|

काठमाडौं : स्थानीय तहहरुले दशैँको मुखमा तलब नदिएको शिक्षक, कर्मचारीहरुले गुनासो गरेका छन्। नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीका अनुसार चार महिनादेखि शिक्षकहरुले तलब सुविधा पाएका छैनन्।

महासंघका महासचिव सुवेदीले महान चाड दशैँको बेला पनि अधिकांश स्थानीय तहले तलब नदिएको बताए। उनले भने, ‘म सँग कति शिक्षक, कर्मचारीले तलब पाएनन् भन्ने यकिन तथ्यांक चाहीँ छैन तर धेरै साथीहरुले तलब नपाएको गुनासो हामीकहाँ गरेका छन्।’

गोकर्णेश्वर नगरपालिका वडा-४ स्थित गोकर्ण माध्यमिक विद्यालयका शिक्षक पुष्पराज भण्डारीले पनि गुनासाे आएको भन्दै तलब दिन माग गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दशैँको लागि विद्यालयहरु बिदा भइसक्यो तर ७५३ तहका सरकारहरु मध्ये धेरैले शिक्षकहरुको साउन महिनादेखिको तलब निकासा आजसम्म पनि नगरेको कुरा सामाजिक सञ्जालमा आइरहेको छ।’

उनले संघीय सरकारले निकासा गरेको तलब पनि विद्यालयमा पठाउन नसक्ने सरकार प्रमुखहरुले सामुदायिक विद्यालय सुधार गर्न नसक्ने बताए। ‘निकासा गरेको तलब पनि विद्यालयमा पठाउन नसक्ने सरकार प्रमुखहरुले विद्यालय सुधारमा के चाहीँ काम गर्लान खोई ? आफ्नै स्थानीय स्रोतबाट तलब खुवाउनु पर्‍याे भने के गर्लान ?,’ उनले भनेका छन्।

तत्काल तलब उपलब्ध गराउन माग

शिक्षक महासंघले तत्काल तलब सुविधा उपलब्ध गराउन माग गरेको छ। ‘शिक्षकहरुलाई तलब दिन साह्रै ढिलासुस्ती भएको छ, यो भने सरकारको गैर जिम्मेवारपन हो, अन्याय गरिएको हो, दशैँको बेला हाम्रा नि परिवार छन्, तत्काल तलब सुविधा दिइयोस्,’ उनले भने। उनका अनुसार अहिले मात्र नभई स्थानीय तहले सधैँ यसरी नै समयमा तलब नदिएर मारमा शिक्षकहरुलाई पार्ने गरेको छन्।​

‘केन्द्र सरकारबाटै तलब दिने व्यवस्था गर्नुपर्छ’

शिक्षक महासंघका अध्यक्ष कमला तुलाधर स्थानीय सरकारबाट समयमा तलब नदिइएको भन्दै अब केन्द्र सरकारबाटै दिइने व्यवस्था हुनुपर्ने माग गर्दै आएको बताइन्।

‘कोभिड-१९ महामारीमा पनि शिक्षकहरुलाई निष्कासन गरियो, केही विद्यालयले आधा मात्र तलब दिए, स्थानीय तहले समयमा तलब दिदैँन, केन्द्र सरकारबाटै दिने व्यवस्था गर्न माग गर्दा पनि केही सरकारले गरेन,’ उनले भनिन्। शिक्षकहरुलाई पनि निजामति सरह सेवा सुविधा पाउनुपर्ने माग गरिरहेको उनले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.