|

तिलोत्तमा : नेपाल नेत्रहीन सङ्घको सहयोगमा रुपन्देही नेत्रहीन सङ्घद्वारा सञ्चालित श्रवणदृष्टिविहीन परियोजनाबाट जिल्लाका ४० जना श्रवण तथा दृष्टिविहीनता भएका व्यक्तिहरुले प्रत्यक्ष लाभ प्राप्त गरेका छन्।

तिलोत्तमा नगरपालिको मणिग्राममा रहेको शान्ति नमूना माविमा श्रवण दृष्टिविहीनहरुले लाभ प्राप्त गरेको जनाइएको छ। परियोजनाको पहलमा रुपन्देहीमा श्रवण दृष्टिविहीन भएका बालबालिकाले पढ्ने विशेष विद्यालयसमेत स्थापना गरेर लाभ दिन सकिएको हो।

श्रवण दृष्टिविहीन परियोजना संयोजक प्रेम आचार्यले श्रवण र दृष्टिविहीन भएकाहरूलाई अन्य अशक्तभन्दा धेरै समस्या पर्ने भएकाले आफूहरूले उनीहरुलाई आर्थिक, सहयोगी शिक्षक, फिजियोथेरापीष्टसहितको सेवा प्रदान गरेको बताए।

आइतबार बुटवलमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै परियोजना संयोजक आचार्यले रुपन्देहीमा एक सय ८१ जना श्रवण दृष्टिविहीनमध्ये ८८ जना महिला र ९३ जना पुरुष रहेको जानकारी दिए।

तीमध्ये आफूहरूले ४० जनालाई सेवा गरेको उनको भनाइ छ। जिल्लामा रहेका अन्य अशक्त व्यक्तिहरुलाई मूलधारमा ल्याएर जीवनोपयोगी तालिम प्रदान गर्न सरकारी तथा गैरसरकारी संस्था सबै लाग्नुपर्ने बताए।

नेपाल नेत्रहीन सङ्घका केन्द्रीय सदस्य शिला घिमिरेले अपाङ्ग भएको व्यक्तिहरूलाई अझै पनि परिचयपत्र बनाउन, स्वास्थ्य बीमा गर्न झन्झट भएको बताए। उनले अपाङ्गताको विषयमा काम गर्न राज्य चुकेकाले कानूनले तोकेको अधिकार प्राप्त गर्नका लागि सबैले दबाब दिनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.