|

दाङ : बैंक तथा वित्तीय संस्थाहरूले गरेको चर्को ब्याजदर वृद्धिको विरोधमा दाङ जिल्लाका उद्योगी व्यवसायी आन्दोलित भएका छन्।

बैंकहरूले वृद्धि गरेको चर्को ब्याजदरका कारण उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नरहेको भन्दै व्यवसायीले जिल्ला प्रशासन कार्यालय दाङमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

आइतबार दाङ जिल्ला उद्योग वाणिज्य संघको अगुवाइमा प्रधानमन्त्रीको कार्यालय, राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, अर्थ मन्त्रालय लगायतका निकायमा ज्ञापन पत्र पेश गरेको हो। सो अवसरमा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष टङ्कसिंह बुढाथोकी, निवर्तमान अध्यक्ष नारायण भुसाल, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे लगायतको सहभागिता रहेको थियो।

यस्तै बैंकहरूले ८ प्रतिशतबाट एकै पटक १६ प्रतिशतसम्म व्याज पुर्‍याएपछि त्यसको विरुद्धमा सडकमा उत्रिनु परेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए।

कोभिडका कारण अस्तव्यस्त भएको व्यापार क्षेत्र पुनः बढ्दो महङ्गीले चरम सङ्कटमा परेका बेला बैंकहरूले चर्को ब्याज बढाएपछि त्यसका विरुद्ध आन्दोलन गर्नु परेको उनले बताए।

देशको अर्थतन्त्र धान्ने व्यापार क्षेत्रमाथि चौतर्फी आक्रमण हुँदा उद्योग, धन्दा, कलकारखाना सबै चौपट हुने अवस्थामा पुगेको भन्दै देशमा राज्य छ, भन्ने कुराको अनुभूति दिलाउन उनले सरकारसँग माग गरे।

त्यसैगरी देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्का, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढामगर, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेत, हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम खत्री, बिजौरी उद्योग वाणिज्य संघका उपाध्यक्ष बालकृष्ण रेग्मी, बङ्गलाचुली उद्योग वाणिज्य संघका अध्यक्ष रुकप्रसाद कुलामीलगायतको उपस्थितिमा ज्ञापनपत्र बुझाएको हो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.