|

काठमाडौं : गृहसचिव विनोदप्रकाश सिंहले आगामी मङ्सिर ४ मा हुने निर्वाचनलाई भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज आयोजित एक समारोहलाई सम्बोधन गर्दै सचिव सिंहले सशस्त्र प्रहरीले सीमित स्रोत साधनका बाबजुद कठिन परिस्थिति र स्थानमा समेत सीमारक्षार्थ खटिएको भन्दै प्रशंसा गरे।

उनले प्रतिकूल अवस्थामा रहेका सीमा सुरक्षा चौकीको सुधारका लागि समयानुकूल बन्दोबस्ती व्यवस्थापनमा गृह मन्त्रालयले पहल गरिरहेको बताए। गृहसचिव सिंहले निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालका बाहिनीपति तथा युनिटपतिले आफू मातहतका कर्मचारीलाई उचितरुपमा परिचालन गरी कार्यसम्पादन गर्न निर्देशन दिए।

सशस्त्र प्रहरी बल नेपालले शान्ति सुरक्षा कायम गर्न सक्षमता, निपूर्णता तथा तदारुकताका साथ कार्य गर्नुहुनेछ भन्ने अपेक्षा राखेको बताउँदै उनले सीमा सुरक्षामा कठिन परिस्थितिका बीच परिचालित कर्मचारीप्रति उच्च सम्मान प्रकट गरे।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गृहसचिव सिंहबाट भएको निर्देशनलाई अक्षरश: पालना गरी इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरी बलका राष्ट्रसेवकलाई निर्देशन दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.