४ दिन विश्व मुटु दिवस मनाउन निःशुल्क परीक्षण गर्दै नेपाल मेडिसिटी वयोधा अस्पताल

|

वीरगंज : वीरगंजको घडिअर्वा पोखरीमा आज बिहान करिब २ सय ५० जनाको मुटु परीक्षण गरिएको छ।

आगामी २९ सेप्टेम्बर बिहीबार परेको विश्व मुटु दिवस भव्य रुपमा मनाउने क्रममा आज (आइतबार) देखि ४ दिनसम्म वीरगंजस्थित नेपाल मेडिसिटी वयोधा हस्पिटलले निःशुल्क स्वास्थ्य परीक्षण आयोजना गरेको छ। सो कार्यक्रमअन्तर्गत आज घडिअर्वा पोखरीमा सर्वसाधारणको मुटु परीक्षण गरिएको हो।

मानव जीवनशैली, खानपान तथा व्यस्तताका कारणबाट मुुटुसम्बन्धी समस्या बढ्दै गइरहेकाले जनचेतना अभिवृद्धिका लागि निःशुल्क मुटु परीक्षण गरिरहेको नेपाल मेडिसिटी वयोधा अस्पतालका प्रमुख विजय रिमालले बताए।

आज घडिअर्वा पोखरीमा परीक्षण गरिएको र भोलिदेखि गहवामाईस्थानमा बिहान ६ बजेदेखि सर्वसाधारणको मुटुरोग परीक्षण गरिने तथा कसैलाई मुटुसम्बन्धी समस्या देखिएमा थप उपचारका लागि वयोधा अस्पतालका मुटुरोग विशेषज्ञहरूले परामर्श दिने जानकारीसमेत उनले दिए। 

नेपाल मेडिसिटी वयोधा हस्पिटलकी मुटुरोग विशेषज्ञ डा. राधा भट्टराईले यस वर्ष अस्पतालले वीरगंजवासीको मुटुको अवस्थाबारे जानकारी लिने, बालबालिकामा देखिने मुटुको बाथरोगको परीक्षण गर्ने, वीरगंजमा मुटु रोगका अवस्थाबारे अध्ययन अनुसन्धान गर्नेलगायत योजनाहरू रहेकाले सबै वीरगंजवासीले निःशुल्क मुटु परीक्षण गर्न परीक्षण शिविरमा आउन अनुरोध गरिन्।

हस्पिटलले आगामी २९ सेप्टेम्बर २०२२ बिहान ६ बजे वीरगंजको घन्टाघरदेखि नेपाल मेडिसिटी वयोधा हस्पिटलसम्म म्याराथन र सोही समयमा घन्टाघरदेखि नारायणी उपक्षेत्रीय अस्पतालसम्म वाकाथनको कार्यक्रम राखेको जानकारी विश्व मुटु दिवस कार्यक्रमका संयोजक जितेश दासले दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.