|

काठमाडौं : रामेछापमा पितृ खुशी बनाउन भन्दै कुटपिट गरी एक महिलाको हत्या भएको छ। खाँडादेवी गाउँपालिका ३ सित्कास्थित माझी बस्तीकी ५० वर्षीय बिबी माझीको हत्या भएको हो भने उनकी ७० वर्षीया आमा सुनमाया गम्भीर घाइते भएकी छन्।

उनको मन्थली अस्पतालमा उपचार भइरहेको रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए। आइतबार बिहान सबेरै सोह्रश्राद्ध गर्ने क्रममा पितृ आएर काम्ने क्रममा आमा छोरीमाथि कुटपिट भएको उनले बताए।

माझी समुदायले पितृलाई घाटमा गएर बोलाउने परम्परा छ। सो समुदायले पितृ आएपछि परिवारका कुनै सदस्य काम्न थाल्ने विश्वास गर्ने गरेको डिएपी थिङले बताए। भोलिपल्ट आदर सत्कारसहित एक दिन पितृ पाल्ने र पर्सिपल्ट बिहानै घाटमा लगेर विधिपूर्वक पितृ नदीमा बगाएर सोह्रश्राद्ध सकिने विश्वास छ।

त्यसरी पितृ बगाउँदासमेत केही मानिसहरु काम्न नछाडेपछि मृतक बिबीकै कारण पितृ खुशी नभएको अनुमान लगाएर उनकै घरमा पुगेर आमाछोरीमाथि कुटपिट भएको हो।

घटनास्थल कब्जामा पारेर ७० वर्षीया सुनमायालाई कुटपिट गर्दै गरेको अवस्थामा उद्धारका लागि आसपासका बासिन्दा पुगे पनि उद्धार गर्न नसकेपछि प्रहरीलाई खबर गरेका प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आरोपमा सोधपुछका लागि २३ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरुले काम्दै गरेको अवस्थामा पितृले मारेको भन्दै आफूहरुलाइ केही याद नभएको बताएका डिएसपी थिङले बताए।

सांस्कृतिक नाममा भएको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.