|

बागलुङ : अघि–अघि काला सेता रंगका भेडा। हातमा लौरो, शिरमा टालेको टोपी र शरीरमा पसिनाले निथ्रुक्क कपडा लगाएका दुईजना बागलुङ बजारको उपल्लाचौरमा भेटिए।

उनीहरू थिए रोल्पाको सुनछहारी गाउँपालिका–३ का नन्दबहादुर बुढा मगर र तीर्थबहादुर बुढा मगर। साइनोले उनीहरू काका-भतिजा हुन्। १४ दिन अगाडि तिलाचन क्षेत्रबाट ४ सय भेडा लिएर आएका उनीहरू मंगलबार दिउँसो बल्ल बागलुङ बजार आइपुगेका थिए।

दशैँका लागि खर्च जुटाउन भेडा बेच्न हिँडेका उनीहरू बागलुङको निसिखोला र मध्यपहाडी लोकमार्ग हुँदै बागलुङ बजार आइपुगेका हुन्। बागलुङ बजारसम्म आइपुग्दा उनीहरूसँग ६० वटा भेडा थिए।

ती बाँकी भेडा १५ गतेभित्र बेचिसकेर गाउँ फर्कने सुरमा छन् उनीहरू। करिब डेढ सय किलोमिटर पश्चिमबाट हिँड्दै आएका उनीहरू दशैँका लागि सामान किनमेल गरेर जाने तरखरमा छन्।

नन्दबहादुर भन्छन्‚ ‘आज १४ दिन भएछ भेडीगोठबाट हिँडेको, धेरैजसो भेडा बिक्री भइसके। अब केही मात्र बाँकी छन्, यी सबै बेचेर दशैँका लागि खर्चपर्च लिएर जाने हो। अब ३/४ दिनमा सबै बेचिसक्नु पर्छ, १५ गते यहाँबाट हिँडियो भने १७ गते त पुगिएला। जाँदा हिँड्न पर्दैन, गाडीमै गइन्छ। थोरै सरसामान पनि किन्नुछ, पोखरासम्म पुग्ने भनेर हिँडेको बाटोमै भेडा सकिएलान् जस्तो छ।’

नन्दबहादुरले १२ सय भेडापालन गरेकोमा अब गोठमा ८ सय भेडा रहेको बताए। ती भेडालाई गोठालो खोजेर हेरचाह गर्न छोडेर आफूहरू बजार झरेको उनको भनाई छ। बुढा मगरले अर्को सालसम्म गोठमा भएका सबै बेचिसक्ने र नयाँ पाठापाठी पनि हुर्कीसक्ने बताए।

‘मैले १२ सय भेडा पालेको थिएँ, ४ सय बेच्न लिएर आएको, गोठमा अझै ८ सय छन्, गाउँकै एक जनालाई गोठालो लगाएर हामी यता आएको हो, अर्को सालसम्म त गोठमा भएका सकिएर नयाँ पाठाहरू पनि हुर्की सक्छन्। भेडापालन गर्न दुःख त छ तर बजारतिर आउँदा कमाई पनि राम्रै हुन्छ‚’ उनले भने।

नन्दबहादुरले सडक राम्रो भएकाले भेडा सजिलैसँग बागलुङ बजारसम्म ल्याउन सकेको बताए । यसपालि बाटोमा भेडा खासै बिरामी नभएको उनको भनाई छ। बाटोमा पानी पर्दा आफूहरूले केही समस्या भने भोग्नु परेको सुनाए।

‘यस वर्ष त बाटोमा भेडा खासै बिरामी पनि भएनन्, मरेनन् पनि। अघिल्लो पटक आउँदा ३ वटा भेडा गर्मीले बाटोमै मरेका थिए, केही बिरामी पनि भएका थिए। अहिले बाटो राम्रो बनेको रैछ, कलिकति पानीले समस्या बनायो नत्र सजिलै आइयो बागलुङ बजार‚’ नन्दबहादुरले भने।

उनका भतिजा तीर्थबहादुर बुढा मगरले यस वर्ष भेडाको मोल बढेको बताए। आफूहरूले ल्याएको बथानमा न्यूनतम २० हजारदेखि अधिकतम ३५ हजार रूपैयाँसम्मका भेडा रहेको उनको भनाई छ।

तीर्थबहादुरले हालसम्म ३ सय ४० भेडा बेच्दा सोचेअनुसारको आम्दानी गर्न सकेको बताए। आफूहरूले ल्याएका भेडा उच्च लेकमा हुर्किएको हुँदा निरोगी रहेको बुढा मगरको भनाई छ।

‘अघिल्लो वर्षभन्दा यस वर्ष भेडाको मूल्य केही बढेको छ, हाम्रा भेडा निरोगी छन्। मासुका लागि निकै उपयुक्त छन्, अरु सामानहरूको मूल्य बढेको हुँदा भेडाका मूल्य बढेको हो। हामीहरुले यही भेडा बेचेर जीविका चलाउने हो,’ तीर्थबहादुरले भने‚ ‘अहिले २० हजारदेखि ३५ हजारसम्मका भेडा हामी बेच्दै आएका छौँ, ग्राहकले पनि खासै गुनासो गर्नु भएन, व्यापार राम्रै भइराखेको छ।’

उनले लेकबाट यहाँसम्म आउँदा निकै दुःख पाएको सुनाउँदै आफूहरूले ग्राहकलाई भने खुशी पारेको बताउँछन्। दशैँका लागि खर्च जुटाउन भेडा बेच्नकै लागि यति टाढा आएको उनको भनाई छ। बुढा मगरले भेडा बेचिसकेर दशैँ मनाउन गाउँ जाने बताए।

‘भेडा त अरु बेला पनि बेच्न बजारतिर झार्ने गर्छौं, यो बेला चाडपर्व पनि आयो। यसो परिवारलाई मिठो मसिनो खुवाउनु पर्‍यो, एक सरो राम्रो कपडा किनिदिनु पर्‍यो। भेडा पनि अब बेचेर सकिनै लागे, सकिए भने यहीँबाटै लत्ताकपडा किनेर जाने सोच बनाएका छौँ,’ उनले भने‚ ‘अरु खानेकुरा त अहिले गाउँतिरै पनि पसल खुलेका छन्, उतै किन्नु पर्ला। कपडाचाहीँ यहीँ अलि सस्तोमा पाइएला‚ यतैबाट लगेर जानु पर्ला।’

बागलुङमा हरेक वर्ष मुस्ताङ र म्याग्दीबाट च्याङ्ग्रा बढी आउने गरेका छन्। मुस्ताङबाट आउने च्याङ्ग्राको तुलनामा बागलुङ, रोल्पा र रुकुमको सिमानाबाट लिएका भेडाको मूल्य केही थोरै छ।

बागलुङ बजारका ग्राहक कुलबहादुर थापाले मुस्ताङबाट ल्याएका च्याङ्ग्राको तुलनामा रोल्पादेखि आएका भेडाको मूल्य थोरै भएको बताए। उनले भेडा व्यापारीले मनपरी मोल राख्दा उपभोक्ता मर्कामा पर्ने गरेको बताए।

थापाले बजारमा आउने भेडा च्याङ्ग्राको मूल्यबारे सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने भए पनि यसप्रति खासै चासो नदेखाएको गुनासो गरे।

‘मुस्ताङदेखि आएका च्याङ्ग्राभन्दा रोल्पातिरबाट आएका भेडाको मूल्य धेरै कम भएको पाइयो। रोल्पातिरबाट भेडापालक आफैँले बेच्न आएका छन्, मुस्ताङका च्याङ्ग्रा कहाँ–कहाँका व्यापारी पुगेर खरिद गरेर ल्याएका छन्। उनीहरुले मनपरी रुपमा मूल्य तोक्ने गरेका छन्‚’ थापाले भने‚ ’यसरी बजार मूल्यमा मनपरी  हुँदा हामी जस्ता उपभोक्ता ठगिएका छन्, सम्बन्धित निकायहरूले अनुगमन गर्नेतर्फ ध्यानै दिएका छैनन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.