|

काठमाडौं : शुक्रबारदेखि एक नेपाली र दुई भारतीय गरी तीन वटा फिल्मले एकसाथ प्रदर्शन थालेका छन्। प्रेम कथामा आधारित ‘बाबरी’, एक्सन थ्रिलर जनरामा बनेको ‘विक्रम वेधा’ र पिरियड एक्सन ड्रामा ‘पोनियिन सिल्भानः भाग एक (पिएसः वान)’ ले एक साथ प्रदर्शन थालेका हुन्। 

सुरेन्द्र पौडेलको निर्देशनमा बनेको ‘बाबरी’ त्रिकोणात्मक प्रेम कथामा आधारित छ। धिरज मगर, अदिति बुढाथोकी र धिरज नाडकरको मुख्य भूमिका रहेको फिल्मले प्रिमियर शोमा उत्साहजनक प्रतिक्रिया पाएको थियो। फिल्मले मल्टिप्लेक्समा २० देखि ३० प्रतिशतसम्म शो पाएको छ भने शुक्रबारको बिहानी शोमा दर्शकको उपस्थिति औसत मात्रै छ। 

त्यस्तै गायत्री पुष्करको निर्देशनमा बनेको ‘विक्रम वेधा’ यतिवेला सबैभन्दा बढी शोका साथ प्रदर्शनमा आएको छ। फिल्मले मल्टिप्लेक्समा २५ देखि ४० प्रतिशतसम्म शो पाएको छ। भने दर्शकको उपस्थिति पनि अन्य फिल्ममा भन्दा उच्च रहेको छ। 

‘विक्रम वेधा’ गायत्रीकै निर्देशनमा बनेको सोही नामको तामिल फिल्मको हिन्दी रिमेक हो। फिल्ममा हृतिक रोशन, सेफ अली खान र राधिका आप्टेको मुख्य भूमिका छ। फिल्मलाई समीक्षकले यस वर्षको उत्कृष्ट बलिउड फिल्म बताएका छन्। 

मणि रत्नमको निर्देशनमा बनेको ऐतिहासिक कथामा आधारित ‘पिएसः वान’मा पनि दर्शकको उपस्थिति सन्तोषजनक नै छ। ५०० करोड भारु बजेटमा बनेको फिल्ममा विक्रम, ऐश्वर्या राय बच्चन, त्रिशा किसन लगायत कलाकारको मुख्य भूमिका छ। फिल्म झण्डै १५ सय वर्ष शासन गरेको चोला साम्राज्यको कथामा आधारित छ। 

तीन वटा नयाँ फिल्मले प्रदर्शन थालेपछि शुक्रबारदेखि दोस्रो हप्तामा प्रवेश गरेको नेपाली फिल्म ‘प्रेम गीत ३’ को शो घटेको छ। गत हप्ता ८० प्रतिशतभन्दा बढी शो पाएको फिल्मले दोस्रो हप्तामा आउँदा हिन्दी र नेपाली दुवै जोडेर २० देखि २५ प्रतिशतसम्म शो पाएको छ। दर्शकको उपस्थितिमा केही गिरावट आए पनि सबैजसो शोमा दर्शकको उपस्थिति ५० प्रतिशतभन्दा बढी देखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.