|

कपिलवस्तु : कपिलवस्तुमा शिवराज नगरपालिका ३ मा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ। शनिवार बिहान पश्चिमबाट पूर्व जाँदै गरेको ना ८ ख ३८२९ नम्बरको ट्रकको ठक्करबाट गुल्मी घर भएका ३४ वर्षीय बम बहादुर थापाको मृत्यु भएको हो।

छोरीसहित ससुराली घर आएका थापालाई  बिहान बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो। थापाको उपचार लागि चन्द्रौटा लैजाँदै गर्दा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहीले बताए।

दुर्घटनामा उनकी ३ वर्षीय छोरी अनु थापाको खुट्टा र टाउकोमा चोट लागेको छ। घाइते छोरी थापाको बुटवलमा उपचार भइरहेको प्रहरी निरीक्षक शाहीले बताए। ट्रक र चालक प्रहरी नियन्त्रण रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै आज बिहान नै भएको अर्को दुर्घटनामा शिवराज नगरपालिका १ मा पिकअप बोलेरो र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको बा. प्र. ०१/०२५ च ९२४४ नम्बरको बोलेरो र विपरीत दिशाबाट आइरहेको लु. ५७ प ५८०३ नम्बरको मोटरसाइकल ठोक्किएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

दुर्घटनामा बाइक चालक अन्दाजी ४५ बर्षका चन्द्रमणी ज्ञवालीको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.