‘हामी ओलीलाई गाली गर्ने तर एमालेलाई हराउन नसक्ने भइसक्यौँ’

|

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको दाबी गरेका छन्। 

बिहीबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको बेलामा कांग्रेस भित्रै सही मूल्यांकन नहुनुको परिणाम गम्भीर हुनसक्ने चेतावनी दिए। 

उनले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा सही मूल्यांकन र सही समीक्षा हुन नसके नेपालको राजनीतिले स्थिरता कायम गर्न नसक्ने बताए। नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रूपमा स्थापित भइरहेको उल्लेख गर्दै देशलाई बचाउन नेपाली कांग्रेस एक हुनुको विकल्प नरहेको स्पष्ट पारे। 

‘गठबन्धनको अन्तिम टुंगो सायद हुँदैछ। गठबन्धनसँगै पार्टीभित्र रहेका विविध पक्षलाई संगठित र सहमतिपूर्ण निस्कर्ष निकाल्नुपर्ने सबैभन्दा महत्वपूर्ण दायित्व हो। गठबन्धनको आडमा गठबन्धन नै पर्याप्त हुन्छ भनेर हामी भित्र नै सही मूल्यांकन र समीक्षा गरेर सहमतिपूर्ण निर्णय गर्न नसके त्यसले गम्भीर अवस्था सिर्जना हुन्छ’ उनले भने, ‘अहिले पार्टी मात्रै होइन, लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण छ। अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रूपमा गइरहेको छ भने अर्कोतिर छिमेकीहरूको द्वन्द्व पनि त्यत्तिकै चिन्ताको विषय छ। यसलाई बचाउन सक्ने तागत भएको पार्टी नेपाली काँग्रेस नै हो।’

समानुपातिक तर्फको उम्मेदवार सिफारिसमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै नेता खेमराज केसीले आपत्ति जनाए। अझैपनि सूची संशोधन गरी समान रूपमा टिकट वितरण गर्नसके कांग्रेसले आगामी निर्वाचनबाट दुई तिहाईको सरकार बनाउन सम्भव नभएको उनले जिकिर गरे। 

‘नातावाद केन्द्रित भयो’

पार्टीमा नातागोता र आफन्तवादलाई हेर्दा न्यायोचित रूपमा टिकट वितरण हुन नसकेको बताए। न्यायोचित टिकट वितरण नभएको खण्डमा आफ्नै पार्टीविरुद्ध उम्मेदवारी दिनुपर्ने स्थिति आउनसक्ने चेतावनी दिए। 

‘दुई तिहाई आउन कांग्रेसले अत्यन्त मेहनत गर्नुपर्छ, टिकट वितरण गर्ने प्रणालीमा निष्ठावान, त्यागी र ज्येष्ठ सदस्यहरू, जसले पार्टीमा विशिष्ट योगदान गरेका छन्, ति मानिसलाई टिकट दिएको खण्डमा यो सम्भव छ’ उनले भने, ‘कतिपय कुरा पार्टीमा आफ्नो नातागोता हेर्ने गरिन्छ, त्यो पद्धतिलाई त्यागेर, एकनासले गहन रूपमा वितरण गर्नुपर्छ। न्यायोचित रूपमा टिकट वितरण भएको खण्डमा नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धनको रूपमा सरकार बन्न सक्दछ।’

सिद्धान्तबाट विचलित

कांग्रेसले केन्द्रमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई गाली गर्ने तर आफ्नै पार्टीमा भने समावेशी टिकट वितरण गर्न नसकेको नेता धर्म परियारले बताए। 

कांग्रेस आफ्नो सिद्धान्तबाट विचलित हुँदै गइरहेको भन्दै अझैपनि नेकपा एमालेलाई हराउने तागत गठबन्धनमा नरहेको जिकिर गरे। उनले टिकट वितरण समानुपातिक नभए र नेताहरू नसच्चिए आगामी निर्वाचनमा कांग्रेसले धेरै सिट जित्न नसक्ने उनले दाबी गरे। 

‘अहिले शेरबहादुर देउवाज्यूको प्यानलमा विश्वकर्मा मात्रै आएको अवस्था छ। दुई जना पुरूष, दुई जना महिला विश्वकर्मा मात्रै रहँदा, दलितभित्र पनि समावेशी नहुँदा अहिले प्रधानमन्त्रीको क्वार्टरमा र सानेपामा छलफल चल्दा हामी जस्ताको आवाज त्यहाँ पुगेको छैन, पार्टी बिग्रिरहेको छ, भत्किएको छ’ उनले भने, ‘ओलीले प्रधानमन्त्री हुँदा संसद विघटन गर्नुभयो, कांग्रेस गठबन्धनको सरकार चाहियो भनेर भन्नुहुन्छ। तर केन्द्रको नीति, निर्देशन हेर्दा समानुपातिकको सिफारिस गठबन्धन हराउने षड्यन्त्र हुनुहुन्छ।’ 

प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले समानुपातिकमा आफ्ना श्रीमतीहरूलाई राखेकोप्रति आक्रोश व्यक्त गर्दै उनले राजाको विरोध गर्नेहरू नै आज पार्टीका राजा बनेको आरोप लगाए। 

सम्मानजनक टिकट वितरण नभए आगामी निर्वाचनमा नेपाली कांग्रेस २५ सिटमा खुम्चनसक्ने बताए। उनले केन्द्रको शक्तिको आडमा धनको प्रलोभन देखाएर कुर्सी र सत्ताका लागि मात्रै गठबन्धन गरिरहने र पार्टीलाई मिलाउन नसक्ने हो भने विरोधको विकल्प नभएको बताए। 

‘केन्द्रमा ओलीलाई गाली गर्ने तर जिल्ला जिल्लामा गएर नेकपा एमालेलाई हराउन सक्ने तागत छ जस्तो लाग्दैन। हामीले सच्चिनुपर्छ। टिकट दिँदा समानुपातिक हुनुपर्छ। प्रधानमन्त्रीले आफ्नो पत्नीलाई समानुपातिकमा राख्ने, गृहमन्त्रीले आफ्नो पत्नीलाई राख्ने, उहाँहरूको त्याग, मेहनत होला तर यसले राम्रो सन्देश दिँदैन’ उनले भने, ‘राजाको बिरोध गरिरहँदा कांग्रेस भित्रै राजा त भएका होइनन्? नेपाली काँग्रेस २५ सिटमा सिमित हुने त होइन, त्यसकारण नेता सच्चिनुपर्छ। केन्द्रको शक्तिको आडमा धनको प्रलोभन देखाएर त्यस्तो नियतका साथ उहाँहरू कुर्सीमा बस्नुहुन्छ भने त्यसको विरोधमा उत्रिनुपर्छ।’

‘सामन्ती व्यवहार भयो’

त्यस्तै नेता युवराज पाण्डेले समानुपातिक उम्मेदवार छनोट गर्दा नेतृत्वले एकपक्षीय ढंगले अधिवेशनमा आफ्नो मतसँग नजिक हुनेलाई मात्रै प्रतिनिधि हुने खालको मौका दिएको आरोप लगाए। उनले यसरी पार्टी भित्रै पक्ष, विपक्ष र भेदभाव हुनु गैर जिम्मेवारी भएको बताए। 

पार्टीमा योगदान, क्षमता, लोकप्रियताको कदर नभए विद्रोहको विकल्प नभएको बताए। पार्टी भित्रै निरंकुश र सामन्ती व्यवहार भएकाले आफूहरूले विरोध गर्नुपरेको बताए। 

संस्थापन पक्षले नेकपा माओवादी लगायतका गठबन्धनका दलहरूसँग मिलेर आफ्नो पार्टी भित्रका नेताहरूलाई किनारा लगाइ राजनीतिक हत्या गर्ने प्रपञ्च गरेको आरोप लगाए। 

‘पार्टी नमिले गठबन्धनको अर्थ छैन’

त्यस्तै अर्का नेता गुरूराज घिमिरेले गठबन्धन गरेर नै चुनावमा जाने निर्णयका कारण गठबन्धनले चुनाव जित्ने आधार भएपनि पार्टी भित्रको कलह मिलाउन नसक्नुको परिणाम गम्भीर हुने बताए। 

राजनीति मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै नभइ जनताको जीवन बदल्ने माध्यम भएको उनको भनाइ छ, पार्टी सभापति देउवाले सबैलाई मिलाएर लैजाने आश्वासन दिनुभएको उल्लेख गर्दै अहिले पार्टी सभापतिको बाटो हेरिरहेको र भेदभाव भएको खण्डमा आफ्नो आन्दोलन चर्काउने चेतावनी दिए। 

समानुपातिक तर्फको उम्मेदवारको सूचीका कारण संस्थापन पक्षकै नेताहरू पनि विरोधमा गएको नेता अजयबाबु सिवाकोटीले बताए। उनले समानुपातिक तर्फ पार्टीले गरेको टिकट वितरणमा ठूलो असन्तुष्टि रहेको बताए। 

प्रत्यक्षतर्फको टिकट वितरण पनि न्यायोचित हुन नसके विरोध थप चर्किने उनले चेतावनी दिए। 

बिहीवार काठमाडौंस्थित एक होटलमा कोइराला पक्षधरका नेताहरूले चियापान र दशैँ, तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेका थिए। चियापान कार्यक्रममा पार्टी महामन्त्री गगनकुमार थापादेखि अर्जुननरसिंह केसी, चन्द्र भण्डारी लगायतका नेताहरू उपस्थित थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.