सल्यान : विगतमा कुलो सफाइ, पाटीपौवा निर्माण, गोरेटो बाटो मर्मत, स्कुल भवन सरसफाइ जस्ता काम जन श्रमदानबाट हुँदै आएका थिए।
दुई दशक अघिसम्म गाउँका गोरेटो, घोडेटो बाटो, चौतारा, पानी धारा चाडपर्वको पूर्वसन्ध्यामा सफाइ गरेर चिरिच्याट्ट बनाइन्थ्यो। टोलवासीहरुलाई सफा गर्ने काम लगाइन्थ्यो। प्रत्येक घरका प्रतिनिधि हँसिया, खुर्पा, झ्याम्पल, कोदालो लिएर आउँथे। जसले गाउँले बीचको आपसी माया, सद्भाव पनि झल्किन्थ्यो।
तर पछिल्लो समय मानिस दिनभर घरमा बस्छन्, कोही लुँडो खेल्छन, कोही त्यतिकै डुली हिँड्छन् तर आफ्नै घर अगाडिको बाटो सफा गर्दैनन्।
हरेक कार्यमा व्यापारीकरण हुँदै गएकाले श्रमदानप्रतिको लगाव हट्दै गएको स्थानीय आइतु रावतको भनाई छ। उनले भने, 'गाउँका धेरै विदेशमा छन्। भएका युवाहरु पनि सामाजिक कार्यतर्फ चासो राख्दैनन् बरु मोबाइल, लुँडो खेलेर दिन कटाउँछन्।'
कामै नभएर घरमा बसिरहँदा पनि श्रमदानप्रति स्थानीयमा इच्छा नदेखिएको बनगाड कुपिण्डे नगरपालिका ९ का वडाध्यक्ष रुद्र बहादुर परियारको अनुभव छ।
विगतको सहभागिता र अपनत्वबोध हराउँदै जान थालेको उनको भनाई छ। उनले भने, 'अहिले त गाउँको बाटो सफा गरौँ भन्योभने कति पैसा दिन्छन्, भन्छन्। वडा, नगरपालिकाबाट बजेट ल्याएर ल्याउनु नि भन्छन्।'
सार्वजनिक हितका काममा हात बढाउने समुदायको संख्या निकै कम हुँदै गइरहेको परियारको भनाई छ। आपसी सहयोग साटासाट तथा सद्भाव झल्काउने जन श्रमदान गर्ने मौलिकता हराउँदै जान थालेपछि गाउँका सबैको छलफल पछि पुनः जन श्रमदानलाई जोड दिन थालेको बनगाड कुपिण्डे नगरपालिका ९ का कमल डाँगीले बताए।
पहिला बाटो, धारा, चौतारा सफा गथ्र्यौँ, चाडपर्वका बेला गाउँघर हेरौँ हेरौँ लाग्ने खालका हुन्थे तर अहिले त्यो देख्न पाइँदैन। पुरानो मौलिकता र संस्कृतिलाई संरक्षण र जगेर्ना गर्न सार्वजनिक स्थलहरु सरसफाईमा जुटेको डाँगीको भनाई छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।