|

गुल्मी : गुल्मीमा खरका छाना विस्थापित कार्यक्रमबाट ५ हजार २६७ घरहरुमा जस्तापाता लगाइएको छ। नागरिकहरुलाई आगलागी र मनसुनजन्य विपदबाट बचाई सुरक्षित आवास निर्माणका लागि खरका छानाहरू विस्थापित गरी जस्तापाता लगाइएको स्थानीय तहको तथ्यांकमा उल्लेख छ।

मुसीकोट नगरपालिका गुल्मीमा कुल नौ सय ७४ खरका छाना भएका घरहरुलाई जस्ताको छाना बनाउनका लागि ९५४ घरहरुमा जस्तापाता लगाएको नगरपालिकाले जनाएको छ।

बाँकी २० घरहरुमा पनि जस्तापाता लगाउने कार्य अन्तिम चरणमा पुगेको र हालसम्म चार करोड चार लाख २० हजार खर्च भएको सूचना प्रविधि अधिकृत समुन्द्र विक्रम रायमाझीले जानकारी दिए।

यस्तै रेसुंगा नगरपालिका गुल्मीमा कुल सात सय  घरधुरी खरका छाना रहेकोमा सबै घरधुरीमा जस्ता पाता लगाइसकिएको नगरपालिकाले जनाएको छ। सबै घरधुरीहरुमा जस्तापाता लगाइसकिएकोले अब खरका छानामुक्त नगर घोषणाको तयारीमा रहेको सूचना अधिकारी शंकरप्रसाद गौतमले जानकारी दिए।

जसका लागि एक करोड रुपैयाँ खर्च भइसकेको नगरपालिकाले जनाएको छ। रुरू क्षेत्र गाउँपालिकाका सात सय ४९ घरहरु खरका छाना भएकोमा दुई सय ६२ घरहरुमा जस्तापाता लगाइसकेको र बाँकी ४८७ घरहरुमा जस्ता पाता लगाउने कार्य बाँकी रहेको गाउँपालिकाले जनाएको छ।

४८७ घरधुरीमध्ये पनि जनता आवास कार्यक्रममार्फत घर बनेकाले आफूहरुसँग वास्तविक डाटा भने नरहेको सूचना अधिकारी कृष्णप्रसाद न्यौपानेले जानकारी दिए।

चन्द्रकोट गाउँपालिकामा भने कूल आठ सय ४२ घरहरु खरका छाना भएकोमा सात सय ३२ घरहरुमा जस्तापाता लगाइएको र बाँकी एक सय १० घरहरुमा जस्तापाता लगाउने अभियान जारी रहेको पालिकाले जनाएको छ।

यस्तै इश्मा गाउँपालिकामा पाँच सय ४० खरका छाना भएका घरहरु जस्ता पाता लगाइएको गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणाको तयारीमा रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले जानकारी दिए।

जसका लागि झण्डै दुई करोड खर्च भएको गाउँपालिकाले जनाएको छ। मदाने गाउँपालिकाका सात सय ३६ घरहरु खरका छाना भएकोमा सबै घरहरुमा जस्तापाता लगाई गाउँपालिकालाई २०७८ साल फागुन २६ गते खरका छानामुक्त घोषणा गरिएको सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए।

यस्तै मालिका गाउँपालिकामा एक हजार चारसय घरहरु खरका छानाहरुमा जस्तापाता लगाइएको गाउँपालिकालाई घोषणा गर्ने प्रक्रियामा रहेको पालिकाले जनाएको छ।

गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणा गर्ने अभियानमा करिब तीन करोड बढी खर्च भएको गाउँपालिकाले जनाएको छ। यस्तै गुल्मीदरबार गाउँपालिकामा चार सय ६४ घरहरु खरका छाना भएकोमा चारसय १३ घरहरुमा जस्तापाता लगाएको र बाँकी ५१ घरहरुमा जस्तापाता लगाउने कार्य यस आर्थिक वर्षमा सम्पन्न हुने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए।

कालीगण्डकी गाउँपालिकामा कूल एक हजार घरधुरी खरका छाना भएकोमा १९६ घरहरुमा जस्तापाता लगाएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए।

धुर्कोट गाउँपालिकाले गाउँपालिकाभित्र रहेका एक हजार २४५ घर धुरीहरूमा जस्तापाता लगाई खरका छानामुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिए।

आफू निर्वाचित भएर पदभार ग्रहण गर्दा खरका छानामुक्त गाउँपालिका घोषणा गर्ने पहिलो निर्णय सार्थक भएको पोखरेलले बताए।

खरका छानामुक्त गाउँपालिका घोषण भएसँगै आगलागीका घटनामा कमी आउने र मनसुनजन्य क्षतिबाट बच्न सकिने गाउँपालिकाले दाबी गरेको छ। नागरिक सुरक्षित आवास कार्यक्रम अन्तर्गत १५७ घरधुरी, जनता आवास अन्तर्गत​ ३७, एकीकृत नमुना बस्ती अन्तर्गत १८, भूकम्पपछि गरिएको पुन निर्माणका ५३९ र जस्तापाता वितरण अन्तर्गत ५०४ गरी कूल एक हजार २४५ घरधुरी रहेको गाउँपालिकाले जनाएको छ।

धुर्कोट गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणा गर्नका लागि कूल १९ करोड, २९ लाख ९४ हजार, ११९ रुपैयाँ लगानी भएको गाउँपालिकाले जनाएको छ।

जसअन्तर्गत जस्तापाताका लागि एक करोड ८१ लाख ९२ हजार २८७, नागरिक सुरक्षित आवासका लागि ७८ लाख ५० हजार, जनता आवासका लागि एक करोड २४ लाख ५१ हजार ८३२, एकीकृत नमुना बस्तीका लागि एक करोड ६२ लाख, भूकम्प पछिको पुन: निर्माणमा १३ करोड ८३ लाख खर्च भएको पोखरेलले जानकारी दिए।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.