निर्वाचनमा हारिन्छ भन्ने भावना त्याग्न निर्देशन

|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दावी गरेका छन्।

रवीन्द्र मिश्र नेतृत्वको समूहसँगको पार्टी एकताका लागि बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले मुलुकले विकल्प खोजिरहेकाले नेपाली जनताले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सक्ने दाबी गरेका हुन्। 

उनले भने, ‘हामी ठिक ढंगले अगाडि गयौं भने म फेरि पनि भन्छु- राष्ट्रिय प्रजातन्त्र पार्टी आउने संसदमै पहिलो पार्टी बन्न सक्छ। हारिन्छ कि भन्ने हीन मानसिकता  त्यागेर अगाडि जानु पर्‍यो। म यहीँबाट पार्टीका सबै अगुवा नेता साथीहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेर अगाडि बढ्न आग्रह गर्दछु। पछाडि हट्ने होइन, भाग्ने होइन।’

पार्टीका अगुवा नेताहरुलाई आ-आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी घोषणा गरेर अघि बढ्न पनि उनले निर्देशन दिए। प्रतिनिधिसभा र प्रदेशसभाका सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै उच्च मनोबलका साथ निर्वाचनको तयारीमा जुट्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे। 

‘म यहीँबाट देशको परिवर्तनको पक्षमा, यो अवस्था बदल्नुपर्छ भन्ने पक्षमा रहेका बुद्धिजीविहरू, जो राजनीतिमा जान्छु भन्ने हुटहुटी बोकेका साथीहरू आउनुस्, राष्ट्रिय प्रजातन्त्र पार्टीमा जोडिनुस्। हामी योग्यता, क्षमता भएका साथीहरुलाई उम्मेदवार बनाउन तयार छौं‚’ उनले भने, ‘हामी १६५ वटै प्रतिनिधिसभामा र ३३० वटै प्रदेशसभाको निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेर जान्छौं। त्यसकारण सबैलाई उच्च मनोबलका साथ अगाडि बढन आग्रह गर्दछु। विजय हाम्रो सम्मुख छ। मुलुकले विकल्प खोजिरहेको छ।’

उनले निर्वाचनमा हारिन्छ कि भन्ने हीन भावना त्यागेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। पार्टीमा प्रवेश गरेका रविन्द्र मिश्रलगायतका नेतालाई स्वागत गर्दै उपयुक्त जिम्मेवारी दिने प्रतिबद्धतासमेत व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.