विश्वयु्द्ध लडेका गाेर्खाली लडाकुले नेपाल भित्र्याएकाे गीत

|

काठमाडौं : बीसौँ शताब्दीलाई सर्वाधिक प्रभाव पार्ने दुवै विश्वयुद्धका गोर्खाली लडाकुहरू रणमैदानका अग्रभागमा खटिए।

घरपरिवारभन्दा निकै पर अनिश्चित भविष्य बोकेर हिँड्दै गर्दा उनीहरू रंगीविरंगी सपनाहरुको संसार बनाउने काम पनि गर्थे।

भय र सपना बीचको यो कल्पनाशीलताबाटै लाहुरेहरूले अनगिन्ती गीतहरू जन्माएका थिए। त्यस्ता लडाकुहरू युद्ध भूमिबाट फर्किएर आउँदा अनुभव र पैसा बोकेर मात्र आएनन्, एक से एक गीतहरू पनि नेपाली समाजलाई कोसेली ल्याइदिए।

ती कोसेली मध्येकै एउटा सिर्जना अर्थात् नेपथ्यको कान्छो प्रस्तुती अब उसको दशौँ एल्बमको अन्तिम गीत बन्न पुगेको छ। आम प्रचलनमा त्यति नआएको ‘नैनताल’ लाहुरेहरूले भारतको ‘नैनीताल’लाई दिएको नाम हो भने बुलबुले भन्नाले कपालको ‘जुल्फी’ बुझिन्छ।

यस गीतलाई नेपथ्यले आफ्नो दशौँ एल्बम रेकर्ड गर्दाको क्रममा सन् २०१५ मै रेकर्ड गरिसकेको थियो। यो गीत आधिकारिक रुपमा हालसम्म सार्वजनिक नभए पनि नेपथ्यले विभिन्न मञ्चमा यसलाई प्रस्तुत गर्दै आएको छ। आफूसँग संकलनमा रहेको यो गीतलाई नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङले थप अध्ययनसहित परिमार्जन गरेर तयार पारेका हुन्।

यस क्रममा उनले थुप्रै भूतपूर्व गोर्खा, तिनका सन्तान र गाउँलेहरूसँग भेटेका थिए। यसरी तयार भएको यो गीत पहिलोपटक लण्डन सहरको ओ टु एकेडेमी ब्रिक्सटनमा सन् २०१५ मा प्रस्तुत गरिएको थियो।

त्यो कन्सर्ट ताका गोर्खा परम्पराको इतिहासले दुई सय वर्ष टेकेको अवसर पनि जुरेको थियो। त्यसै संयोगमा नेपथ्यले सम्पूर्ण गोर्खा सैनिक परिवारलाई समर्पित गर्दै यो गीत प्रस्तुत गरेको थियो।

‘हाम्रो लोक संस्कृतिमा भित्रिएका लाहुरे स्वादको थुप्रै अभिव्यक्ति मध्येकै एउटा पाटो वर्णन गर्ने यो गीत पल्टनमा गएका मेरा काका बा र मावल खलकले वर्षौंदेखि गाउँदै आएका र मैले केटाकेटीदेखि सुन्दै आएको हुँ,’ अमृत भन्छन्।

यस गीतले विशेष गरेर भारतीय गोर्खा रेजिमेन्टहरूमा उतिबेला निकै लोकप्रियता आर्जन गरेको वरिष्ठ संगीतकार विक्रम गुरुङ सुनाउँछन्। लोकप्रिय आधुनिक नेपाली गीतहरूका सर्जक गुरुङ स्वयं पनि गोर्खा परिवारसँग जोडिएका व्यक्ति हुन्।

‘नैनताल गीत मैले पहिलोपटक देहरादूनमा सुनेको थिएँ,’ सन् १९६३ ताकाको सम्झना गर्दै गुरुङ भन्छन्, ‘मेरा बाबा र परिवारसँगै म ब्यारेकमै बस्थेँ। सायद म प्राथमिक विद्यालय जाने उमेरको थिएँ। त्यसैबेला सुनेको त्यो गीतका अनेक संस्मरणहरू अहिले पनि मीठो याद बनेर मेरो सम्झनामा बसेको छ।’

उनका अनुसार विभिन्न जमघट र समारोहमा यो गीत गाइँदा गोर्खा सिपाहीका भए भरका कम्पनीको आवाज र नृत्य एकसाथ देख्न पाइन्थ्यो। यसरी यो गीतले सिंगो माहौललाई जीवन्त पारिरहेको हुन्थ्यो।

कुनै कुनै विशेष समारोहहरूमा यस गीतलाई फौजीले प्रयोग गर्ने न्याउली बाजा (ब्यागपाइपर)को आवाजबाट प्रस्तुत गरिएको पनि गुरुङले उतिबेला देहरादूनका ब्यारेकतिरै सुनेका थिए।

‘आज पनि कतैतिर नैनतालको धुन बज्दा मेरा पैतालाले स्वतस्फूर्त भुइँ ठोक्न थाल्छ,’ गुरुङ भन्छन्, ‘मेरो बाल्यकाललाई यस्तरी प्रभावित पारेको त्यो मिठो गीतलाई नेपथ्यले परिमार्जन गरि आम नेपाली श्रोतालाई सुनाउन पाउँदा असाध्यै खुशी लागेको छ।’

यस गीतले समेटेको कालखण्ड र त्यसको आस्वादलाई जीवन्तता दिने प्रयास स्वरुप यसको रेकर्डिङ पनि पुरानै प्रविधि अर्थात् ‘वन टेक रेकर्डिङ’ मार्फत् गरिएको थियो। डिजिटल रेकर्डिङ सुविधा आउनुअघिको यो प्रविधिमा गायक र वाद्यवादकले एकसाथ गाउँदा गाउँदै र बजाउँदा बजाउँदै एकैपटक रेकर्ड सम्पन्न गरिन्छ।

यसरी रेकर्ड गरिने गीत तुलनात्मक रुपमा कम सफा सुनिने भएता पनि कृतिमतारहित अनि बढी जीवन्त हुने तर्क संगीतका पारखीहरू गर्छन्।

अमृतले यस गीतलाई पुरानै शैलीले रेकर्ड गर्ने इच्छा जाहेर गर्दा आफू आश्चर्यमा परेको यसका रेकर्डिस्ट एवं ‘साउण्ड इन्जिनियर’ इमन शाह बताउँछन्। ‘अमृत दाइ र नेपथ्यको यो सोच मेरो निम्ति अवसर र चुनौति दुवै बन्न पुग्यो,’ शाह भन्छन्, ‘ब्यान्डका सदस्य र तिनका साजहरूलाई थुप्रै माइकहरूसहित एउटै कोठामा राखेर एकैपटकमा रेकर्ड गर्नुको आफ्नै चुनौती हुन्छन्। यसको न्यूनतम आवश्यकता भनेको पूर्ण रुपमा अभ्यस्त ब्यान्ड, प्राविधिक रुपमा सम्पन्न ठूलो स्टुडियो कोठा र यस्तो कामको भावना बुझ्ने संगीतकर्मी, प्राविधिक र व्यवस्थापनको सामूहिक बुझाइ नै हो।’

‘अहिलेका डिजिटल प्रविधिजस्तो यसको आवाज असाध्यै सफा नहोला,’ शाह थप्छन्, ‘तर, साउण्ड इन्जिनियरका रुपमा धुनसँगै ब्याण्डका साथीहरू बीचको सामीप्यलाई समेट्न सक्नुलाई मैले उल्लेख्य ठानेको छु।’

‘रेकर्डिङको बेला सिंगो ब्यान्ड केवल मलाइ सुनाउनका निम्ति उभिएको छ र एकसाथ आइरहेका ती आवाजका साथै त्यो क्षणलाई म प्रविधिमा कैद गरिरहेको छु जस्तो भान परिरहेको थियो,’ शाहले अगाडि भने, ‘यसरी यो एल्बम प्रोजेक्टको रेकर्डिङ अनुभव मेरो जीवनकै एउटा महत्वपूर्ण क्षण बन्नपुगेको थियो।’

यही महत्वलाई आत्मसात गर्दै नेपथ्य ब्यान्डको प्रवर्द्धन गर्दैआएको संस्था नेपालयले यसको म्युजिक भिडियो ‘वन टेक रेकर्डिङ’का बेला संग्रह गरिएका दृश्यलाई जोडेर तयार पारेको छ। यसमा देखिने दृश्य क्यामराका लागि अभिनय गरिएको नभइ रेकर्डिङ भइरहेकै क्षणलाई जस्ताको तस्तै प्रस्तुत गरिएको हो।

‘नेपथ्यका सबैजसो लोकलयमा आधारित गीतहरू मैले गाउँ बस्ती डुलेर संकलन गरेको हुँ,’ अमृत भन्छन्, ‘यो भने मेरो पारिवारिक पृष्ठभूमिबाटै आएको प्रिय संकलन भएकाले यसपाला पर्वहरूको अवसर पारेरै सौगातका रुपमा पस्केको छु।’

यो गीत तयार पार्नका लागि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गीतारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.