|

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिमा दुई सदस्यको नियुक्तिसँगै एन्फा कार्यसमितिले पूर्णता पाएको छ। बुधबार भएको एन्फाको विशेष साधारणसभाले आगामी वर्षको बजेट र कार्यक्रमसमेत पास गरेको छ।

एन्फाको २१ सदस्यीय कार्यसमिति रहनेमा दुई सदस्यको नियुक्ति हुन बाँकी रहेको थियो। गत असार ६ मा भएको निर्वाचनमा उठेका चारजना सदस्यका उम्मेदवारको समान ३९-३९ मत आएका कारण दुई जना सदस्यको टुंगो लागेको थिएन।

बुधबार साधारणसभामा मतदानमार्फत रुपेश अधिकारी र दीपेन्द्र धिमाल चुनिएका हुन्। रुपेश कर्मा पक्षधर हुन भने धिमाल नेम्बाङ पक्षधर हुन्।

अधिकारी र धिमालले क्रमशः ५४ र ४७ मत प्राप्त गर्दा पराजित भएका लोकेन्द्र गुरुङले ४५ तथा दीपक थापाले ७ मत प्राप्त गरेका थिए।

विशेष साधारणसभाले आर्थिक वर्ष ०७९/८० को बजेट पास गरेको हो। एन्फाका महासचिव किरण राईले आर्थिक वर्ष ०७९/८० को लागि ९४ करोड ८८ लाख ८८ हजार ५ सय ८८ रूपैयाँ अनुमानित आम्दानी र ९२ करोड ९१ लाख ८२ हजार ४ सय ७० रूपैयाँ अनुमानित खर्चलाई साधारणसभाले पास गरेको जानकारी दिए।

साधारणसभाले आर्थिक वर्ष ०७७/७८ को आम्दानी २५ करोड ५६ लाख ३२ हजार २ सय १६ र खर्च २४ करोड ६९ लाख १८ हजार ९ सय ३३ रूपैयाँ पारित गरेको छ।

आर्थिक वर्ष ०७८/७९ को आम्दानी २६ करोड ८३ लाख २१ हजार ९४ र खर्च ४० करोड ६७ लाख ६७ हजार ८ सय ४२ रूपैयाँ पनि साधारणसभाले पारित गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.