|

काठमाडौं : दशरथ रंगशालामा मंगलबार हुने नेपाल र बंगलादेशबीचको खेलमा दुवै टिमले जित निकाल्ने विश्वास ब्यक्त गरेका छन्। अहिलेसम्म आपसमा १३ पटक आमुन्नेसामुन्ने भएका यी दुई देशबीचको अधिकांश भिडन्तमा बंगलादेश हावी भएको छ। 

तर पछिल्ला खेलमा नेपालले बंगलादेशलाई रोकिरहेको छ। पछिल्ला ३ खेलमा बंगलादेश जितविहीन रहेकाले उसका लागि मंगलबार आफ्नो बलियो विगतलाई कायम राख्नुपर्ने चुनौती रहेको छ।

मैदान उत्रनुअघिको प्रि-म्याच प्रेस कन्फ्रेन्समा बंगलादेशका स्पेनी प्रशिक्षक जाभियर काभ्रेराले नेपाली टिम बलियो रहेको भन्दै घरेलु मैदानको फाइदा नेपाललाई भए पनि बंगलादेशले टिम गेम खेल्ने बताए।

उनले नेपाली टिम घरेलु मैदानमा स्वाभाविक रुपमा राम्रो रहने भन्दै विपक्षीलाई सम्मान गर्दै मैदानमा उत्रने बताए। उनले बंगलादेशले आफूलाई सुधारेको र टिम तयारीले जित निकाल्ने विश्वास ब्यक्त गरे।

काभ्रेराले भने‚ ‘हामी घरेलु टिमलाई सम्मान गर्दै आफ्नो खेल खेल्छौं।’ उनले नेपाल र बंगलादेशको खेल सधैँ प्रतिस्पर्धात्मक हुने भन्दै बंगलादेश टिममा विश्वास गरेर मैदानमा उत्रने बताए।

बंगलादेशी कप्तान जमल भुयानले नेपालसँगको खेल सधैँ प्रतिस्पर्धात्मक हुने भन्दै यसअघि नेपालविरुद्ध भएका खराब प्रदर्शन सुधार्ने बताए। उनले नेपालसँग प्रतियोगितात्मक या मैत्रीपूर्ण सबै खेल प्रतिस्पर्धात्मक हुने भन्दै पूर्ण शक्तिका साथ मैदानमा उत्रिने बताए।

नेपाली टिमका प्रशिक्षक प्रदीप हुमागाईंले पहिलो पटक राष्ट्रिय टिम सम्हालेका भए पनि कुनै न कुनै रुपमा सबै नेपाली खेलाडीसँग नजिक रहेर प्रतिस्पर्धा गरेको बताए।

उनले भने‚ ‘यो खेल मेरो लागि मात्र होइन सिंगो नेपालकै लागि महत्वपूर्ण हो।’ उनले राष्ट्रिय टिमको प्रशिक्षक अहिले भए पनि नेपाली खेलाडीलाई आफूले धेरै पहिलाबाट नै चिनेको भन्दै आफूले आफ्नो तरिकाले खेलाडीलाई मैदानमा उतार्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.