काठमाडाैं : नेपालमा सबैभन्दा धेरै मानिसहरूले मनाउने चाड हो दशैँ। यसको धार्मिक तथा ऐतिहासिक महत्त्व भिन्दै छँदै छ। दशैँ नमनाउनेहरू पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दशैँसँग जोडिएका हुन्छन्।
खेतमा लहलह धानका बाला, बारीमा फुलेकाे कोदो सँगै रेडियाे टेलिभिजनमा बज्ने मालश्री धुन र दशैँ गीतले दशैँ आएकाे संकेत गर्छ। हरेक वर्ष दशैँ तिहारलाई लक्षित गरेर दर्जनाैँ गीत सार्वजनिक हुने गर्छन्। तर केही यस्ता गीत छन्, जाे हरेक वर्ष उत्तिकै बज्छन्। जसले दशैँ आएकाे संकेत गर्छन्।
केही सदाबहार दशैँ तिहार गीत:
सुगम पोखरेलकJ दशैँ तिहार
रवि श्रेष्ठको शब्द तथा सुगम पोखरेलको स्वर तथा संगीत रहेको गीत दशैँ तिहार हरेक वर्ष उत्तिकै सुनिन्छ। दशैँ तिहार जस्ता चाडले लिएर आउने उत्साह तथा उमंग यो गीतमा सुन्न सकिन्छ। गीतमा दशैँ आयो भनेर रमाउनेहरूको मात्र कथा छैन। रोजगारको शिलशिलामा विदेशिएका र चाडवाडमा घर आउने नपाउनेहरूको व्यथा पनि छ।
मात्र ४ मिनेटको यो गीत दशैँ र तिहारको पर्यायवाची जस्तै बनेको छ। हरेक वर्ष दशैँ नजिकिने बित्तिकै युट्युबमा रहेको यो गीतमा कमेन्ट बढ्न थाल्छ। यो युट्युबमा सबैभन्दा धेरै पटक हेरिएकाे दशैँ गीत पनि हाे।
‘फौजीलाई कुन हो दशैँ, कुन हो चाड तिहार’
झण्डै दश वर्ष पुरानो यो गीत रेडियो तथा टेलिभिजनमा आज पनि उत्तिकै बज्छ। सशस्त्र प्रहरी बलले निर्माण गरेको यो गीतमा दशैँ तिहारमा घर जान नपाउने प्रहरी, आर्मी तथा सशस्त्र प्रहरीको कथा देखाइएको छ।
जगदिश समालको स्वर तथा गैरे सुरेशको संगीत रहेको गीतलाई दीपक कोइरालाले लेखेका हुन्। गीतमा फौजीको लागि कर्तव्य नै दशैँ तिहार हो भनिएको छ। गीतको भिडियोमा पनि दशैँमा घर जान नपाएका फौजीहरू आफूआफूमा रमाइलो गरेर दशैँ मनाएको देखाइएको छ।
चरर बरर धरर
पाँच वर्षअघि सार्वजनिक भएको प्रकाश सपुतको चरर बरर धरर बोलको गीतले विदेशमा भएका श्रीमानहरू र यता घरमा उनीहरूको प्रतीक्षामा रहेका श्रीमतीहरूको कथा बोल्छ।
प्रकाश सपुत र सम्झना लामिछाने मगरको स्वरमा रहेको गीतलाई प्रकाशले नै लेखेका हुन् भने संगीत पनि उनकै हो। रोजगारका लागि बिदेशिनु परेका र उनीहरूका पर्खाइमा रहेकाे परिवारकाे कथा गीतमा रहेकाे छ। दशैँ सबैका लागि उल्लासमय हुँदैन भन्ने कुरा पनि यो गीतले बताएको छ।
बाटो हेरे हुन्छ है घरमा
लामो समय विदेशमा बसेर दशैँ तिहार मान्ने गरी घर आउन लागेको परदेशी र उसलाई पर्खेर बसेको परिवारको खुशी यो गीतमा दर्साइएको छ। रेशम सापकोटाको शब्द तथा संगीत रहेको गीतमा रेशमसँगै प्रकाश क्षेत्री र विष्णु माझीको स्वर रहेको छ। ११ वर्षअघि सार्वजनिक भएकाे गीत सबैभन्दा बढी बज्ने गीत मध्येमा पर्छ।
दशैँ आयो
मुग्लान फिल्ममा रहेकाे दशैँ आयाे गीतमा दशैँको बेलामा बनाइने पिङ, लगाइने टिका जमरा देखि यो समयमा फल्ने बालीको प्रसंग पनि जोडिएको छ। परदेशमा भएर दशैँ मनाउन आउन नपाउनेहरूलाई पनि गीतमा सम्बोधन गरिएको छ।
यसको भिडियो पनि गीतसँग सुहाउँदो गरी बनाइएको छ। शिव रेग्मीको लेखन तथा निर्देशनमा बनेको फिल्म मुग्लानमा यसको विशेष स्थान छ। लोकनाथ सापकोटाको शब्द, सुरेश अधिकारीको संगीत रहेकाे गीतमा उदित नारायण झा, दिपा नारायण, नारायण लामा र जुना प्रसाइँको स्वर रहेकाे छ।
यी बाहेक योगेश्वर अमात्यको दशैँ नै हो कि यो मेरो दशा, कुल पोखरेलको यसपाली दशैँमा ठूलो दाइ आउने रे, नारायण रायमाझीको नमुछे आमा दहीमा टिका लगायतका गीत पनि दशैँमा धेरै बज्ने गीत मध्येमा पर्छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।