|

पर्वत : पर्वत अस्पतालमा कार्यरत कर्मचारीहरू सोमबार आपसमा कुराकानी गरिरहेका थिए, ‘डेंगुका बिरामी झन् झन् बढ्ने देखिएको छ। अब त ल्याबमा चारवटा जति मात्रै छन् क्यारे किट पनि। बिरामी आएर डेंगु जाँच्नुपर्ने भयो भने के गर्ने होला?’

कुनै बेलामा ‘रिफर सेन्टर’ को ‘ट्याग’ लागेको अस्पतालले पछिल्लो समय स्वास्थ्य सेवामा गरेको उल्लेखनीय प्रगतिले अस्पतालमा बिरामीको भीड लाग्ने गरेको छ। सामान्य चोट लागेका बिरामीलाई समेत पोखरा ‘रिफर’ गर्नुपर्ने अवस्था पार गरेर आएको पर्वत अस्पतालमा अहिले शल्यक्रिया नै दैनिकजसो हुने गरेका छन्।

जटिल अवस्थाका गर्भवती, हाइड्रोक्सिल, हर्नियाँ लगायतका शल्यक्रिया नयाँ र आधुनिक भवनबाट उपचार दिइरहँदा अस्पतालमा भने डेंगु हो होइन भनी परीक्षण गर्ने किट नै नभएको अवस्था छ।

अस्पतालमा किट अभाव भएकोबारे सोध्दा अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिना अधिकारीले आफूहरूले नै खरिद गरेर ल्याएको दुई सय किट परीक्षणको क्रममा सकिएकाले अहिले किट नभएको बताइन्।

‘अस्पताल विकास समितिबाट निर्णय गराएर हामी आफैंले किट खरिद गरेर परीक्षण गर्दै आएका थियौँ। हामीले ल्याएको दुई सय किट सकिन लागेपछि फेरि दुई सय किट अर्डर गरेका छौँ,’ उनले भनिन्, ‘अन्य अस्पतालमा जुन दरमा डेंगुको परीक्षण भइरहेको छ त्यसरी नै सेवा दिने भनेर एक जनाको परीक्षणको ८ सय रुपैयाँ मात्र लिएका छौँ। अर्डर गरेको किट आएपछि परीक्षणमा समस्या हुँदैन।’

डा. अधिकारीका अनुसार केही समय पहिलेसम्म अस्पताललाई आवश्यक परेका सामग्रीहरू प्रदेश आपूर्तिले जिल्लामा रहेको स्वास्थ्य कार्यालयलाई दिएर, स्वास्थ्य कार्यालयले पर्वत अस्पतालसहित जिल्लाका अन्य ठाउँमा रहेका स्वास्थ्य संस्थाहरूलाई उपलब्ध गराउने गरेको थियो।

तर अहिले त्यो नियम परिवर्तन गरेर स्वास्थ्यले वितरण नगरी प्रदेश आपूर्तिले प्रदेश ल्याबलाई र प्रदेश ल्याबले जिल्लामा रहेका अस्पतालहरूलाई सामग्री उपलब्ध गराउने नियम छ।

यही नियमका कारण स्वास्थ्य कार्यालयले अस्पताललाई परीक्षण किट उपलब्ध गराउन नसक्ने स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले बताए।

अहिले डेंगुको प्रभाव बढ्दै गइरहेको बेलामा नागरिकले पाउने स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित हुनुपर्ने उनको भनाई छ। स्वास्थ्य सामग्रीहरू स्वास्थ्य कार्यालयमा नआउने भएकाले माथिबाट आउँछ कि आउँदैन भनेर पर्खिएर बस्नुभन्दा जिल्लाका सबै स्थानीय तहहरूले नै नागरिकको आधारभूत स्वास्थ्यको जिम्मेवारी लिनुपर्ने उनको भनाई छ।

‘आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको मौलिक हक हो। यो हक सुनिश्चित गर्ने प्राथमिक जिम्मेवारी स्थानीय सरकारको हो। पुरानो संस्कारमा केन्द्रीय आपूर्तिबाट सामग्रीहरू पठाइदिने अनि बल्ल टेस्ट हुन्थ्यो,’ पौडेलले भने, ‘केन्द्र र प्रदेश सरकारबाट किट सप्लाई होला र अनि जाँचेर उपचार शुरु गरौँला भन्ने बुझाई भएको जस्तो लाग्यो। आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने उहाँहरूले हो। योबाहेक कुनै पेन्डामिक वा विशिष्टीकृत सेवा दिने कामका लागि हामी हाम्रो क्षमताअनुसार काम गर्छौं नै।’

परीक्षण किट ठूलो परिमाणमा किन्नुपर्ने भएकाले प्रदेश आपूर्ति टेन्डरको प्रक्रियामा जानुपर्ने र यही बेलामा आर्थिक वर्ष परिवर्तनपछिको समय रहेकाले अलि अभाव रहेको कुरा आफूले बुझेको अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले बताए।

तर माथिबाट किट नआएको बहानामा बिरामीहरूलाई निजी वा जिल्लाबाहिरका महँगा अस्पतालहरूमा जान बाध्य नपार्नका लागि फरक शीर्षकको रकमबाट किट ल्याएर भए पनि काम चलाइएको उनको भनाई छ।

‘बिरामीलाई समस्या हुनु त भएन नि भनेर अस्पताल आफैंले खरिद गरेर किट ल्याएको छ। त्यो किटको खर्च हामीले बिरामीसँगबाट लिने गरेका छौँ। हामीले एक जनाको परीक्षणमा ८ सय रुपैयाँ लिएका छौँ, यो बिमाले दिने दर हो,’ अध्यक्ष गिरीले भने, ‘डेंगु हो होइन भनेर छुट्याउन बिरामीहरू पोखराकै निजी अस्पतालमा जानुपर्ने अवस्था आयो, जसको खर्च धेरै आउँछ। यसैले केही रकमलाई सारेर किट ल्याएका छौँ। अब प्रदेश प्रयोगशालाले दिन थालेपछि हामीले खरिद गर्नु पर्दैन र बिरामीहरूले पनि त्यो ८ सय रुपैयाँ तिर्नु पर्दैन। प्रयोगशालाले नदिने बेलासम्म हामीलाई निकै कठिन भइरहेको छ।’

पर्वत अस्पतालले ८ सय रुपैयाँमा डेंगुको परीक्षण गरिरहेको बेलामा बजारमा रहेका निजी स्वास्थ्य संस्थाहरूले भने १२ सय वा त्यसभन्दा बढी रकम लिने गरेका छन्। एकै प्रकारको किटबाट परीक्षण गरेको भए पनि मूल्य भने कम्तीमा पनि पर्वत अस्पतालको भन्दा ४ सय रुपैयाँभन्दा बढी लिने गरेको परीक्षणमा गएकाहरू बताउँछन्।

जिल्ला प्रशासन कार्यालय पर्वतमा केही दिन पहिले भएको एउटा बैठकमा निजी स्वास्थ्य संस्थाले ८ सयमा नै परीक्षण गर्न सकिने भए पनि १२ सय लिने गरेको कुरा उठेको थियो। उक्त बैठकमा बजारको अनुगमनको क्रममा किट परीक्षणलाई पनि ध्यानपूर्वक हेर्ने भनिएको थियो।

पर्वत अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. अधिकारीका अनुसार अहिलेसम्म पर्वत अस्पताल परीक्षणमा आएकामध्ये ३५ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ।

निजी तथा जिल्लाका अन्य क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरूमा भएको पुष्टिको तथ्याङ्क अस्पतालसँग नहुने भएकाले डेंगुका बिरामीको वास्तविक संख्या धेरै रहेको हुनसक्ने उनले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.