|

पर्वत : काठमाडौं महानगरपालिकाले ‘अन्डरग्राउण्ड’ लाई ‘पार्किङ’ बनाउने अभियान चलाइरहेका बेला त्यो अभियानले काठमाडौँ उपत्यका बाहिरका शहरमा पनि स्थान पायो। स्वतन्त्र रूपमा निर्वाचित जनप्रतिनिधिले धमाधम काम गर्दा राजनीतिक दलबाट निर्वाचित भएकाहरूलाई दबाबमा राख्यो। 

काठमाडौं जस्तै कास्कीको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि अन्डरग्राउण्डलाई ‘पार्किङ’ बनाउने अभियानमा लागिरहेका छन्। पोखरा महानगरपालिकाले गत भदौ १३ गते सूचना प्रकाशन गरेर ‘अण्डरग्राउन्ड’ खाली गरेर ‘पार्किङ’ बनाउनुपर्ने भन्दै ३५ दिने सूचना निकालेको थियो।

सूचना निकालेको ३५ दिनको नजिकै आइपुग्दा  महानगरपालिकाले सृजनाचोक स्थित आफ्नो स्वामित्वमा रहेको भवनको भूमिगत पार्किङ खाली गरी पार्किङ प्रयोगका लागि खुला गरेको छ। महानगरमा निर्माण गरिएका भूमिगत ‘पार्किङ’ सहितका कतिपय भवनहरूले प्रयोजन विपरीत प्रयोग गरिरहेका बेला महानगरले भने आफ्नो भवनमा ‘पार्किङ’ खुला गरेको हो। 

३५ दिने  सूचनाको म्याद अझ केही दिन बाँकी छ। तर, महानगरले त्यस अगाडि नै आफ्नो भूमिगत ‘पार्किङ’ खाली गरी ‘पार्किङ’ अभियानको शुभारम्भ गरेको महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए। ‘यो एउटा शुभारम्भ हो, र पोखरामा जति पनि भूमिगत पार्किङ सहित निर्माण गरिएका घरहरू छन्, घर धनीहरूले यसलाई खाली गरेर पार्किङकै लागि प्रयोग गर्नका लागि म अनुरोध गर्न चाहन्छु,’ उनले भने, ‘पोखरामा रहेका भूमिगत पार्किङहरूमा पार्किङ सांकेतिक रूपमा सुरु भयो भन्ने सन्देश महानगरले दिएको छ। हामीले भदौ १३ मा सूचना निकालेर सबैलाई आह्वान गरेका छौँ। महानगरको यो अभियानमा आम नागरिक र व्यवसायीहरूको साथ रहने छ।’ 

‘बेसमेन्ट पार्किङ’ सहितको भवन निर्माणका लागि अनुमति लिई निर्माण गरिएका हरेक भवनहरूमा यसको कार्यान्वयन अनिवार्य हुने आचार्यको भनाई छ। पोखरामा बढ्दो ‘पार्किङ’ को असुविधालाई मध्यनजर गरेर आफूहरूले प्रयोजन विपरीत प्रयोग भइरहेका ती ‘पार्किङ’ स्थलहरूलाई ‘पार्किङ’ प्रयोजनकै लागि उपयोग गर्न आग्रह गरिएको उनको भनाइ छ। सूचनाको म्याद गुज्रिए पछि पनि अटेर गर्नेहरूलाई नियमानुसार कारबाही गरिने बताउँदै महानगर प्रमुख आचार्यले  भूमिगत ‘पार्किङ’ लाई खाली गरी सोही प्रयोजनका लागि उपयोग गर्नुको विकल्प नरहेको बताए। 

पोखरा महानगरपालिकाका अनुसार सूचना निकाले पछिको समय सीमा नटर्दैको अवधिमा नै कतिपय व्यवसायीहरूले भूमिगत ‘पार्किङ’ हरू खाली गरिसकेको अनुगमनका क्रममा पाइएको छ। वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलले पोखरा महानगरपालिकाभित्र दुई सय ५० भन्दा बढी भवनमा भूमिगत ‘पार्किङ’ स्थलहरू रहेको बताउँछन्। त्यसमध्ये करिब ६० वटा भवनले मात्रै प्रयोजन अनुरूप अन्डरग्राउन्डलाई पार्किङका रूपमा प्रयोग गर्दै आएका छन्। लेक साइडका प्रायः होटेलले भूमिगत तलालाई पार्किङ बनाए पनि मुख्य बजार क्षेत्र पृथ्वीचोक, महेन्द्रपुल, न्यूरोड, चिप्लेढुंगाका घरधनीले भूमिगत तलालाई व्यावसायिक प्रयोजनमा प्रयोग गरिरहेका छन्।

महानगरपालिकाले प्रकाशन भएको सूचनामा भूमिगत तलालाई खाली गरी पार्किङको रूपमा प्रयोगमा ल्याउनुहुन अनुरोध गरिएको छ। अन्यथा कानुन बमोजिम हुने बताइएको छ।

पोखराको मुख्य बजार क्षेत्र तथा बढी भिडभाड हुने क्षेत्रहरू न्यूरोड, चिप्लेढुंगा, महेन्द्रपुलका भवनको भूमिगत तलामा मोबाइल पसल, फर्निचर, दोहोरी साँझ, फेन्सी पसल तथा होटेलसमेत राखिएका छन्। ‘महानगरबाट राजस्व छुट लिएर पार्किङ प्रयोजनका लागि निर्माण गरिएका ‘बेसमेन्ट’मा अन्य व्यवसाय सञ्चालन गरेको भए महानगरले तोकेको समयावधि भित्र हटाउनसमेत भनिएको छ। महानगरको आग्रहलाई अटेर गरे महानगर आफैँले बेसमेन्टमा रहेका कुनै पनि प्रकारका व्यवसाय हटाउने र त्यसबापतको क्षतिपूर्तिसमेत सम्बन्धित व्यवसायीहरूबाट असुल उपर गरिने महानगरको चेतावनी छ। 

भूमिगत तलालाई ‘पार्किङ’ बनाउने घरधनीले पोखरामा एक तला बराबरको राजस्वमा ५० प्रतिशत छुट पाउँछन्। ती भवनका घरधनीले ‘पार्किङ’ बापत आफैँ शुल्क लिन पाउँछन्। तर ‘पार्किङ’ शुल्क उठाएर भन्दा व्यवसाय गर्न दिँदा बढी आम्दानी हुने भएपछि घरधनीहरू राज्यलाई छलेर भूमिगत तलामा व्यवसाय गर्न दिइरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.