|

बैतडी : बैतडीको तल्लोसोराड क्षेत्रको एक मात्र रेफरल सेन्टरको रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा डाक्टर अभाव भएपछि खोजीको पहल थालिएको छ। मेलौली नगरपालिकाले डाक्टरको रिक्त दरबन्दी परिपूर्ती गर्न पहल थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए।

उनले भने, 'डाक्टर अभाव भएपछि हामीले सूचना प्रकाशन गरेर आवेदन दिन आह्वान गरेका छौँ, चाँडै पदपूर्ति हुन्छ।' तल्लो स्वराड क्षेत्रका तीन स्थानीय तहका नागरिकहरूलाई सेवा दिँदै आएको प्राथमिक स्वास्थ्य केन्द्र करिब एक वर्षदेखि डाक्टरविहीन बनेको हो।

एकजना मेडिकल अधिकृत (एमबिबिएस डाक्टर) को दरबन्दी भए पनि २०७८ असोजपछि दरबन्दी रिक्त रहेको छ।

दरबन्दीअनुसार डाक्टर नहुँदा तल्लो स्वराड क्षेत्रका पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाका स्थानीयहरुलाई समस्या हुने गरेको स्थानीय सुरत नेगीले बताए।

यहाँ जहिले पनि डाक्टरकै अभाव हुने गरेको छ। प्राथमिक स्वास्थ्य केन्द्रले विसं २०५६ सालदेखि नै डाक्टरको अभाव झेल्दै आएको केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताए।  उनले भने, 'बीच–बीचमा डाक्टर आउने गरेको भए पनि बढीमा एक/दुई वर्ष बस्ने अनि जाने गरेका छन्। यसले गर्दा सेवाप्रवाहमा समस्या हुने गरेको छ।'

दरबन्दी स्वीकृति भए पनि आएका डाक्टर दुर्गम ठाउँ भएका कारण डाक्टर आए पनि एक–दुई वर्षमा नै जाने गरेका हुन्। केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिक उपचारका लागि पुग्ने गरेका छन्। तर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा बिरामीहरुको उपचारमा समस्या हुने गरेको छ। उपचारको आशामा पुगेका नागरिकहरु निराश भएर फर्किनुपर्ने बाध्यता छ।

प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा पोष्टमार्टम गर्नुपर्ने शवहरु जिल्ला अस्पताल पुर्‍याउनुपर्ने बाध्यता रहीआएको छ। यस्तै, निरोगिताका प्रमाणपत्रलगायत अन्य कामका लागि समेत जिल्ला नै धाउनुपर्ने अवस्था रहीआएको छ। आकस्मिक उपचारका लागि पनि जिल्ला तथा डडेल्धुरा रेफर गर्नुपर्ने बाध्यता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.