|

पाल्पा : रिब्दीकोट गाउँपालिका–४ भैरवस्थानका टोल टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।

वडा सरकारको नेतृत्वमा बैंकसँग समन्वय गरेर टोलमै पुगेर भत्ता वितरण कार्य थालिएको वडाध्यक्ष सोमकुमार कार्कीले बताए। एनआइसी एसिया बैंक हार्थोकमा रहेको विस्तारित काउन्टरका कर्मचारी र जनप्रतिनिधि सहितको टोलीले टोल तथा घरमा पुगेर भत्ता वितरण गरेका हुन्।

जेष्ठ नागरिक, अशक्त वा हिँड्नै नसक्ने बिरामी अवस्थामा रहेका व्यक्तिलाई घरमै पुगेर भत्ता उपलब्ध गराएको उनले बताए।

भत्ता पाउने व्यक्तिमध्ये अधिकांश जेष्ठ नागरिक हिँड्न सक्दैनन्। अपांगता भएका व्यक्तिलाई साहारा दिने मान्छे गाउँघरमा छैनन्। बैंक टाढा छ। सवारी साधनको सहज पहुँच छैन। गाडी रिजर्भ गरेर जान सक्ने आर्थिक अवस्था छैन।

यस्तो दयनीय अवस्था भएका कारण वडाले नेतृत्व गरेर टोल वा घरमै पुगेर भत्ता वितरण गर्न थालेको कार्कीले बताए। पटक पटक आफूले गरेको आग्रहलाई बैंकले स्वीकार गरेपछि यो कार्य अगाडि बढाउन सफल भएको उनी बताउँछन्।

आफूले राखेको प्रस्तावबारे भने गाउँपालिकाले वास्ता नगरेको उनले बताए। ‘जनप्रतिनिधि शासक होइन, सेवक हो’ उनले भने ‘जनताको पीर मर्कालाई बुझेर काम गर्नु पर्छ भन्ने मान्यताका आधारमा अहिले यो अभियान थालेको छु।’

यसअघि हार्थोक बजारमा रहेको बैंकको कार्यालयमा भत्ता लिन आउनु पर्ने बाध्यता थियो। भत्ता लिनको लागि घण्टौँ समय लगाएर लाभग्राही आउनुपर्थ्यो। अब यो बाध्यता हट्ने भएको छ।

मंगलबार तीन वटा टोललाई समेटेर भारकोट वितरण गरिएको छ। बुधबार चार वटा टोललाई समेट्ने गरी वडा कार्यालय र बिहीबार चार वटा टोललाई लक्षित गरी रानीठाँटीमा भत्ता वितरण गर्ने कार्यक्रम रहेको वडाध्यक्ष कार्कीले बताए।

यस वडामा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ति ३९३ जना छन्। गत भदौमा नवीकरण गरेका आधारमा प्राप्त भएको यो तथ्यांक हो। जसमध्ये अन्य जेष्ठ नागरिक २३५, दलित जेष्ठ नागरिक २०, जेष्ठ नागरिक एकल महिला ३२, एकल महिला ४५, पूर्ण अपांगता भएका ५, अति अशक्त अपांगता भएका १३ र दलित बालबालिका ४५ रहेका उनले बताए।

यसरी अवस्था हेरेर टोल वा घरमै पुगेर भत्ता वितरण गर्ने कार्यलाई निरन्तरता दिने कार्कीले बताए। हिँडडुल गर्न नसक्नेलाई घरमै भत्ता पाउँदा ठूलो राहत मिलेको छ।

यहाँका सबै वडामा यो कार्यक्रमलाई अगाडि बढाउन गाउँपालिकालाई उनले सुझाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.