|

काठमाडौं : काठमाडौं महानगरपालिकाले चाडपर्वको बेला पनि फुटपाथ व्यापारीलाई छुट दिएको छैन। साना व्यवसायीहरुले फुटपाथ व्यापारको विकल्प दिनुपर्ने माग गर्दै आए पनि महानगरपालिकाले नदिएको हो।

महानगरपालिकाका प्रमुख बालेन शाहले बिहीबार प्रेस विज्ञप्ति जारी गरी चाडपर्वको बेला पनि फुटपाथ व्यवस्थापनको काम नरोकिने जानकारी दिएका छन्। फुटपाथ व्यवस्थापनमा महानगरपालिकाको आफ्नै नीति रहेकाले निरन्तर व्यवस्थापनको काम गर्ने जनाएको हो।

महानगरपालिकाका प्रमुख बालेन शाहले पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आंशिक नभई दीर्घकालीन रूपमा कार्यक्रम चलाउने पनि बताएका छन्।

‘फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशन/प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको छ, सडकमा पैदल यात्रीको पहिलो अधिकार रहन्छ, यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ, सहरको विकास, सुधार र समृद्धिका लागि कानुनप्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महशुस गराउने हाम्रो प्रतिवद्धता हो, यो कायम छ,’ विज्ञप्तिमा भनिएको छ।

महानगरपालिकाले चाडपर्वको बेला फुटपाथ पसल राख्न बन्देज लगाएपछि दैनिक श्रम गरेर गुजारा चलाउनेहरु पनि पसलमै गएर चर्को मूल्य तिरेर भएपनि लत्ताकपडा किन्न बाध्य भएका छन्। अघिल्लो वर्षको दशैँसम्म मध्यम वर्गकाहरुले फुटपाथ पसलबाट सस्तोमै आवश्यक लत्ताकपडा किन्न पाएका थिए।

महानगरपालिकाले अवैध संरचना, फुटपाथका पसल हटाउन थालेसँगै नेपाल स्वरोजगार श्रमिक व्यापार संघलगायत साना व्यवसायीहरु महानगरपालिकाविरुद्ध आन्दोलन गर्दै आएका छन्। उनीहरुले भदौ ३० गते महानगरपालिकाको कार्यालय घेराउ गरेका थिए।

चाडबाडको बेला रोजीरोटी खोसिने भन्दै यो बेला व्यवस्थापन गर्न माग गरिरहेका छन्।

तर पनि महानगरपालिकाले उनीहरुलाई सहज बनाउने वातावरण निर्माण गर्न सकेको छैन। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले पनि चाडबाडको बेला भएपनि फुटपाथ पसल राख्न नपाइने प्रतिकृया दिए। उनले भने, ‘हिजो महानगरपालिकाले जे विज्ञप्ति जारी गरेको छ त्यही है नै हो, फुटपाथमा पसल राख्न पाइँदैन।’

उनका अनुसार आव २०७९/०८० को वार्षिक नीतिअन्तर्गत पूर्वाधार विकास सम्बन्धी नीतिमा ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइनेछ, फुटपाथमा मानव आवतजावत बाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ’ भन्ने व्यवस्था गरिएको छ।

यो नीति प्रभावकारी रुपमा कार्यान्वयन गराउन पनि यो कार्यक्रम निरन्तर जारी राखेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.