पानी नआउँदा उपत्यकावासी समस्या झेल्न बाध्य

|

काठमाडौं : मेलम्ची खानेपानी आयोजना शुरु भएको दुई दशकपछि काठमाडौं उपत्यकाभित्र पहिलो पटक २०७७ चैत १५ गते वितरण थालियो। त्यसवेला विभिन्न समयमा आउने भनी हल्ला मात्रै चलेको मेलम्ची पानी अन्ततः पिउन पाएपछि हर्षित देखिन्थे उपत्यकावासी।

​तर त्यो खुशी अहिलेसम्म दीर्घकालीन बन्न छैन। प्राकृतिक बाढीसँगै खानेपानीमा राजनीति गरिँदा उपत्यकावासी भने ट्यांकर पानी खरिद गरेर उपयोग गर्न बाध्य छन्।

पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गरिएको थियो। तर ०७८ सालको असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो।

क्षति पुगेको ९ महिनासम्म मर्मत भएन। जब सरकारले गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गर्‍यो, त्यसपछि विभिन्न राजनीतिक दलका नेता पानी ल्याउन अघि सरे। केही चर्चा कमाउन त्यही आयोजनमा गएर खानेपानी मन्त्रीले निर्देशन समेत दिए।

त्यसवेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार भएमात्रै पानी ल्याउन सक्ने अन्यथा अरु कसैले ल्याउन नसक्ने तर्क गरेका थिए।

तर स्थानीय चुनावअघि नै पानी उपत्यकामा आयो। क्षति भएको ९ महिनापछि अर्थात गत वैशाख ११ गते अस्थायी रुपमा पानी आयो। कतिपयले चुनावमा लोकप्रियता हासिल गर्नकै लागि मात्र पानी ल्याएको तर्क गरेका छन्।

फेरि बन्द भएपछि आएन पानी

मर्मतपछि अस्थायी रुपमा पानी काठमाडौं उपत्यकामा त ल्याइयो तर शहरवासीले एक महिना पूरा पनि पिउन पाएनन्। सरकारले पहिला जस्तो बाढीबाट क्षति हुन नदिन भन्दै वर्षात् शुरु भएसँगै गत जेठ १७ गतेबाट उपत्यकामा ल्याउन बन्द गर्‍याे। त्यसपछि अहिलेसम्म  पानी ल्याएको छैन।

यता, ट्यांकर र जार व्यवसायी भने मेलम्चीको पानी नआउँदा यसको पूरापूर फाइदा उठाइरहेका छन्। मेलम्ची पानीको यो अवस्थाले शहरवासी आश्चर्य मान्न थालेका छन्।

गोकर्णेश्वर नगरपालिका वडा–३ की रमिला श्रेष्ठ भन्छिन्, ‘यो मेलम्चीको पानी पहिलादेखि आउँछ आउँछ भन्दै यस्तो सुनेको वर्षौं बित्दा बल्ल आयो तर अहिले पिउन भने पाइएको छैन। यो नेताहरूले लोकप्रियता कमाउन कहिले ल्याउने कहिले बन्द गर्ने गरेका छन्।’  

मेलम्ची पानी ‘नारा’ बनाइयो : मणि थापा

पूर्व खानेपानीमन्त्री मणि थापा मन्त्री होस् या नेता सबैले मेलम्ची खानेपानीलाई ‘नारा’ मात्र बनाउँदै आएको बताए। ‘मेलम्ची खानेपानी काठमाडौंलाई आवश्यक हो तर पहिलादेखि मन्त्री होस् या नेता सबैले मेलम्ची खानेपानीलाई नारा बनाउने गरे र अहिले पनि भइरहेको छ भन्ने लाग्छ। यस्तो गर्नु गलत हो,’ उनले भने।

मेलम्ची खानेपानी काठमाडौं उपत्यकाकाका लागि आवश्यक रहेको भन्दै यसमा राजनीति नगर्न उनको आग्रह छ। उनले भने,‘म खानेपानीमन्त्री हुँदा पानी ल्याउन धेरै मेहनत गरेको हुँ, अघिल्लो वर्ष बाढीले ठूलो क्षति पनि भयो। अब यसलाई मर्मत गरेर तत्काल ल्याउनुपर्छ, चुनावी नारा बनाउन हुँदैन।’ 

पानी आएपछि भयो ४ पटक उद्घाटन

मेलम्ची खानेपानीमा कसरी राजनीति मिसिएको छ भन्ने ४/४ पटक भएका उद्‍घाटनबाट प्रष्ट हुन्छ। उपत्यकाभित्र पानी झरेपछि मात्रै मेलम्ची खानेपानीको चार पटक उद्‍घाटन भएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २२ गते फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि पानी सुन्दरीजलमा खसेको थियो।

त्यही पानी ०७७ चैत १५ गते काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का निर्देशक मिलन शाक्य, काठमाडौं खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणा लगायतले एकसाथ चुच्चेपाटीको महांकाल चौरमा भण्डारण गरिएको पानीको चाबी (पानीको भल्भ) खोलेर वितरण शुभारम्भ गरे। 

सोही आयोजनाको राष्ट्रपति विद्यादेवी भण्डारीले ०७७ चैत २० गते भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा पानी खसालेर औपचारिक उद्घाटन गरिन्।

फेरि त्यही पानी बाढीले गरेको क्षति मर्मतपछि गत वैशाख ११ गते खानेपानीमन्त्री उमाकान्त चौधरीले बानेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को ट्याङ्कीबाट स्टेरिङ घुमाएर मेलम्चीको पानी वितरणको पुनः उद्घाटन गरे।

त्यसपछि सोही दिन उनै मन्त्री चौधरीले नयाँ बानेश्वरस्थित संसद भवनअगाडि बनाइएको नयाँ धाराको टुटी खोलेर वितरणको उद्घाटन गरे। उनी आफैँले  पानी सुरुङमा पथान्तरणको उद्घाटन पनि गरेका थिए। 

उपत्यकामा दैनिक ४३ करोड पानी माग 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार २ लाख ३० हजार ग्राहक केयुकेएलका छन्। केयुकेएलका प्रवक्ता प्रकाशकुमार राई उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेकोमा अहिले मेलम्चीको पानी नआएपछि यहीँको स्रोतबाट दैनिक १५ देखि १६ करोड लिटरमात्र आपूर्ति भएको बताउँछन्।

उनका अनुसार वर्षातमा आकाशे पानीको प्रयोग गर्न सकिने भएकाले थोरै र हिउँदका वेला चाहिँ पानीको धेरै नै हाहाकार हुन्छ। मेलम्चीको पानी नआएपछि यहीँका स्रोतहरूबाट संकलित पानी मिलाएर पुगेसम्म उपत्यकामा वितरण गर्दै आएको उनको भनाइ छ। 

यसो भन्छ सरकार

आगामी मंसिर ४ मा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ। यही मौका छोपेर लोकप्रियताका लागि पानी ल्याउने प्रपन्च फेरि रचेका छन् नेताहरूले। बाढीबाट क्षति नहोस् भनी आयोजनाको मूल पानी छिर्ने गेट बन्द गरिएको मात्रै हो। मनसुन बाहिरिँदै छ। यो सकिएपछि पानी पठाइनुपर्ने हो।

तर मनसुन सकिए पनि तत्काल सरकारले पानी ल्याउने छाँटकाँट देखाएको छैन। चुनाव आसपासमात्र पानी ल्याउने तयारी सरकारको देखिन्छ। खानेपानी मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेल भन्छन्, ‘मेलम्चीको पानी छिट्टै आउँछ, हामी ल्याउन लागि परेका छौँ।’

मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले यही समयभित्र आउँछ भनेर समय यकिन गर्न नसकिने बताए। ‘अझै पानी परिरहेको छ, आयोजनाको हेडबक्स पुग्ने बाटो, पुल बनाउनुपर्छ। वर्षात सकिएलगत्तै काम हुन्छ, सकेसम्म छिट्टै पानी ल्याउने योजना छ।’

उनका अनुसार सुरुङमा पानी छिर्ने गेट बन्द गरिएकाले यसवर्ष बाढीले आयोजनामा क्षति नपुगेको अनुमान छ। 

 (यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.