शेखरले ओलीसँग सहकार्य गर्ने चर्चाले तरङ्ग, विद्रोहको चेतावनी

|

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसभित्र समानुपातिक तर्फको उम्मेदवार छनौटलाई लिएर विवाद बढेको छ। सत्ता गठबन्धनमा सिट बाँडफाँटको झमेलामा फसेका प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई पार्टीभित्रकै विवाद मिलाउने हम्मेहम्मे पर्ने स्थिती देखा परेको हो। 

संस्थापन इतर समूहका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहका नेताहरू नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आन्दोलित भएका छन्। 

पाँच दलभित्र सिटको भागबण्डा मिलाउन हम्मेहम्मे परेका बेला संस्थापन इतर पक्षको नेतृत्व गरिरहेका डा. कोइराला र महामन्त्री गगन थापा समूहले पार्टीभित्र ४० प्रतिशत हिस्सा खोजेका छन्। तर, देउवा सकारात्मक छैनन्।

गठबन्धनसँग प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले कम्तिमा १ सय सिट लिनुपर्ने दाबी गर्दै आइरहेका छन्। तर, देउवा गठबन्धन जोगाउन लचक हुन तयार छन्। प्रतिनिधिसभाको १६५ सिटमध्ये गठबन्धनले अहिलेसम्म १५० निर्वाचन क्षेत्रमा लगभग सहमति जुटाइसकेको छ। अहिले गठबन्धन प्रदेशसभाको ३३० सिटको भागबण्डा मिलाउनतिर केन्द्रित छ। 

प्रत्यक्षमा टिकटको टुंगो नलागेका बेला समानुपातिकमा समेत आफूहरूलाई अन्याय गरेर बन्द सूची बुझाइएको उनीहरूको आरोप छ। गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लगाउन झण्डै डेढ महिनादेखि बस्दै आएको गठबन्धनका शीर्ष नेता र कार्यदलको बैठक अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन। 

गठबन्धनभित्रको विवाद बल्झिरहेको बेलामा देउवालाई पार्टीभित्रको विवाद झेल्नुपर्ने परिस्थिती बनेको छ। समानुपातिकमा देउवाले एकलौटी गरेपछि आफू बाध्य भएर खबरदारीमा उत्रिएको संस्थापनइतर समूहका नेता गुरूराज घिमिरेले बताए। 

शेखर गगन समूहले शनिबार काठमाडौंमा आयोजना गरेको खबरदारी सभामा सहभागी

उनले भने, ‘हामीले शनिबार पनि खबरदारी सभा गरेर सबै कुरा भनिसकेका छौँ। समानुपतिकको सूची न्यायोचित छैन। त्यसलाई सन्तुलित बनाउनुपर्छ। यो कुनै गुटको मात्रै होइन। पार्टीका सबै नेताहरूमाथि अन्याय भएको छ। सबै साथीहरूलाई समेटेर नयाँ सुची बनाउनुपर्छ भनेका छौँ हामीले। शनिबार खबरदारी सभा गर्यौँ। १२ गते १२ बजे पार्टी कार्यालयमा धर्ना राखेका छौँ।’

खबरदारी सभा अनुसार नै १३ गते विजयादशमीको शुभकामना आदान प्रदान कार्यक्रम गर्ने उनले बताए। नेतृत्वले सूची सच्याउन तयार नभए आफूहरू ऐतिहासिक र कठोर निर्णय लिन बाध्य हुने उनको चेतावनी छ।

‘उहाँहरूले वार्ताका लागि हामीसँग जोडिएका नेताहरूलाई बोलाउने होला। अहिले बालुवाटारले शेखर दाइलाई खोजेको भन्ने कुरा सुन्नमा आएको छ। उहाँ विराटनगरमा हुनुहुन्छ।’ उनको भनाइ छ। 

पार्टीभित्रको विवादलाई लिएर शेखर दाइले एमालेसँग तालमेल गर्नेगरी छलफल गर्नुभएको जस्तो आफूलाई नलागेको उनले सुनाए। 

‘हामीले गठबन्धन गर्ने पार्टीको निर्णय स्वीकार गरेका छौँ। तर, पाएको अवसरलाई न्यायोचित वितरण होस् भनेका हौँ। समानुपातिकमा न्यायपूर्ण नभएपछि प्रत्यक्षमा पनि हुँदैन। सबैलाई सम्मानजनक ढंगबाट गर्नुपर्छ। यसले धेरै ठुलो क्षति गर्नसक्छ’ उनले चेतावनीको शैलीमा थाहाखबरसँग भने। 

प्रचण्ड-माधव पनि भुंग्रोमा !

कांग्रेसभित्रको विग्रहको एउटा महत्वपूर्ण कारण हो, सत्ता गठबन्धनको चुनावी तालमेल गर्ने निर्णय। 

संस्थापन पक्षको जोडबलले पार्टीले आफ्नो नेतृत्वको सरकार गठन गर्नेगरी चुनावी तालमेल गर्ने निर्णय गर्यो। तर, अहिले त्यही गृहकार्य चलिरहेको छ। त्यसको भुंग्रोमा अहिले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल पर्ने भएका छन्। 

साविक नेकपाको एकता भंग भएपछि पार्टीको अस्तित्व जोगाउन प्रचण्ड-माधवलाई गठबन्धन जोगाउनैपर्ने बाध्यता छ। कांग्रेस सभापति देउवालाई ०७४ सालको झैं वाम गठबन्धन रोक्न गठबन्धन जोगाउनैपर्ने चुनौति छ। 

तर, टिकट वितरण प्रक्रियामा देउवाले एकलौटी गरेपछि त्यसको असर प्रचण्ड–माधवलाई पर्ने भएको छ। उनीहरूले कांग्रेसको विवाद नसुल्झाइ सिट बाँडफाँट गरेर मात्रै चुनाव जित्न चुनौति समेत दिएका छन्। 

तपाईंहरू मात्रै खबरदारी सभामा हुनुहुन्छ। शेखर–गगनजीहरू चाहिँ किन देखिनुभएको छैन नि ? भन्ने प्रश्नमा घिमिरेले भने, ‘हाम्रो खबरदारी शेरबहादुर दाइलाई मात्रै होइन। उहाँ(शेखर दाई)लाई पनि हो। पदाधिकारी देखि संसदीय बोर्डलाई पनि हो। मुख्य चाहिँ सभापति भएकाले शेरबहादुर दाइलाई भनेका हौँ। त्यसमा गठबन्धनका प्रचण्ड र माधव नेपाललाई पनि हो।’

कांग्रेसको आन्तरिक बिषयमा कुरा नमिलि सिट बाँडफाँट मात्रै गरेर चुनाव जितेर देखाउन उनले चुनौति दिए। गठबन्धन र टिकट वितरणमा गरेको एकलौटीले पार्टीभित्र गरेको क्षतिको अन्दाज सभापतिज्यूले गर्नुपर्ने उनको बुझाइ छ। 

‘उहाँहरूले नै दायाँबायाँ गर्नुभयो’

शेखर-गगन समूहले सभापति देउवाले एकलौटी गरेको आरोपको प्रवक्ता डा. प्रकाशशरण महत इन्कार गर्छन्। 

उनी भन्छन्, ‘उहाँहरूले अनावश्यक रूपमा भ्रम फैलाउने कोसिस गर्नुभएको छ। पार्टीका सबै नेतृत्व बसेर सहमतिको साथ निर्णय भएको छ। आफूभन्दा पछिकाहरूलाई यो बाहिर विरोध गर्न लगाउने कुराले पार्टीलाई मद्दत गर्दैन।’

उनले शेखर-गगनसहितका शीर्ष नेताहरू बसेर नै समानुपातिकको बन्द सूची तयार पारेको दाबी  गरे। 

‘आफू बसेर निर्णय गराउने अनि बाहिर साथीहरूलाई विरोधको सभा राख्ने त्यो गलत हो। समानुपातिकको सुची बुझाउन उहाँहरूकै साथीहरू जानुभएको थियो। हामी कोही गएका थिएनौँ’ उनले भने, ‘हामीबाट नभएर उहाँहरूबाट बुझाउन जाने क्रममा दायाबायाँ भयो भन्ने आएको छ। अहिले अरूले गरे भनेर प्रचारबाजी भइरहेको छ।’

पार्टी विरूद्धको फण्डाले पार्टीलाई हित नगर्ने उनले बताए। पार्टीभित्र के-के नै भइसक्याे भन्ने बाहिर भएजस्तो चर्चा केही नभएको उनको भनाइ छ। 

त्यसो त तपाईंहरुको पार्टी नेता शेखर कोइराला एमाले अध्यक्ष ओलीसँग निरन्तर संवादमा हुनुहुन्छ भन्ने छ नि! भन्ने प्रश्नमा त्यसबारेमा आफूलाई जानकारी नभएको बताए।

‘असहमति सुनिएन’

समानुपातिकको बन्द सूचीबारे अन्तिम निर्णय गर्ने बेलामा आफूले राखेको असहमतिलाई वेवास्ता गरेको नेता अर्जुननरसिंह केसी बताउँछन्। 

उनी भन्छन्, ‘टिकट वितरणको बिषयलाई हामीले निरन्तर भन्दै आएका हौँ। अहिले हामी चुनौतिपूर्ण अवस्थामा छौँ। सकेसम्म सहमतिपूर्ण निकास नै हामीले पहिलो विकल्पको रूपमा अगाडि सारेका छौँ। जुन दिन अन्तिम नामावली निर्वाचन आयोगमा पठाइँदै थियो। त्यसमा असन्तुष्टि राख्ने म मात्रै थिएँ।’ 

व्यक्ति पिच्छे छलफल नगरी सहमति जनाउन नसक्ने आफूले कुरा राखेको उनले बताए। उनले भने, ‘उहाँहरूले महामन्त्रीसँग छलफल भएको छ भनेर गगनजीलाई देखाउनुभयो। सभापति र महामन्त्री बसेर गरेको सहमतिमा हस्ताक्षर गर्नेमा म परिनँ। उहाँले हामीले सल्लाह गरेका छौँ। त्यसलाई टुंगाउने पछि गरौँला भनेर भन्नुभयो।’ 

आफूले उपसभापति पूर्णबहादुर खड्कासँग कुरा गर्दा सिनियरलाई हेरेर अन्तिम नामावली टुंग्याउने आश्वासन दिए पनि पूरा नगरेको उनको भनाइ छ।

‘सभापति र महामन्त्रीको सल्लाह भएको छ। उपसभापतिको कुरा सुनेपछि मैले होला त भन्ठाने। तर, लिस्ट कस्को गएको भन्ने हिजो पत्रिकामा देखेपछि मात्रै थाहा पाएको हुँ’ उनको भनाइ छ। 

कुन आधारमा कसरी सूची पठाएको भन्ने थाहा नभएकाले आफूहरूले सहमतिपूर्ण निकासमा जोड दिएको उनले बताए। 

‘सहमतिका लागि सभापतिज्यूले वार्ताको प्रक्रिया अहिलेसम्म सुरू गर्नुभएको छैन। उहाँले शेखर-गगनजीहरूसँग बेग्लै कुरा गरेको भए मलाई थाहा छैन’ उनले भने, ‘यही अवस्थामा हामी चुनावमा जान सक्दैनौँ भन्ने कुरा प्रष्ट गरिसकेका छौँ।’

वेवास्ता गरे विद्रोह !

संस्थापन पक्षले सूची सच्याउन तयार नभए आफूहरूले विद्रोह गर्न बाध्य हुने उनले चेतावनी दिए। 

उनले भने, ‘बन्द सूची सच्चिएन भने हामी बाध्यात्मक रूपमा बाहिर बस्छौँ। कसरी के गर्नुपर्छ पछि निर्णय होला। बलजफ्ति गर्न खोजियो भने राम्रो परिणाम आउँदैन भनेर मैले सभापतिजीलाई बैठकमै स्पष्ट रूपमा भनिसकेको छु।’

आफूहरू बाहिर रहने परिस्थिती बने पार्टीलाई ठूलो असर गर्ने उनले बताए। 

पार्टीमा कुरा नमिले एमालेसँग सहकार्य गर्नेबारे छलफल चलेको हो? भन्ने प्रश्नमा उनले भने, ‘शेखर र ओलीजीको भेटबारे उहाँले औपचारिक रूपमा जानकारी गराउनुभएको छैन। उहाँले एमालेसँग तालमेलसम्म सोच्नुभएको छ जस्तो लाग्दैन।’

एउटा पार्टीको नेताले अर्को पार्टीको नेतासँग भेट गर्नु ठुलो कुरा नभएको उनको बुझाइ छ। 

‘बाध्यात्मक परिस्थिती बन्यो भने हाम्रो तर्फबाट कोही उम्मेदवार हुँदैन। हाम्रो मौन समर्थन हुँदैन। त्यस्तो अवस्थामा एमालेसँग तालमेल गर्नुपर्छ भन्ने पक्षमा म छैन’ उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.