‘समन्वय गरेर मात्रै बिदा दिनु राम्रो’

|

काठमाडौं : देशभरका अधिकांश सामुदायिक विद्यालयले वडा दशैँ र तिहार मनाउन विद्यार्थीहरूलाई करिब एक महिना बिदा दिएको छ। यो बिदाले अभिभावकहरू दशैँमा गएपछि तिहारसम्म बस्न पाउँछन्। विद्यार्थीहरू पनि आनन्दले दशैँ र तिहार मनाउन पाउने छन्।

तर निजी विद्यालय भने छोटो अर्थात दशैँको मात्रै बिदा दिँदा गाउँ गएका अभिभावकहरू आफ्ना छोराछोरी लिएर काठमाडौं आउनुपर्ने बाध्यता भएको छ। पुनः तिहार मनाउन गाउँ नै जाँदा आउजाउमा आर्थिक भार थपिएको छ। 

नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारी पनि छोटो समय मात्रै दिइएको बिदाले अभिभावकहरूलाई समस्या पर्ने बताउँछन्। उनी भन्छन्,‘दशैँको बेला टाढाका मान्छेहरू छोराछोरी लिएर जान्छन्,तर दशैँ पछि स्कुल लाग्ने हुँदा फेरी आउनुपर्छ,यो समस्या भने अभिभावकहरूलाई छ।’

उनका अनुसार पहिला निजी र सामुदायिक विद्यालयमै दशैँ र तिहारको एकमुष्ट बिदा दिने गरिएको थियो। जसले गर्दा सहज मिलेको थियो। ‘तर,अहिले यो प्रणाली हटेको छ,’उनले भने। 

‘समन्वय गरेर बिदा दिनु राम्रो’

अभिभावक महासंघका अध्यक्ष भण्डारीले यो बिदाको विषयमा छलफल गरेरमात्र विद्यालयले बिदाबारे निर्णय गर्नु राम्रो हुने सुझाए। ‘३६५ दिनमा पाठ्यक्रममा २२० दिन पढाउनुपर्छ भन्ने छ,यो हिसाबले समय पुर्‍याउन धेरै बिदा दिनु पनि राम्रो भने होइन,तर,सामुदायिक र निजीमा एकीकृत रुपमा बिदा छैन,’उनले भने।

उनले यस विषयमा स्थानीय तह, अभिभावक र विद्यालयको छलफल पश्चात बिदाको निर्णय गर्नु उत्तम हुने बताए। ‘बिदा कति दिन दिने भन्नेमा पहिलै विद्यालय सञ्चालक,अभिभावक र स्थानीय तहको समन्वयमा छलफल गरेर निर्णय लिँदा राम्रो हुन्छ’, उनले भने,‘यसो गर्दा अभिभावकहरूलाई पनि सहज हुन्छ,पढाईमा पनि प्रभाव पर्दैन।’

यसो भन्छ प्याब्सन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय महासचिव आरबी कटुवाल दशैँ र तिहारको एकैपटक बिदा दिन माग गर्ने २५ प्रतिशतमात्रै अभिभावकहरू रहेको बताउँछन्। उनले भने,‘एकै पटक बिदा दिनुपर्छ भन्ने २५ प्रतिशतमात्रै अभिभावक छन,अरु त शनिबारको दिन पढाइदिनु भन्ने छन्।’ 

उनका अनुसार शहरमा बसेका अधिकांश अभिभावकहरू जीवनयापनका लागि कुनै न कुनै पेसा,व्यवसाय,जागिरमा आवद्ध हुन्छ्न्। त्यही कारण काममा जानका लागि पनि छोराछोरी विद्यालयमा पठाउने गर्छन्। ‘यसो गर्दा घरमा बसेर छोराछोरी हेर्न पनि पर्दैन,उनीहरू स्कुलमा हुन्छन,अभिभावक काम सहज रुपमा गर्न पाउँछन्,’उनले भने।

कोभिड-१९ का कारण शैक्षिक सत्रमा क्षति पुगेको र त्यसलाई पूर्ति गर्न पनि थोरै समय मात्रै बिदा दिइएको उनको तर्क छ। ‘हामी अभिभावकहरूसँग छलफल गछौँ,सबै अभिभावकहरूको सहमति भए अब अर्को वर्ष दशैँ तिहार एकै पटक बिदा दिने निर्णय गर्नै छौँ,’उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.