|

पाल्पा : पाल्पाको बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले यहाँ ‘यात्रु सहायता कक्ष’ सञ्चालन गरेको हो। नेपालीहरूको महान पर्व दशैँ, तिहार, छठका अवसरमा यात्रुलाई पर्ने असुविधाका बारेमा सुनुवाई गर्न सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

बसपार्क हुँदै लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालन हुने गर्छन्।

यहाँ चौबीसै घण्टा प्रहरी तयारी अवस्थामा रहने छन्। यात्रुको गुनासोका आधारमा तत्काल प्रहरी परिचालन हुने उनले बताए। चाडपर्वका बेला यात्रुको भीडभाड हुने गर्छ। यहाँ अपरिचित वा नयाँ मानिसहरू पनि आउने गर्छन्।

कुनै मानिस अलपत्र परेमा, यात्रुको सामग्री चोरी भएमा, बढी भाडा लिएको अवस्था थाहा भएमा, सीट क्षमताभन्दा बढी यात्रु बोकेमा या यात्रु नै मादक पदार्थ सेवन गरेर अरुलाई असर पर्ने काम गरेमा यात्रु सहायता कक्षमा तत्काल खबर गर्न सकिने उनले बताए।

बसपार्कमै भएका कारण यात्रुले तत्काल खबर गर्न सक्नेछन्। यद्यपि नजिकै रहेका कुनै पनि प्रहरी कार्यालयमा खबर गर्नसक्ने उनले बताए।

सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गर्दा दुर्घटना हुनसक्ने भएकाले यसको न्यूनीकरण गर्न ट्राफिक चेकिङलाई कडाई गरिने छ। व्यवसायीले पैसाको लोभमा चालक र सह–चालकलाई यात्रु धेरै बोक्न बाध्य पार्न सक्छन् त्यसको अवस्था बुझेर बढी यात्रु बोक्ने सवारीसाधनलाई कारबाही गरिने उनले बताए।

‘सडकको अवस्था नाजुक छ, त्यसैमाथि चालकले लापरवाही गरेको पाइन्छ’, उनले भने, ‘नियम उल्लंघन गर्नेलाई कानून बमोजिम कारबाही हुन्छ। यसबारे थाहा दिन यात्रुवर्गलाई अनुरोध गर्दछु।’

चाडपर्वका बेला अलि बढी घटना तथा दुर्घटना हुने भएकाले प्रहरीले थप सतर्कता अपनाएको उनले बताए। राजमार्ग तथा ग्रामीण भेगमा ट्राफिक चेकिङलाई प्रभावकारी बनाइने छ। धेरैको संख्यामा सिभिल प्रहरी परिचालन गरिने छ। मोबाइल तथा पेट्रोल गस्तीलाई प्रभावकारी बनाइने थापाले बताए।

जुवातास नियन्त्रण गर्नसमेत प्रहरीले विशेष रणनीति बनाएर अगाडि बढेको उनले सुनाए। नयाँ तथा अपरिचित शंकालु मानिसलाई निगरानीमा राखिने छ। चाडपर्वमा भड्किला कार्यक्रम तथा खर्च नगर्न उनले अपिल गरे।

आफूलाई असुरक्षाको महशुस भएमा तत्काल प्रहरीलाई खबर गर्न थापाले आग्रह गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.