‘राष्ट्रपतिबाट संविधानको आधारभूत मूल्य मान्यतामा प्रहार भयो’

|

काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता व्यवहारिक नभएको बताएको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रवक्ता प्रकाशशरण महतले निर्वाचन आयोगले यसपटक जारी गरेको आचारसंहिता अव्यवहारिक भएको टिप्पणी गरेका हुन्।

उनले भने, ‘गठबन्धनका दलहरूसहित प्रतिपक्षी दलले समेत प्रधानमन्त्री र मन्त्रीहरूले प्रचारमा जान नपाउने प्रावधान व्यवहारिक भएन भनिरहेका छन्। प्रधानमन्त्री देशको कार्यकारी प्रमुख भएकोले उहाँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उहाँका दैनिक भ्रमण हुने गर्दछन्। प्रधानमन्त्री हाम्रो पार्टीको पनि सभापति हुनुहुन्छ, मन्त्रीहरू पनि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा हुनुभएको हुँदा आफ्नो पार्टीका पक्षमा जनमत बनाउन हिँड्न नपाउने भन्ने कुरा व्यवहारिक छैन।’

निर्वाचन आयोगले अन्तर्राष्ट्रिय अभ्यासहरूलाई समेत हेरेर लचिलो बनाउने हुने विश्वास व्यक्त गरे। उनले नेताहरूलाई गृह जिल्लाको निर्वाचन क्षेत्रमा फर्केर आ-आफनो क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई अत्याधिक बहुमतले जिताउन र समानुपातिकमा सकेसम्म बढी मतदान गराउने माहोल बनाउन आग्रह गरे।

‘जसरी हामीले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई अधिक स्थानमा विजयी गराउन सक्यौँ, त्यसरी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पनि अधिक स्थान हाँसिल गरी नेपाली कांग्रेसको नेतृत्वमा संघदेखि प्रदेशसम्म सरकार बनाउन सकिने अवस्था विद्यमान छ’ उनको भनाइ छ।

यस्तै, उनले संसदको दुवै सदनबाट दुई/दुई पटक पारित भएको नागरिकता विधेयक संविधानमा उल्लेखित समयावधिमा प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधानको उल्लंघन भएको दाबी गरे।

उनले भने, ‘राष्ट्रपतिको यो कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तान नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित भएका छन् भने अर्कोतिर संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य मान्यतामा गम्भीर प्रहार भएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.