|

सल्यान : केही वर्षअघिसम्म आर्थिक अवस्था कमजोर भएका अभिभावकले पनि ऋण काढेर छोराछोरीलाई निजी विद्यालयमा पढाउँथे।

​कमजोर व्यवस्थापन, गुणस्तरीय शिक्षाको अभाव, परीक्षामा खराब नतिजाका कारण अभिभावक र विद्यार्थीको सामुदायिक विद्यालयप्रति आकर्षण कम थियो। आफैँ पढाउने सामुदायिक विद्यालयले दिने शिक्षाप्रति विश्वास नभएर शिक्षक पनि निजी विद्यालयमा छोराछोरी पढाउँथे।

​केही वर्षयता सल्यानका केही सामुदायिक विद्यालयले गरेको गुणात्मक सुधारले पुरानो परिदृश्य बदलिएको छ। सामुदायिक विद्यालयले शिक्षामा गरेको सुधारका कारण विद्यार्थी र अभिभावक दुवैको आकर्षण बढेको हो।

पछिल्ला केही वर्षयता गुणस्तर र सिकाइमा सुधार गर्न विद्यार्थीबीच प्रतिस्पर्धा सुरु भएको छ। विद्यार्थी आकर्षित गर्न र शिक्षकलाई कक्षाकोठाभित्र टिकाउन अनेक प्रयत्न थालिएका छन्। नयाँ नयाँ योजना अघि सारिएका छन्।

अभिभावकलाई तीन रङको चिठी

विद्यालयमा विद्यार्थीको उपस्थिति दर नियमित बनाउन जनज्योति माध्यमिक विद्यालय दार्मा गाउँपालिका ३ फारुलचौरले अभिभावकलाई तीन रङका चिठ्ठी पठाउने गरेको छ।

विद्यालयमा नियमित हुने विद्यार्थीको घरमा हरियो, आंशिक उपस्थित हुनेको घरमा पहेँलो र नियमित उपस्थित नहुने विद्यार्थीको घरमा ध्यानाकर्षणसहितको रातो गरी तीन रङको चिठी पठाउने गरेको प्राधानाध्यापक मीनराज वलीले बताए।

तीनै रङको चिठी पठाउन थालेदेखि विद्यालयमा कम उपस्थित हुने विद्यार्थी नियमित हुन थालेको उनको भनाई छ। उनले भने, ‘अभिभावकलाई चिठी पठाउन थालेदेखि अभिभावकले विद्यालय र आफ्ना छोराछोरीको बारेमा चासो राख्ने, शिक्षक विद्यार्थी बाटोमा देखिएमा कता जान लागेको भनेर सोध्ने बानीको विकास भएको छ।’

गत आर्थिक वर्ष १ हजार ९६ विद्यार्थी रहेकोमा यस चालु आर्थिक वर्षमा १ हजार २ सय ८६ विद्यार्थी रहेको विद्यालयको भनाइ छ। विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले आलोपालो गरी विद्यालयमा उपस्थित हुने, विद्यार्थीलाई सोध्ने तथा कुनै पनि तरिकाले विद्यालयमा दैनिक गतिविधिको बारेमा जानकारी लिने, प्राप्त जानकारीको विषयमा बैठकमा छलफल गर्ने गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष टिका शर्मा वलीले बताए।

उनले भने, ‘विद्यालय सुधारका लागि सबैभन्दा ठूलो कुरा इच्छाशक्ति रहेछ। प्रअ सक्रिय भए विद्यालय उकास्न गाह्रो नहुने मेरो अनुभव छ।’

विद्यार्थी नियमित गर्न सबैभन्दा ठूलो कुरा बालमैत्री हुनुपर्छ। विद्यार्थीको लागि कक्षाकोठा, फर्निचर, पिउने पानीको व्यवस्था, खेलका सामाग्रीहरु, समय समयमा विद्यार्थीका रुची अनुसारका क्रियाकलाप गर्ने व्यवस्था, विद्यार्थीको स्वास्थ्यप्रतिको ख्याल, विद्यार्थीप्रति सम्मानित व्यवहार जस्ता कुराले पनि विद्यार्थी नियमित गराउन सहयोग पुर्‍याउने उनको भनाई छ।

प्रत्येक महिनाको मसान्तमा फिल्ड

विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी व्यवहारिक र जीवनमुखी शिक्षा प्रदान गर्न प्रत्येक महिनाको मसान्तमा विद्यार्थीलाई परियोजना लेख्न फिल्ड पठाउने गरिन्छ। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका कार्यालय, कृषि फर्म, स्वास्थ्य संस्थामा पठाउने गरिएको प्रधानाध्यापक वलीको भनाई छ।

उनले भने, ‘विद्यार्थीलाई कक्षा कोठा र पाठ्यपुस्तकमा मात्र सीमित गरेर शैक्षिक गुणस्तर वृद्धि नहुने भएकाले व्यवहारिक र जीवनोपयोगी ज्ञानका लागि मसान्तका दिन विद्यालयमा नभई फिल्डमा पठाउने गर्छौं।’

फिल्डमा आफूहरुले गरेको कामको प्रतिवदेन तयार पारी कक्षा कोठामा प्रस्तुत गर्ने गरेको विद्यालयको भनाई छ। रचनात्मक क्रियाकलाप गराउँदा विद्यार्थीहरुमा पढ्ने बानीको विकास हुने वलीको भनाई छ।

सहकारीमा गएको विद्यार्थीले सहकारी सञ्चालनका बारे बुझेर आउँछ, स्वास्थ्य संस्था गएको विद्यार्थीले उपचार सम्बन्धी कुरा सिकेर आउँछ, कृषि फर्ममा गएको विद्यार्थी खेतीपाती सम्बन्धी सीप सिकेर आउने गर्छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.