विज्ञ भन्छन् : फोहरलाई मोहर बनाउने हो

|

काठमाडौं : गत साउन महिनामा बढी काठमाडौं उपत्यकाभित्र सडक गल्ली,चोकहरुमा फोहर अस्तब्यस्त बन्यो। सिसडाेल, बञ्चरेडाँडामा स्थानीयले फोहर विसर्जन गर्न अवरोध गरेपछि यहाँका शहर बासी सकस व्यहोर्न बाध्य भए। शहर नै दुर्गन्धित बन्यो। वर्षेनी यस्ता समस्या उपत्यकावासीले भोगिरहेका छन्।

अहिले सम्म पनि सडकका पुरै फोहर व्यवस्थित हुन सकेको छैन्। यही बेला गोकर्णेश्वर नगरपालिकाले भने फोहर जलाउने मेसिन जडान गरेर सञ्चालन ल्याई फोहर व्यवस्थापन गर्न थालेको छ।

नगरपालिकाले गत असार देखि नयाँ बस्ती स्थित एयरपोर्ट नजिकैको बागमती करिडोरमा जडान गरि सञ्चालनमा ल्याएको थियो। त्यसपछि नगरपालिकाले निरन्तर फोहर जलाउँदै आएको छ। 

नगरपालिकाका प्रमुख दिपक कुमार रिसाल यो मेसिन धेरै प्रभावकारी भएको जानकारी दिए। उनले भने, ‘हामीले पहिला नै सञ्चालनमा ल्याउने भनेका थियौँ,तर ठाउँ नदिएकाले अहिले सञ्चालनमा ल्याएका छौँ,राम्रोसँग फोहरको व्यवस्थापन मेसिनबाट भएको छ।’

उनकाअनुसार अहिले सञ्चालन भएको ठाउँबाट अर्को ठाउँमा सारेर व्यवस्थित ढंगले सञ्चालन गर्ने योजना छ। ‘कसरी फोहर जलाइन्छ भनेर नमुनाको रुपमा जडान गरेर स्थानीयलाई देखाएका छौँ,अहिले जडान भएको ठाउँ अलिक असहज भएकाले अर्को ठाउँमा सार्दै छौँ,’उनले भने।

यसरी मेसिनले जलाउँछ फोहर 

नगरपालिकाले २०७५ कात्तिक महिनामा जापानको हित्ता कम्पनीको सहयोगमा फोहर जलाउने मेसिन नेपालमा ल्याएको थियो। तर ठाउँ नपाएको भन्दै नगरपालिकाले चार वर्षसम्म सञ्चालनमा ल्याउन सकेको थिएन।

नगरपालिकाले यसअघि करिब पाँच करोड लागतमा ल्याएको मेसिनले कुहिने र नकुहिने फोहर जलाएर खरानी बनाउने र मेसिनले नै फोहर सुकाई जलाउने काम गर्ने जानकारी दिएको थियो।

तर,अहिले नगरप्रमुख रिसालका अनुसार २४ सैँ घण्टा जलाएमा दैनिक ४ टन नकुहिने फोहर मेसिनले जलाउँदै आएको छ। ‘कुहिने फोहर भने मल बनाउने योजना छ, यस्तै अन्य स्थानीय तहमा पनि मेसिन जडान गर्न सकियो भने सिसडाेल,बञ्चरेडाँडा लैजाने फोहर यसले व्यवस्थापन गर्छ,कुहिने फोहरलाई मल बनाउन सकिन्छ,’उनले भने।

उनका अनुसार नगरपालिकाभित्रबाट दैनिक २० टन फोहर उत्पादन हुने गर्छ। धेरै धुवा बाहिर ननिस्किने हुँदा वातावरणमा असर नपुग्ने नगरपालिकाको दाबी छ। 

उपत्यकाबाट  निस्किन्छ दैनिक करिब १२ सय मेट्रिक टन फोहर

काठमाडौं महानगरपालिका वातावरण विभागका अनुसार उपत्यकाका १८ स्थानीय तहबाट दैनिक करिब १२ सय मेट्रिक टन फोहर यसअघि नुवाकोटको साविकको ओखरपौवा हालको ककनी गाउँपालिका–२ स्थित सिसडोलमा बिसर्जन हुने गरेको थियो।

अहिले भने बञ्चरेडाडाँमा पनि अवरोधकै बाबजुत विसर्जन हुने गरेको छ। यो फोहरमध्ये काठमाडौं महानगरपालिकाबाट मात्र दैनिक करिब ५ सय ४५ मेट्रिकटन फोहर निस्किने नगरपालिकाले जनाएको छ।

विज्ञ भन्छन्, फोहरबाट मोहर निकाल्ने हो

वातावरण विद् भूषण तुलाधर तीन वटै सरकारले व्यवस्थापन गर्न जानेमा फोहरबाट मोहर निकाल्न सकिने बताउँछन्।

तत्काल फोहर व्यवस्थापन नगरे पछि ठूलो असर पर्नसक्ने चेतावनी दिदै उनी भन्छन्,‘केन्द्र,प्रदेश होस या स्थानीय तहका जनप्रतिनिधि उपत्यकाको फोहर व्यवस्थापनमा हालसम्म जिम्मेवार देखिएनन्,खाली महानगरपालिकालाई फोहर फाल्नु बाहेक अन्य व्यवस्थापनमा ठोस योजना नै ल्याउन सकेन,नीति छ कार्यान्वयन गर्न सकेन्।’

उनका अनुसार उपत्यकाबाट निस्किएको दुई तिहाई फोहरबाट बायोग्यास निकाल्न सकिन्छ। कम्पोष्ट मल बनाउन सकिन्छ।  ‘प्लाष्टिक र सिसा पुनः प्रयोग गर्न सकिन्छ, १० प्रतिशत फोहर मात्र फाल्ने खालको निस्किन्छ,’उनले भने। 

मेसिनको अनुगमनपछि अन्य जनप्रतिनिधिले के गर्लान ?

गत भदौँ १५ गते गोकर्णेश्वर नगरपालिकाले सञ्चालनमा ल्याएको उक्त मेसिनको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह,ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन,उपप्रमुख मञ्जली शाक्य बज्राचार्य,मध्यपुर ठिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ,कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की,दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत लगायतले अवलोकन गरेका थिए। 

काठमाडौं महानगरपालिका वातावरण विभागका प्रमुख सरिता राई नगरप्रमुखको अवलोकनपश्चात् तत्कालै मेसिन जडान गर्ने भन्ने खालका केही निर्णय हालसम्म नभएको जानकारी दिइन्।

‘मेयर ज्युले नगरपालिकाले जडान गरेको उक्त मेसिनको अवलोकन गर्नु भएको छ,अब केही दिन पछि त्यस्ता मेसिन जडान गरि फोहर व्यवस्थित गर्ने योजना पनि बन्न सक्छ,तर हालसम्म चाही केही जानकारी छैन,’उनले भनिन्।

उनले फोहर जलाउने भन्दा पनि नगरपालिकाको भने फोहरको पुनः प्रयोग गर्नेगरि व्यवस्थापन गर्ने भन्ने मुख्य योजना रहेको बताइन्। उनले अहिले फोहर व्यवस्थापनमा कुनै अवरोध नभएकाले दैनिक डेढ सय ट्रक फोहर बञ्चरेडाँडामा लैजाने गरेको जानकारी दिइन्। 

दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले अवलोकन गर्दा गोकर्णेश्वर र मध्यपुर ठिमीले सञ्चालनमा ल्याएको दुवै अभ्यास र प्रविधि राम्रो लागेको प्रतिकृया दिए। ‘तत्काल फोहर व्यवस्थापन गर्ने हो भने गोकर्णेश्वरले सञ्चालनमा ल्याएको मेसिन राम्रो छ,मध्यपुर ठिमीको भने फोहरबाट मल बनाएको देखियो,दुवैको प्रयास राम्रो छ,’उनले भने।

उनले पनि कसरी फोहर व्यवस्थापन गर्दा फाइदा पुग्ने भनेर अहिले छलफल भइरहेको बताए। ‘मेरो योजना भनेको फोहर व्यवस्थापनबाट मोहर ल्याउने हो,मल बनाउने हो,’उनले भने,‘अब आर्थिक रुपमा कतिको सकिन्छ,अध्ययन गरेर एउटा न एउटा विकल्प खोजेर फोहर व्यवस्थापन गर्ने मेरो योजना छ।’

कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख शान्ता थापाले यस विषयमा अब बस्ने बैठकपछि योजना बनाउने बताइन्। उनले भनिन्,‘दीर्घकालीन फोहर व्यवस्थापनका लागि योजना छ,अब कसरी गर्ने भन्नेबारे बैठक बसेपछि निर्णय हुन्छ।’

(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.