|

कञ्चनपुर : लागुऔषधको कुलतबाट जोगाउनका लागि शुक्लाफाँटा नगरपालिका ४ का युवाले किशोर अवस्थाका बालकहरुलाई क्रिकेट प्रशिक्षणमा सहभागी गराएका छन्।

गलत संगतका कारण किशोर अवस्थाका बालकहरू लागुऔषधको कुलतमा फस्न थालेपछि कालिका युवाक्लबमा आबद्ध युवाहरुले विद्यालयपछिको समयमा क्रिकेट प्रशिक्षण दिन थालेका हुन्।

कक्षा ६ देखि १० सम्मका किशोरहरूलाई विद्यालयको कक्षापछि क्रिकेट प्रशिक्षण दिन थालिएको हो। क्रिकेटका राष्ट्रिय खेलाडी सुरज तिरुवाको पहलमा किशोरहरूलाई क्रिकेट प्रशिक्षण दिन थालिएको छ। सुरजले सुदूरपश्चिमको टिमबाट तीन पटक क्रिकेटको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन्।

प्रशिक्षणमा नगरपालिकाको १२ वटै वडाका ६० बढी किशोरहरू सहभागी भएका छन्। दैनिक विद्यालयको समयपछि किशोरहरूलाई प्रशिक्षण दिँदै आएको तिरुवाले बताए।

‘देखासिकी लागुऔषधको प्रयोग गर्नेमा किशोरहरूको संख्या अधिक रहेको छ’, तिरुवाले भने, ‘विद्यालय पछिको समयमा गलत संगतका कारण किशोरहरू लागुऔषधको प्रयोग गर्ने कार्यमा संलग्न हुने गरेको पाइएको छ, विद्यालय पछिको समयको सदुपयोग गरी विद्यार्थीलाई बेफुर्सदिलो बनाउन क्रिकेट प्रशिक्षण दिन थालेका हौँ।’

प्रशिक्षणका क्रममै लागुऔषधको प्रयोगले पुर्‍याउने हानीका बारेमा समेत सचेत पार्दै आएको उनले बताए। ‘किशोरहरू काँचो माटो भएकाले जुन बाटोतर्फ डोर्‍यायो त्यही तर्फ मोडिन सक्छन, क्रिकेट प्रशिक्षणमा सहभागीहरुलाई राष्ट्रिय, अन्तरराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको छ’ उनले भने।

नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयसँग समन्वय गरी प्रधानाध्यापकको राय सल्लाहमै प्रशिक्षणको कार्य अगाडि बढाइएको उनको भनाई रहेको छ।

प्रशिक्षणमा सहभागी किशोरहरूको समेत क्रिकेट प्रतिको क्रेज बढ्दो रुपमा रहेको छ। क्रिकेट सिक्ने उत्सुकता धेरैमा भएपनि सीमित साधन श्रोत र मैदानको अभावमा थोरैलाई मात्रै प्रशिक्षणमा सहभागी गराइएको प्रशिक्षणमा संलग्न तिरुवाको भनाई रहेको छ।

प्रशिक्षण गराउनका लागि क्लबले केही सहयोग गरेको छ। प्रशिक्षणमा सहभागी किशोरहरूलाई बलिङ, क्याचिङ, किपिङ, फिल्डिङ र ब्याटिङ गर्ने र अन्य आधारभूत कुराहरु प्रयोगात्मक रुपमा सिकाउन थालिएको छ। शारीरिक व्यायामसमेत गराउने कार्य भैरहेको छ।

‘सीमित साधन स्रोतमै किशोरहरूलाई प्रशिक्षण दिन थालेका छौँ’, तिरुवाले भने, ‘क्रिकेट खेल्नका लागि गतिलो मैदान छैन, पर्याप्त साधनस्रोत छैन, अभावै अभावमा प्रशिक्षणलाई अगाडि बढाएका छौँ।’ वडा अध्यक्ष कमल ठकुल्लाले क्रिकेटकै लागि रु ४० हजार बजेटको व्यवस्था गरिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.