|

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म प्रेम गीत ३ ले उत्साहजनक कमाइ गरिरहेको छ। नेपाली र हिन्दी भाषामा विश्वका ४० बढी देशमा एकसाथ प्रदर्शनमा आएको फिल्मले सुरुको तीन दिनमै १५ करोड माथिको कमाइ गरिसकेको छ।

दशैँको छेको पारेर प्रदर्शनमा आएको फिल्म यतिवेला हलमा सबैभन्दा बढी अकुपेन्सीका साथ प्रदर्शनमा आइरहेको छ। दशैँ बिदामा फिल्म हेर्न धेरै दर्शक हल पुग्ने र दशैँमा प्रदर्शनमा आएका फिल्मले व्यापारिक सफलता पाउने सम्भावना बढी भएका कारण दशैँ आसपासको मितिमा आफ्नो फिल्म लगाउने चाहना जो कोही निर्माताको हुन्छ। यो दशैँको छेको पारेर प्रेम गीत ३ बाहेक दुई वटा नेपाली फिल्म र दुई वटा हिन्दी फिल्म प्रदर्शनको तयारीमा छन्।

गत शुक्रबार एकल प्रदर्शन पाएको प्रेम गीत ३ को दोस्रो शुक्रबार नै अवरोध बनेर तीन वटा फिल्म आउँदैछन्। जसमा एउटा नेपाली फिल्म र दुई वटा बहुप्रतीक्षित भारतीय फिल्म रहेका छन्।

सुरेन्द्र पौडेलको निर्देशनमा बनेको फिल्म बाबरी आगामी शुक्रबार अर्थात असोज १४ गतेदेखि प्रदर्शनमा आउँदैछ। यस वर्षको प्रतीक्षित फिल्म मध्ये गनिएको बाबरीमा धीरज मगर, अदिति बुढाथोकी र धीरज नाडकरको मुख्य भूमिका रहेको छ। त्रिकोणात्मक प्रेम कथामा बनेको फिल्मको ट्रेलर तथा गीतले राम्रो हाइप बनाइरहेको छ। जसकारण विदेश राइट्स माग तीव्र भएको छ।​

धीरज मगर र अदिति बुढाथोकीको यो दोस्रो फिल्म हो। यसअघि धीरज इन्टु मिन्टु लण्डनमा देखिएका थिए भने अदितिको पहिलो फिल्म कृ थियो। त्यस्तै धीरज नाडकर बाबरीबाट फिल्ममा डेब्यु गर्दैछन्। उनी चर्चित अभिनेत्री तृप्ती नाडकरका छोरा हुन्।

गायत्री पुष्करको निर्देशनमा बनेको विक्रम वेधा पनि शुक्रबारदेखि नै प्रदर्शनमा आउँदैछ। जसलाई यस वर्षको बहुप्रतीक्षित बलिउड फिल्म मानिएको छ। हृतिक रोशन, सेफ अलि खान र राधिका आप्टेको मुख्य भूमिका रहेको एक्सन थ्रीलर फिल्म सोही नामको तामिल फिल्मको हिन्दी रिमेक हो।

१ सय ७५ करोड भारु बजेट रहेको फिल्मले बक्स अफिसमा ठूलो हलचल ल्याउने अनुमान गरिएको छ। तर, विक्रम वेधाको लागि अवरोध बनेर अर्को बिग बजेट तामिल फिल्म पोनियिन सेल्भानः भाग एक (पिएसः वान) उभिएको छ।

मणि रत्नमको निर्देशनमा बनेको पिरियड एक्सन ड्रामा पिएसः वानको बजेट ५ सय करोड भारु बताइएको छ। जुन भारतीय फिल्म इतिहासकै सर्वाधिक महँगो फिल्मको सूचीमा दोस्रो नम्बरमा रहेको छ। फिल्ममा विक्रम, ऐश्वर्या राय बच्चन, त्रिशा किसन लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

त्यस्तै दशैँको पर्सिपल्ट अर्थात असोज २१ गतेदेखि अर्को नेपाली फिल्म २ नम्बरीले प्रदर्शन थाल्दैछ। दीपेन्द्र लामाको निर्देशनमा बनेको ड्रामा रोमान्स कमेडी फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। सौगात र दयाहाङ मुख्य भूमिकामा देखिएको कबड्डी ४ गत जेठमा प्रदर्शनमा आएको थियो।

यतिवेला प्रदर्शनरत प्रेम गीत ३, ऐना झ्यालको पुतली, अवतार लगायतका फिल्म पनि हलमा टिकिरहे भने दर्शकले यो दशैँमा फरक फरक स्वादका स्वदेशी तथा विदेशी स्वादका फिल्म हेर्न पाउनेछन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.