|

काठमाडौं : विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।  

गोरखाको अजिरकोट गाँउपालिका–२ वालाङमा गएराति ट्याक्टर अनियन्त्रित भई भिरमा खस्दा चालक सिरान्चोक –४ छोप्राकका २७ वर्षीय विक्रम श्रेष्ठको मृत्यु भएको छ। 

गएराति साढे ११ बजे ग १ त ४५७४ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरी चौकी भच्छेक गोरखाले जनाएको छ। 
त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–१६ उल्टापानीमा पनि गएराति ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय हरीप्रसाद चौधरी रहेका छन् । धनगढीबाट घोराहीतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर गएराती साढे ९ बजे अनियन्त्रित भइ नालामा पल्टिएको थियो।

यस्तै चितवनको भरतपुर महानगरपालीका–९ टिकौली जंगलमा ट्याङकर र स्कुटर आपसमा ठोकिदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक भरतपुर महानगरपालिका–९ का ६२ वर्षीय प्राण जबरा रहेका छन्। 
वीरगञ्जबाट काठमाण्डौतर्फ आउँदै गरेको ना ७ ख ३७ २३ नम्बरको नम्बरको ट्याङकर र भरतपुरबाट टाडीतर्फ जाँदै गरेको बा ८३ प ५५३ नम्बरको स्कुटर गएराति आपसमा ठोकिएका हुन्। 

यसैबीच दार्चुलाको अपिहिमाल गाउँपालिका –५ गोगनपानीमा हिजो बेलुका जिप दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका ६ का १८ वर्षीय दिनेश धामीको मृत्यु भएको छ। २ जना घाइते भएका छन्। घाइते भएका जिप धनी र चालकलाई उपचारका लागि लाटीनाथ स्वास्थ्य चौकी लगिएको छ।

यता, मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा हिजो भएको बस दुर्घटनामा मृत्यु भएका मध्ये ६ जनाको पहिचान खुलेको छ। एक जनाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए। 

मृत्यु हुनेमा नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपाने, बाराको झिट्कैयाका ३३ वर्षीर्य अब्दुल्लाहा मियाँ ठकुराई, बारा जितपुरका २५ वर्षीय शेख अरमान, मकवानपुर गढी–२ का ४३ वर्षीय मदन विक, पर्साको वीरगञ्ज–३१ का ४४ वर्षीय हृदय नारायण पंजियार र भारत मोतिहारीका ३५ वर्षीय सरदनारायण शर्मा रहेका छन्। 
दुर्घटनामा २६ जना घाइते भएका थिए। प्रहरी निरीक्षक घिमिरेका अनुसार घाइते मध्ये २३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई थप उपचारका लागि भरतपुर पठाइएको छ।

काठमाडौँबाट हेटौंडाका  लागि छुटेको बा ३ ख ७८५८ नम्बर यात्रुबाहक बस भीमफेदी–कुलेखानी सडकखण्डको जुरिखेतस्थित ११ घुम्तीको ओरालोमा हिजो दिउँसो दुर्घटना भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.