|

पर्वत : पर्यटकीय क्षेत्र तथा नेपाली चलचित्रको छायाङ्कनको लागि समेत रोजाइमा पर्दै गएको कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक स्थित ओप्लेंमा बौद्धमार्गीहरुका लागि चार करोडको लागतमा विद्यालय निर्माण हुने भएको छ।

आगामी दुई वर्षमा सक्ने गरी विद्यालय (पाल डाकार छ्योईदुब लीङ) निर्माण हुने पाल ङाग्युर सङासङाग् छोइलिङ गुम्बा सराङकोटका धर्मगुरु गुप्ती गुरुङले बताए। उनका अनुसार १० रोपनीको क्षेत्रफलमा विद्यालय निर्माण हुने छ।

विद्यालयसँगै सङ्ग्रहालय, चमेना गृह, छात्रावास, किचन तथा डाइनिङ हल, (छम) गुफा बस्ने कुटी, मेडिटेसन र पूजा गर्ने हल र स्तुपासमेत निर्माण गर्ने तयारी छ।

गुप्ती गुरुङको अगुवाइमा निर्माण हुने विद्यालयका लागि अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंका स्व.चन्द्रसिङ गुरुङ, लटे गुरुङको स्मृतिमा कुलबहादुर गुरुङ, रूपकुमारी गुरुङ, खुशीमान गुरुङ, चन्द्र गुरुङ र हङकङ निवासी विश्वसम गुरुङको परिवारले १० रोपनी जग्गा निःशुल्क रूपमा दान गरेका समाजसेवी अमृत लामा गुरुङले बताए।

‘सामाजिक मात्रै नभई धार्मिक काममा आफ्नो जग्गा दान गर्नु सामान्य विषय होइन,’ उनले भने, ‘उहाँहरूले पाल डाकार छ्योईदुब लीङ विद्यालयका लागि १० रोपनी जग्गा दान दिनुभएको छ। यो एउटा उदाहरणीय कार्य हो।’

विद्यालय निर्माणको जिम्मा लिएका धर्मगुरु गुरुङले मानव जातिबीचको एकताले नै मानवता कायम हुने बताउँदै मानिस मरेर जाँदा भएको सम्पत्तिसँगै नलैजाने भएकोले विद्यालयमा सहयोग गर्न सबैमा अनुरोध गरे।

उनले घान्द्रुक पर्यटकको केन्द्रबिन्दु भएको बताउँदै विद्यालयले पर्यटन क्षेत्रमा थप महत्त्वपूर्ण योगदान खेल्नेसमेत उल्लेख गरे।

बौद्ध विद्यालयको शिलान्यासमा पुगेका पूर्व राज्यमन्त्री प्रकाशबहादुर गुरुङले पर्यटन क्षेत्रको विकाससँगै शैक्षिक क्षेत्रमा समेत सहयोग पुग्ने बताएका छन्। ‘घान्द्रुक पर्यटन क्षेत्रको केन्द्रबिन्दु भए पनि विद्यार्थीहरूले बौद्ध शिक्षा गाउँमा नै अध्ययन गर्ने वातावरण बनेको छैन,’ उनले भने, ‘त्यस कारण बौद्ध शिक्षाको लागि सहर झर्ने क्रमलाई पाल डाकार छयोईदुब लीङ विद्यालयले रोक्ने छ।’ पूर्व राज्यमन्त्री गुरुङले पछिल्लो समय विश्वमा अहिंसा बढ्दै गएको बताउँदै यसले बौद्ध धर्मको महत्त्व बढाएको दाबी गरे।

विद्यालय निर्माणका लागि तमु प्हे ल्हु सङ्घका पूर्व अध्यक्ष क्याप्टेन रुपबहादुर गुरुङले ५० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.