घण्टौं जाम, डिभिजन सडक मौन

|

काठमाडौं :  कहिले माटो थुपारिन्छ,कहिले केही कामदार आएर काम गरेजस्तो गरेको देखिन्छ। पुल बेसमा माटोको चुली छ। त्यही गाडी पार्किङ गरिएको छ।

यो दृश्य जो कोही हिँड्डुल गर्नेहरुले अनामनगरको मदन भण्डारी मेमोरियल कलेज अगाडी धोबीखोलामा निर्माणाधीन पुलको देख्न सक्छन्। यो पुल बनेको ७ वर्ष भइसकेको छ। तर,न निर्माण सकिएको छ। न ठेकेदारले दैनिक काम नै गर्दै आएको छ। 

उक्त पुल निर्माणका लागि २०७२ साउन २१ मा सडक डिभिजन कार्यालय काठमाडौं र भण्डार थोडुङ–जि टेक जेभीबिच तीन करोड १० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०७३ माघमा पुल निर्माण सक्नुपर्ने थियो।

तर,सम्झौता भएको दुई वर्षपछि अर्थात् २०७४ सालसम्ममा खोला वारिपारि दुई पिलर मात्र ठडियो। त्यही सालदेखि काम रोकियो। अलपत्र परेको तीन वर्षपछि २०७७ मंसिरदेखि पुनः काम सुरु भयो। तर, गलत डिजाइन भएपछि ती ठडिएको पिलर भत्काइयो। 

                                                                                            निर्माणाधीन धाेबीखाेला पुल

६ वर्षको अवधिमा करिब १२ मिटर लम्बाईको उक्त पुलमा बल्ल स्ल्याब र रेलिङ राखियो। तर, सडकको सतह र पुल तह पुन मिलेन। त्यही कारण २०७८ माघ महिनामा धोबीखोला करिडोरको पक्की सडक ढलान सबै उप्काइयो। अहिले पुलको वारिपारी स्ल्याबमा चढ्ने थोरै मात्रामा ढलान भएको छ। त्यसपछि केही काम भएको छैन्।

घण्टाैं जाम,तर डिभिजन सडक मौन

यही असोज ५ गते अन्तबाट माटो ल्याएर त्यहाँ थुपारियो। तर सम्याइएन। जसकारण करिडोरमा सवारीसाधन छिर्न सकस पर्‍याे। घण्टौंसम्म यात्रुहरु गन्तव्यमा पुग्न सकेनन्। जाममा फसेका चावहिलका  लक्ष्मण अधिकारीले गुनासो पोखे,‘करिडोरको बाटो त छिटो हुन्छ भनेर हिडिन्छ, तर घण्टौँ जाममा फसिन्छ,हैन यसरी चाही किन पुल अलपत्र पारेर सास्ती दिने काम भयो?’

उनले यतिका वर्षसम्म संरचना निर्माणमा चरम लापरबाही हुँदा पनि सरकार कानमा तेल हालेर बसेको भन्दै आक्रोश पोखे। उक्त बेला ट्राफिक प्रहरीको सहायताले जाम व्यवस्थापन भएको थियो। त्यसपश्चात बल्ल ती थुपारिएको माटो सम्याइएको छ। तर,पानी परेकाले त्यही सवारीसाधन दुर्घटनामा पर्ने गरेको छ। तर, सडक डिभिजन कार्यालय काठमाडौं मौन छ।

स्थानीय भन्छन्: पुल बनाउन नसक्ने भए,भत्काउनु

वर्षौदेखि पुल अलपत्र पार्दा झनै स्थानीय हैरानी खेप्न बाध्य छन्। पुलको प्रसंग निकाल्दा साथ अनामनगरकी रिता कुमारी श्रेष्ठले भनिन्,‘यो पुलको निर्माण अवस्था देखेर वाक्क लागिसक्यो,काम नै ठेकेदारले गर्दैनन्,कहिले भत्काउँछ,कहिले माटो ल्याउँछ, यसरी नै वर्षौं  कट्यो, बनाउन सकेनन् भने किन बनाउनु पर्‍याे?’ 

उनले समयमा पुल नबन्दा धेरै समस्याहरु खडा भएको भन्दै बनाउन नसके भत्काएर करिडोरको बाटोलाई सहज बनाउन माग गरिन्। उनका अनुसार त्यहाँ ल्याइएका संरचना निर्माण सामग्री खोलामा खस्दा खोला थुनिएर बाढी बस्तीमा पस्ने डर छ।

                                                                       धाेबीखाेला पुलका कारण भएकाे सवारी जाम

यसो भन्छ डिभिजन सडक

सडक डिभिजन कार्यालय काठमाडौंका सूचना अधिकारी सुनीत केसीले पुलको सबै काम सकिएको र पीच मात्रै गर्न बाँकी रहेको तर्क गरे। उनले भने,‘मैले नै त्यहाँ माटो हाल्न लगाएका हुँ,अहिले सम्याइ सकिएकाले जाम नहोला,अब पुलको वारपार मात्रै सडक र पुलको सतह मिलाएर पीच गर्न बाँकी छ।’  उनले यो महिनासम्ममा सबै पुलको काम सम्पन्न गर्ने दाबी गरे।
(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.