समय-समयमा गाउँ झर्ने, आफन्त भेट्ने र आवश्यक सरसामान लिएर फर्किने गरेको बताए।

‘लेकबेँसी गर्ने त हाम्रो परम्परा नै भयो, गाउँलेले धेरै पशुचौपाया पाल्छन्, बाह्रै महिना एकै ठाउँमा राखेर पाल्न सकिन्न। त्यही भएर बर्खामा लेक जान्छौँ, हिउँदमा बेँसी झर्छौँ,’ उनले भने‚ ‘थोरै चौपाया हुन्थे भने बेँसीमै पनि पाल्न सकिन्थ्यो, धेरै हुँदा समस्या हो, बाउ बाजेले पाल्दै आएको हाम्ले छोड्न पनि भएन। लेक बेँसी गर्नु हाम्रो लागि रहर भनौँ कि बाध्यता, गर्न परिहाल्यो।’

गाउँका करिब २ सय गोठाला रोल्पा, रुकुम र बागलुङको सिमाना तथा उच्च पहाडी भेगमा जाने गर्छन्। उनीहरूका गोठ रिग, खोलाखर्क, तिलचन लगायतका ठाउँमा हुन्छन्। गाईभैँसी गोठाला केही तल्लो भागमा गोठ बनाएर बस्ने गर्छन् भने भेडाबाख्रा गोठाला ४२ सय मिटरको उचाईसम्म पुग्ने गर्छन्।

चरन क्षेत्रका रुपमा निकै प्रख्यात मानिने रिग, खोलाखर्क क्षेत्र वस्तुभाउ बेँसी झर्न थालेसँगै सुनसान बन्न थालेको छ।

असोज ५ देखि दशैँसम्म मध्यपहाडी लोकमार्गको भल्कोट–पातीहाल्ने खण्डमा सयौँ गाईगोरु, भेडाबाख्रा र भैँसीका हुल देखिन्छन्। अघिअघि पशुचौपाया पछिपछि गोठालाहरू ठूलो भारीसहित ओरालो झरिरहेका हुन्छन्।

उनीहरूले गाईवस्तु बाँध्ने किलो, दाम्लो, लत्ताकपडा, ठेकी लगायतका सामानहरू बोकेका हुन्छन्। महिनौँ लेकमा बसेर गाउँमा झर्दै गरेका उनीहरूको अनुहारमा निकै चमक छाएको हुन्छ।

लामो समय परिवारसँग भेट्न नपाएका उनीहरू ५ गते सबैसँग भेटघाट गर्छन्। घर केही टाढा हुनेहरू भर्कोबाङमा नै भेट्न पुग्छन् भने केही लेकमै पशुचौपाया झार्न सघाउन जान्छन्।

‘असोज ५ त हाम्रा लागि निकै खुशी हुने दिन हो। यतिका समय लेकमा बस्यौँ, आज परिवारसँग भेट भइन्छ, तितोमिठो के छ सँगै बसेर खान पाइन्छ। दुःखसुखका कुरा हुन्छ, यो त हाम्रो परम्परा हो नि। पुर्खाले नै बनाएको नियम हो, हामीले मिच्नु हुन्न, त्यही भएर हामी तोकेकै समयमा बेँसी झर्‍यौँ‚’ स्थानीय देवबहादुर घर्तीले भने।

उनले अबका १२ दिन भर्कोबाङमै आफ्ना पशुचौपाया चराउने र त्यसपछि भल्कोट घरमा झार्ने बताए। उनले यहाँ अझै केही दिन वस्तुभाउका लागि घाँस रहेको हुँदा आफू पनि गोठ बनाएर यहीँ बस्ने बताए।

‘अबको १२ दिनपछि मात्रै तल घरमा झर्नु पर्ला, अहिले घाँस पनि राम्रो रैछ, यहाँ। भेडागोठालाले अझै भेडा ल्याएका छैनन्, उनीहरू आए भने तल झर्नु पर्ला, म पनि गोठ बनाएर यहीँ बस्छु‚’ घर्तीले भने‚ ‘यहीँ बसेर यिनीहरूको रेखदेख गर्नु पर्‍यो, अब केही दिनपछि तलै घरछेउका बारीमा लगेर चराउनु पर्ला। बारीमा लगेपछि केही समय त्यहीँ चराउने त्यसपछि बाँधेर डाला काटेर हाल्नुपर्छ, अब अर्को बर्खामा मात्रै हो लेक लाने।’

घर्तीले अबको ३ महिनासम्म बारीकै घाँसले पुग्ने भन्दै त्यसपछि वन जंगलमा जानुपर्ने बताए। हिउँदमा लेकमा हिउँ पर्ने हुँदा बेँसीमै पशुचौपायालाई घाँस काटेर खुवाउनुपर्ने उनको भनाई छ।

बेँसीमा सयौँको संख्यामा रहेका चौपाया व्यवस्थापन गर्न निकै गाह्रो हुने घर्तीको भनाई छ। गाउँमा घाँस निकै कम हुने र सबैका पशु गाउँमै हुने हुँदा घाँसको व्यवस्थापनमा निकै समस्या पर्ने उनी बताउँछन्।

‘बेँसीमा पशु पाल्न निकै गाह्रो छ, गाउँभरिका गोठालाका वस्तुभाउ गाउँमै हुन्छन्, सबैले घाँस काटेर खुवाउँछन्। यहाँ घाँसको निकै दुःख हुन्छ, सजिलो त लेकमै हुन्छ। एउटाका कम्तिमा पनि २५ वटा गाईभैँसी हुन्छन्, अझ भेडाबाख्रा पाल्नेका त सयौँ हुन्छन्, तिनीहरूलाई घाँस कसरी पुर्‍याउने?‚’ घर्तीले भने‚ ‘अबको ३ महिनामा त यतै जसोतसो घाँसको व्यवस्था हुन्छ। हिउँ पर्ने बेला भयो भने हिउँमै डालेघाँस काट्न लेकमै पुग्नु पर्छ, चौपाया लेकमा लगे चिसोले मर्छन्।’

यस वर्ष भेडापालक तमबहादुर विकले असोज ५ मै भेडा बेँसी झारेका छन्। उनले अघिल्ला वर्षमा दशैँको दुई दिनअगाडि झर्ने गर्थे। विकले यस वर्ष केही भेडा बजारमा लैजाने हिसाबले बेँसी छिटो झारेको बताए।

बर्खामा बेँसीमा भेडा पाल्नै नसकिने हुँदा लेक लैजानु परेको उनको अनुभव छ। स्थानीयका सयौँ पशुचौपाया हुने भएकाले गाउँमा घाँस पुर्‍याउन सकिने अवस्था आएपछि आफूहरू लेक बेँसी गर्नुपर्ने अवस्था भएको उनको भनाई छ।

‘यस वर्ष भेडा पनि बढे, केहीलाई दशैँको बेला बजारमा लगेर बेच्छु भनेर छिटो झारेको छु, २५ वटा भेडा यसपालि बेच्ने योजना छ, धेरै पाल्न पनि सकिन्न‚’ उनले भने‚ ‘बर्खामा त गाउँमा पशु राख्न सक्ने सम्भावनै हुँदैन, वनमा चरण पर्याप्त हुन्छ, यहाँ त हजारौँ गाईभैँसी र भेडाबाख्रा हुन्छन्। त्यति धेरैलाई कहाँबाट घाँस पुर्‍याउन सकिन्छ?, यति धेरैलाई गाउँमा राख्ने अवस्था नै हुँदैन, जिजुबाजेले पनि उहिलेदेखि नै लेक बेँसी गर्ने परम्परा बसाल्नु भएछ, हामी पनि अब त्यही नै गर्छौं, अबका पुस्ताले गर्लान् जस्तो लाग्दैन।’

उनले खर्बामा गाउँका सबै वस्तुभाउ लेक उक्लने हुँदा बेँसीमा घाँस पलाउने र फर्किएपछि केही महिना गाउँमै पाल्न सकिने बताए। विकले पशुचौपाया लेकबाट बेँसी झारेपछि लेकमा पनि अर्को पटक जाँदा प्रशस्त घाँस पाइने बताउँछन्।

‘पुर्खाले जुन थिति बसाले त्यो हामीहरू मान्दै आएका छौँ, उहाँहरूले त्यति बेला असोज ५ मा नभएर जहिले आए पनि हुने जहिले गए पनि हुने खालको नियम बनाइदिएको भए यति धेरै पशु पाल्न गाह्रो हुन्थ्यो। अब त हामी बेँसी झर्‍यौँ‚ लेकमा पनि घाँस पलाउँछ। बर्खाभरि मल पनि भयो, यहाँ पनि बर्खाभरि पशु थिएनन्, घाँस पलाएको छ।’

विकले अब वैशाखसम्म जसोतसो बेँसीमै भेडा पाल्नुपर्ने बाध्यता रहेको बताए। उनले भेडालाई अबको २ महिनासम्म गाउँमा प्रशस्त घाँस पाइने भए पनि पुसदेखि लेकमा पुगेर कटुस, खर्सुङ लगायतका डाले घाँस काटेर खुवाउने बताए।

निसीखोलामा अधिकांश स्थानीयले पशुपालन गर्ने गर्छन्। खासगरी निसीखोला गाउँपालिका–५ र ६ का स्थानीय पशुपालनमा बढी केन्द्रित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.