|

बारा : जिल्लाको सिमरामा १५ शैय्याको सुविधासम्पन्न अस्पताल बन्ने भएको छ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गर्ने उद्देश्यसहित नेपाल सरकारका स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले शिलान्यास गरेका छन्। 

अस्पताल निर्माणका लागि काठमाडौंको एचपिसी कन्स्ट्रक्सनसँग उपमहानगरपालिकाले २० करोड ५५ लाखमा कार्य सम्झौता गरेको छ। दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने उद्देश्यले निर्माण सुरु गरिएको अस्पताल भवन करिब सात कठ्ठा क्षेत्रफलमा तयार गरिने इन्जिनियर अभयकान्त झाले बताए ।

उनका अनुसार सरकारको ससर्त अनुदान अन्तरगत २० करोड ५५ लाख ३७ हजार ३२८ रुपैयाँको लागत अनुमान गरिएको छ। उपमहानगरभित्र अस्पताल नहुदाँ प्रसुती सेवा लिन तथा सामान्य उपचारका लागि पनि स्थानीयवासी वीरगञ्ज, हेटौडा, भरतपुर र काठमाडौंसम्म धाउन बाध्य छन् । 

डिपिआर अनुसार  अस्पताल भवन ४ तल्लाको रहनेछ जसमा भुईँ तल्लामा ओ.पि.डि., इमर्जेन्सी, प्याथोलोजी, पहिलो तल्लामा प्रसुती गृह, दोस्रो तल्लामा बिरामी भर्ना, अपरेसन कक्ष र तेस्रो तल्लामा प्रशासनिक तथा बैठक कक्ष रहने इन्जिनियर झाले बताए। अस्पतालमा खाजा घर, सवारी पार्किङ, मनोरञ्जनका लागि पार्कको समेत व्यवस्था गरिएको छ ।

भवन निर्माण शिलान्यास भएसँगै उपमहानगरपालिकाले अस्पतालको सेवा प्राथमिक स्वास्थ्य केन्द्रको हालकै पूर्वाधार उपयोग गर्दै सुरु गर्ने भएको छ। जितपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले आवस्यक जनशक्ति समेत माग भईसकेको र एक महिनाभित्रमा सेवा सुरु गर्ने तयारीमा जुटेको बताए।

उपमहानगरपालिकाले एमडिजीपी उपाधि प्राप्त एक चिकित्सकसहित, तीन मेडिकल अधिकृत, तीन स्टाफ नर्स, एक एनेस्थेसिया र फार्मेसी सहायक गरी ९ जना जनशक्ति माग गरेको छ। नगर प्रमुख पौडेलले उपमहानगरपालिकाकै स्रोतमा प्राथमिक स्वास्थ्य केन्द्रको पूर्वाधारबाट तत्काल सेवा सुरु गरिने भएकोले यथाशिघ्र दरबन्दी कायम गरिदिन मन्त्री खापुङको ध्यानाकर्षण गराएका थिए ।

उपमहानगरपालिकाले यसै वर्षदेखि मिर्गौलाको डायलासिस सेवा समेत सुरु गर्ने तयारी गरिरहेको छ।

उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रवि भास्करका अनुसार एक महिनाभित्र अस्पतालको सेवा सुरु गर्ने र एक वर्षमा डायलासिस सेवा सुरु गर्ने लक्ष्य रहेको बताए । 

प्रत्येक स्थानीय तहमा एक अस्पताल निर्माण गर्ने संघीय सरकारको अवधारणा अनुरुप निवर्तमान नगर प्रमुख डा. कृष्ण पौडेल नेतृत्वमा रहँदा उपमहानगरपालिकाले अस्पतालको टेण्डर आव्हान गरेको थियो। उक्त टेण्डर स्वीकृत गर्दै वर्तमान नगर प्रमुख पौडेलले अस्पताल निर्माणको काम अघि बढाएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.