|

 काठमाडौं : भारतमा अब अविवाहित महिलाले गर्भपतन गर्न पाउने भएका छन्। 

 भारतको सर्वोच्च अदालतले बिहीबार गर्भपतनसम्बन्धी महत्त्वपूर्ण फैसला गर्दै विवाहित वा अविवाहित सबै महिलालाई गर्भपतन गर्ने अधिकार दिएको हो।

अदालतले ‘मेडिकल टर्मिनेसन अफ प्रेग्नेन्सी एक्ट’ अन्तर्गत सबैलाई २२ देखि २४ हप्तासम्मको गर्भपतन गर्ने अधिकार रहेको बताएको छ। न्यायाधीश डीवाई चन्द्रचुड नेतृत्वको इजलासले विवाहित महिला मात्रै यौनसम्पर्कमा सक्रिय हुने धारणा रूढीवादी रहेको तर्क गरेको छ। इजलासले भनेको छ, ‘गर्भपतनको अधिकारले महिला विवाहित होस् वा अविवाहित भए पनि फरक पर्दैन।’

यसअघि भारतमा २० हप्ताभन्दा बढी र २४ हप्ताभन्दा कमको गर्भपतन गर्नसक्ने अधिकार अविवाहित महिलालाई दिएको थिएन। अदालतले यसलाई संवैधानिक विभेद भनेको छ।

जबर्जस्ती यौनसम्पर्कका कारण श्रीमती गर्भवती भएमा सुरक्षित र कानुनी गर्भपतन गर्न पाउने अधिकार पनि अदालतले दिएको छ। 

भारतको सर्वोच्च अदालतले एक २५ वर्षीया अविवाहित महिलाले गरेको पुनरावेदनमा यस्तो फैसला सुनाएको हो। ती महिलाले २४ हप्ताको गर्भपतन गर्न अदालतसँग अनुमति मागेकी थिइन्। तर, जुलाई १६ मा दिल्ली उच्च अदालतले महिलाको माग खारेज गरिदिएको थियो। ती महिलाले सहमतिमा यौनसम्पर्कका कारण गर्भवती भएको र पार्टनरले विवाह गर्न नमानेकाले सन्तान जन्माउन नसकेको बताएकी थिइन्।

त्यसपछि उनी सर्वोच्च अदालत पुगेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.