|

दैलेख : घरपरिवारको गर्जो टार्न बिरामी आमाको उपचार र दशैंमा बालबच्चालाई एकसरो कपडाको जोहो गर्न भन्दै बर्दियाको राजापुर नगरपालिका–१ की सङ्गीता विक दुई महिनाअघि दैलेखमा मजदुरी गर्न आइन्।

स्थानीय पेटी ठेकेदार मोहमत आलम (आस्लाम) को सम्पर्कमा मजदुर काममा दैलेख आएकी उनलाई अहिले दशैँ कसरी मान्ने भन्ने पिरलो मात्र छैन। उनलाई दशैँमा घर जान भाडाको जोहो गर्नसमेत मुस्किल परेको छ।

पहिलो पटक मजदुर कामका लागि दैलेख आएकी सङ्गीतालाई कामबापतको रकम ठेकेदारले नदिँदा दशैंको मुखमा उनी समस्यामा परेकी हुन्। ‘बिरामी आमाको उपचारसँगै घर खर्चको जोहो गर्ने भन्दै काम गर्न पहिलो पटक यहाँ आएकी हुँ, ठेकेदारले काम गरेबापतको पैसा नदिँदा समस्यामा परेको छ’, सङ्गीताले भनिन।

स्थानीय पेटी ठेकेदार (आस्लाम)को समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय दैलेखको भवन निर्माणको काम गर्न उनीसँगै दैलेख आएका बर्दिया, नेपालगन्ज र कैलालीका २७ जना कामदारको ५ लाखभन्दा बढी रुपैयाँ ठेकेदारले समयमै भुक्तानी नदिँदा उनीहरू दशैंको मुखमा न्यायको खोजीमा भौँतारिएका हुन्।

०८१ सालमा भवन निर्माणको काम सकाउने गरी कामको जिम्मा पाएको प्रेरणा के वान सुपर स्टार जेभी कालिकोटका सञ्चालक तारा साहले काम गरेका पैसा नदिँदा दशैँको मुखमा अलपत्र परेको कामदारहरूले बताएका छन्।

२७ जना कामदारको ५ लाख १९ हजार ५ सय रूपैयाँ भुक्तानी लिनुपर्ने भए पनि ठेकेदारले २ लाख मात्र दिने कुरा गरेकाले समस्या भएको पेटी ठेकेदार मोहमत आलमले बताए।

यता प्रेरणा के वान सुपर स्टार जेभी कालिकोटका सञ्चालन तारा साहले पेटी ठेकेदारले तोकेको काम समयमा सम्पन्न नगर्दा भुक्तानी रोकिएको बताइन्। उनले निर्माणको काममा लागेका कामदारहरूले कति पैसा लिए आफूलाई जानकारी नभएको बताइन्।

‘आफ्ना दश बाह्रवटा साइट छन्, कुन साइटका कामदारले कति पैसा लिए जानकारी छैन। दैलेखमा निर्माणाधीन स्वास्थ्य सेवा कार्यालयको हकमा पेटी ठेकेदारले तोकेका समस्या सम्झौताअनुसारको काम सम्पन्न नगरेकाले भुक्तानी रोकिएको हो’, शाहले भनिन्।

पेटी ठेक्कामा कामको जिम्मा लिएका मोहमत आलम (आस्लाम)ले निर्माण कम्पनीसँग काम भएअनुसार कामदारको पैसा समयमै भुक्तानी गर्ने सहमति भएको बताए।

‘पहिले नै प्रमुख ठेकेदारसँग कामदारको पैसा समयमै भुक्तानी गर्ने सहमति भएको हो, अहिले उहाँसँग पैसाको कुरा गर्न खोज्दा नम्बर ब्ल्याक लिस्टमा (कालो सूचीमा छ)’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.