|

गुल्मी : गुल्मीमा दशैँ तिहार जस्ता महान पर्वहरू आउँदासमेत बजार अनुगमन गर्ने र त्यसको नियन्त्रण गर्ने सरोकारवालाहरु भने मौन छन्। विगतका वर्षहरुमा अन्य समयमा बजार अनुगमन नभए पनि चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन हुने गर्दथे।

तर, यस समयमा भने जिल्ला प्रशासन, उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता संरक्षण मञ्च लगायतका सारेकारवाला निकायहरु भने कानमा तेल राखेर बसेका छन्।

जिल्ला सदरमुकाम तम्घासबाट पश्चिम क्षेत्रका मुसिकोट नगरपालिका सहित पाँच स्थानीय तहमा गाडीका गाडी खाद्य सामग्रीहरु जान्छन्। ती गएका सवारीहरूमा म्याद गएका खाद्य सामग्री र चाडपर्वको मौका छोपी चर्को मूल्यमा गएको हुनसक्ने भएपनि सरोकारवालाहरुको ध्यान नजानु दुःखद भएको गुल्मीका स्थानीयहरुले जनाएका छन्।

जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजार अनुगमन तथा कालोबजारी नियन्त्रण गर्ने अधिकार भएपनि अहिलेसम्म प्रशासन कानमै तेल राखेर बसेको छ। स्थानीय तहलाई पनि आफनो कार्यक्षेत्रभित्र बजार अनुगमन गर्ने अधिकार भएपनि उनीहरुले खासै चासो देखाएको पाइएको छैन।

गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष ताराप्रसाद भुसालले आफूहरुको बजार अनुगमन गर्ने क्षेत्र नभए पनि जिल्ला प्रशासन र स्थानीय तहले गर्ने बजार अनुगमनमा सहजीकरण गर्नका लागि आफूहरु सधैँ तयार रहेको उल्लेख गरे।

पहिले कर्मकाण्डी अहिले त्यो पनि भएन : नागरिक समाज

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले पहिले देखावटी र कर्मकाण्डी जस्तो बजार अनुगमन गरिने भएपनि अहिले कर्मकाण्डी पनि नभएकोमा दुःख व्यक्त गरे।

तम्घास बजारबाट चाडपर्वको समयमा थुप्रै अखाद्य पदार्थहरु गाउँमा जाने र सोही समय छोपी कालोबजारीसमेत हुन सक्ने समयमा जनताप्रति सरोकारवाला निकाय मौन रहनु दुःखद भएको उनको भनाई छ।

सदरमुकामको रेसुंगा नगरपालिका पनि मस्त निद्रामा

सदरमुकाम तम्घासमा रहेको रेसुंगा नगरपालिका पनि मस्त निद्रामा रहेको छ। सदरमुकाममै रहेको नगरपालिकाले पनि बजार अनुगमनमा चेस्टा नदिँदा ग्रामीण भेगमा रहेका अन्य स्थानीय तहमा झनै के भएको होला भनेर स्थानीयहरुले आशंका व्यक्त गर्न थालेका छन्।

रेसुंगा नगरपालिकाको कार्यक्षेत्रभित्र रहने तम्घासमा पनि बजार अनुगमन किन नभएको भनेर नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमसँग जिज्ञासा राख्दा  केही दिनमै बजार अनुगमन गर्ने तयारीमा रहेको बताए।

जिल्लाको इश्मा, रुरुक्षेत्र र चन्द्रकोट गाउँपालिकाले भने केही दिन अगाडि देखि बजार अनुगमनलाई तीव्रता दिएका छन्।

जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने अधिकार कसैलाई छैन : जिल्ला प्रशासन

यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आफूहरु कानमै तेल राखेर भने नबसेको दाबी गरे। उनले केही दिनमै जिल्लाको सदरमुकाम तम्घास र जिल्लाका मुख्य बजारहरुमा बजार अनुगमन गर्ने गरी योजना बनाएको बताए।

जनताको स्वास्थ्यमा खेलबाड गर्ने अधिकार र कालो बजारी गर्ने अधिकार कसैलाई नभएको भन्दै त्यस्तो पाइए कानुन अनुसारको कारबाही गरेरै छाड्ने उनले चेतावनी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.