'स्वतन्त्रको लहरमा हैन, विचारको बत्ती बोकेर आएको छु'
'स्वतन्त्रको लहरमा हैन, विचारको बत्ती बोकेर आएको छु'
काठमाडौं : युग पाठक चर्चित लेखक एवं राजनीतिक विश्लेषक मानिन्छन्। उनै पाठक अहिले मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनबाट संघीय संसद् भवनमा छिर्न खोजिरहेका छन्।
त्यहीँ पनि पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट प्रत्यक्षतर्फ चुनाव लडेर।
पाठक किन साहित्य र विश्लेषणबाट राजनीतिमा हाम फाले? उनको उम्मेदवारीको अर्थ के हो? यिनै विषयको सेरोफेरोमा केन्द्रित भएर थाहाकर्मी जगत भण्डारीले उनै पाठकसँग गरेको कुराकानीको सम्पादित अंश :
जन्मथलो र कर्मथलो दुवै नभएको क्षेत्रबाट निर्वाचन लड्ने योजना किन बनाउनुभयो?
म हुर्केको झापा जिल्लामै हो। ठ्याक्कै निर्वाचन क्षेत्र नम्बर ५ नभए पनि जिल्ला झापा नै हो। त्यही गाउँ हो जुन पहिलाको केपी ओलीको पनि गाउँ हो।
त्यही गाउँमा हुर्केको हुनाले यहाँको जनसंख्याको कम्पोजिसन, रहनसहन र यहाँका बोटबिरुवा यी सबैसँग परिचित र सजिलो लागेको हो। अर्को कुरा स्वतन्त्रको लहर चल्यो भनेर म चुनाव लड्न लागेको होइन।
परिस्थिति त्यस्तो देखिए पनि म लामै समयदेखि चुनावको तयारीमा थिएँ। म धेरै वर्षदेखि यसबारे अध्ययन गरिरहेको छु। नेपालमा धेरै राजनीतिक आन्दोलनहरू भए/ परिवर्तनहरू आए तर ती परिवर्तन किन जनजीविकासम्म पुग्दैनन् भनेर अध्ययन गर्ने क्रममा मैले एउटा किताब पनि प्रकाशित गरेको छु।
यतिले मात्र नपुग्ने ठानेर संसारैभरि भएको दार्शनिक संकट चिन्न लामै अध्ययन गरेर म एउटा निष्कर्षमा पुगे र त्यो कुरा कार्यान्वयन गरेर समाजलाई बदल्न चुनावमा जाने निर्णय गरेको हुँ।
नेपालमा मात्र नभएर विश्वभरी भोगिरहेको दार्शनिक र व्यवहारिक संकटबाट मुक्ति पाउन विश्लेषण गरेर वा किताब मात्रै लेखेर नहुने देखेर म पहल लिनका लागि राजनीतिमा लागेको हुँ।
अहिले पुरानो चरित्र, परिस्थिति, दर्शन र व्यवहारबाट चलिरहेको राजनीतिको सबैभन्दा शक्तिशाली नेता भनेको केपी शर्मा ओली नै हुनुहुन्छ। उहाँको निर्वाचन क्षेत्रमा म चुनाव लडेँ भने आफ्नो कुरा जनतालाई उहाँले बोकिरहेको विचारको तुलनामा स्पष्ट रुपमा बुझाउन सक्छु भन्ने लागेर नै मैले यो क्षेत्र छानेको हुँ।
अहिले पत्रकार, साहित्यकार, कलाकार मात्र होइन कतिपय क्षेत्रमा स्थापित भएकाहरू पनि चर्चाका लागि उम्मेदवारी दिने तयारीमा छन् नि यसलाई कसरी लिनुहुन्छ?
चर्चाका लागि पनि केहीको तयारी हुनसक्छ। तर आम जनतामा चाहिँ अहिलेका दलका नेताहरूप्रतिको असन्तुष्टि बढेको मैले सुनेको छु/ देखेको छु। पुरानो दल र नेताहरूलाई हराउनुपर्छ भन्ने डिस्कोर्स समाजमा चलिरहेको छ।
यस्तो छ भन्दैमा हामीले विचारविहीन राजनीति चाहिँ गर्नु हुँदैन। विचार सहितको राजनीति भयो भने मात्र एक जना मात्रै पनि संसदमा गयो भने जनताको दिमागमा बत्ती बाल्न सक्छ।
तपाईँले भनेजस्तो पुराना नेतालाई हराउन किताब लेखेजस्तो, उपन्यास पढेजस्तो वा कवितामा घोत्ले जस्तो सजिलो छ त?
बिलकुलै छैन। उपन्यास लेख्न पनि सजिलो त छैन त्यो आफ्नो ठाउँमा छ। तर राजनीति त झन् सजिलो हुने कुरा भएन। तपाईंले चिन्दै नचिनेको मान्छे आफूतिर तान्नुपर्यो भने विचारको शक्ति नै हो।
हाम्रो देशको राजनीति बिग्रेको पनि सही विचार नभएर हो। विचार ठिक नभए व्यवहार ठिक हुँदैन। व्यवहार ठिक नभए अहिले हाम्रो देशका ठूला दल जस्तै हुन्छ। त्यसका लागि सुरुमा विचार सुल्टो पार्नुपर्यो। विचार जनतातिर फर्काउनुपर्यो। जनतासँग सहकार्य नगरेसम्म कुनै पनि देश बन्दैन।
त्यसैले हामीले देश बनाउन चाहेको हो। हाम्रा युवा जति सबै विदेश जाने स्थिति छ। हामीकहाँ सपनै नभएको जस्तो भयो। यी सबैलाई जोड्नुपर्यो। कसैले एक्लै चुनाव जित्ने र भगवानजस्तो सबैको इच्छा पूरा गरिदिने राजनीति होइन।
तपाईंले विचार विचार विचार भनिरहनुभएको छ। तर कतिपय राम्रै विचार भएकाहरू पनि चुनाव हारेको पाइन्छ। मासु भात र पैसा जता उतै मत दिने प्रचलन भुल्नुभएको हो?
व्यवहारतः त्यस्तो नहुनुपर्ने हो तर अवस्था त्यस्तो बनाइएको छ। मासु भात खुवाइदिन्छु भन्ने दलालले नेताबाट पैसो खान्छ। नेपाली जनतालाई बाँडेजस्तो गर्ने तर बीचमै खाने धेरै छन्। यो पनि सही विचार नभएर नै हो। त्यसैले अहिले निर्वाचनप्रति आम मतदाताको वितृष्णा बढ्दै गएको छ।
यसपालि चाहिँ मासुभात खाएको भरमा तिनै कार्यकर्ताले आफ्नै नेतालाई मत हाल्छन् भन्ने अवस्था छैन। हरेक दश वर्षमा नेपालमा उथलपुथल हुने गरेको छ। संविधान बनाउने चक्करमा जनताको आकांक्षा एकातिर नेताको खेल अर्कोतिर भएको अहिले १०–१५ वर्ष हुँदैछ।
त्यसको रियाक्सन अहिलेको चुनावबाट देखिँदै छ। यसपटक कुनै ठूलो आन्दोलन छैन तर जनताको जुन असन्तुष्टि छ त्यो चुनावको परिणामबाट आउँछ भन्ने मलाई लागेको छ। जनताले कुरै बुझ्दैनन् भन्ने हुँदैन। बुझ्छन्/बुझाउनुपर्छ।
०६४ मा माओवादीलाई, ०७४ मा बाम गठबन्धनलाई नबुझेर मत दिएका हुन् र ? त्यसकारण हामी मोटरसाइकल लिएर जनतामाझ पुगिरहेका छौँ। जनतासँग नेताहरूलाई पाठ पढाउने तागत पनि छ।
तपाईं अहिले निर्वाचन क्षेत्रमै आम मतदातासँग हुनुहुन्छ। जुन क्षेत्र पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्र हो। जहाँबाट उहाँले सर्वाधिक मत ल्याउनुभएको थियो। उहाँलाई हराउन त तपाईँलाई फलामको चिउरा चपाउनु जस्तै हो। त्यसका लागि त्यहाँको भूगोल बुझ्नुपर्यो। मत भार आँकलन गर्नुपर्यो। अहिलेसम्मको वस्तुस्थिति कस्तो पाउनुभयो?
म लेखन, साहित्यमा मात्र भएको भए जनतासँग जोडिने/जनताको कुरा थाहा नपाउने अथवा कुहिरोको काग जस्तै हुन्थेँ होला। तर मैले १०–१२ वर्षदेखि जनताको बीचमा गइराख्ने, भाषण गरिराख्ने, जनताको समस्या सुन्ने गरिरहेकाले मलाई खासै गाह्रो छैन। अर्को कुरा जनताको आधारभूत आवश्यकता मलाई थाहा छ।
मानिसलाई कसरी जोड्ने भन्ने विचारले हो। त्यो विचार मसँग छ। म जोड्न सक्छु। हामीले स्पष्ट विचार बनाएका छौँ। हाम्रा समस्या र समाधान पहिल्याएका छौँ। जुन हामी चाँडै सार्वजनिक गर्ने तयारीमा छौँ। एउटा परिवर्तनको प्रक्रिया सुरु गर्न सक्छौँ भन्ने हाम्रो आत्मविश्वास छ।
तपाईंले स्वतत्न उम्मेदवार बन्नुको अर्थ अहिलेको दलीय राजनीति संकटमा पर्दैछ भन्ने निष्कर्षमा पुगेर हो?
मेरो निष्कर्ष नै त्यहीँ हो। अहिले विश्वभर नै दार्शनिक वैचारिक संकटको घडी हो। वैचारिक संकटले व्यवहारमा संकट ल्याएको छ। सजिलो उदाहरण हेर्नुहोस् कसैको मार्क्सवाद छ, कसैको उदारवादी लोकतन्त्रको अवधारणा छ।
तर, जुन पार्टीको अध्यक्षलाई जुनसुकै पार्टीको अध्यक्ष बनाइदिए पनि हुने खालको स्थिति देखिएको छ नि हो यस्तो किन भयो भने व्यवहारमा संकट आएकाले हो। ठिकै छ यिनै विचारले मानव समाजलाई यहाँसम्म ल्याइ पुरायो।
अब अगाडि जाने बाटो हामीले बनाउनुपर्छ। पुरानो दलले काम नगरिरहेका बेला उनीहरुकै पार्टीको मेम्बर भएर नयाँ विचारले काम गर्न सकिँदैन। त्यसैले नयाँ शिराबाट सुरु गरेर बरु दललाई चुनौती दिन सकिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।