एकै घरका ५ जना

|

सल्यान : नेपालीको सबैभन्दा ठूलो चाड वडादशैँको रौनक सबैतिर छाइरहँदा जलबाङ गाउँ भने शोकमग्न छ।

दुर्घटनामा आफन्त गुमाएहरूको नयनबाट आँशुको भल बगिरहेको छ। बाँकेको ढकेरीमा बिहेभोज खान गएकाहरू जीवितै घर फर्कन पाएनन्। भोजमा गएका ९ जनामध्ये एउटै गाउँका ८ जनाको मृत्यु भएपछि अहिले जलबाङ शोकमा डुबेको हो।

सल्यान कपुरकोट गाउँपालिका-६ जलबाङ गाउँका मिलेर सोमबार बिहान अर्थात् दशैँको दोस्रो दिन बाँके जान रा १ ज ५६३ नम्बरको जिप रिजर्भ गरे। जिपचालक २१ वर्षीय जीतबहादुर बोहरा पनि जलवाङकै थिए।

उनी सोमबार बिहान आफूसहित ९ जनाको रिजर्भ लिएर बाँकेको ढकेरी गएका थिए। दिनभर बिहेमा समय लागेपछि साँझतिर फर्किएका घर आउन केही घण्टामात्र बाँकी रहदा एकजना बाहेक ८ जनाको घटनास्थलमै मृत्यु भयो।

दुर्घटनामा मृत्यु भएका ८ जनामध्ये एकजना चालक र सातजना किसान थिए। बुधबार गाउँनजिकै रोल्पा निगालपानीमा कृषि हाटबजार लाग्ने भएकाले बिहेकै दिन साँझ ढकेरीबाट फर्किएका थिए।

मृतकमध्ये ५ जना एकैघरका छन्। दुर्घटनामा जेठी बुहारी कुमारी वली, माइलो धरम (धर्म) वली, साइलो टोपबहादुर वली उनको छोरा वशन्त वली र कान्छो ललित वलीको मृत्यु भएको छ। गाउँकै सुरेश खत्री र खुमलाल वलीको पनि निधन भयो।

निधन भएका ८ जनामध्ये ७ जनाको सामुहिक दाहसंस्कार गरिएको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले बताए। दुर्घटनामा एकजना सिकिस्त छन्। कपुरकोट-६ जलबाङका ३६ वर्षीय तिलक वली सिकिस्त छन्। उनको उपचार नेपालगञ्जमा भइरहेको छ।

जिप सडकबाट करिब २ सय मिटर तल खसेको थियो। चालक निदाएर दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीको छ। जिप राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका-३ मूलपानीमा सोमबार बिहान दुर्घटना भएको थियो।

एउटै गाउँका ८ जनाको मृत्यु भएपछि कपुरकोट गाउँपालिकाले शोकमा आज बिदा दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.