|

काठमाडौं :  नाटकका दर्शकलाई थाहा छ नाटकघरमा गएर प्रत्यक्ष नाटक हेर्नु जस्तो मजा नाटकको भिडियो हेर्नूमा हुँदैन। नाटक प्रत्यक्ष मञ्चन हुने भएकाले एक पटक मञ्चन भएको नाटक दर्शकले चाहेको बेलामा फेरि फेरि हेर्न सक्दैनन्।

त्यसैले नाटकको अभिलेख पनि रहने र हेर्न छुटाएका तथा फेरि हेर्न चाहने दर्शकले पनि हेर्न सक्ने गरी नाटकघरले आफ्ना केही नाटक युट्युबमा राखेका छन्।

तपाईं आफ्नो दशैँ बिदा युट्युबमा यी नाटक हेरेर पनि बिताउन सक्नुहुन्छ। जहाँ सौगात मल्ल, विपिन कार्की, सरिता गिरी, अरुणा कार्की, विजय बराल, प्रवीण खतिवडा लगायत अहिले फिल्ममा मन पराइएका धेरै कलाकारको सुरुवाती चरणको काम पनि देख्न सकिन्छ।

दाँतको डोब

खगेन्द्र लामिछानेको लेखन तथा निर्देशनमा बनेको नाटक टुकी आर्ट्सको युट्युब च्यानलमा छ। बाल मनोविज्ञानमा आधारित नाटकमा अनोज पाण्डे, प्रकाश दाहाल, विनिता थापा मगर, राजेश सिटौला, कमल देवकोटा लगायतका कलाकारको अभिनय रहेको छ।

रशोमन

जापानिज लेखक रुनोसुके अकुतागवाको कथामा आधारित नाटक रशोमन सुनील पोखरेलको परिकल्पना, अनुवाद तथा निर्देशनमा मञ्चन भएको नाटक हो।

आरोहण गुरुकुल र मण्डला थिएटरको संयुक्त प्रस्तुती रहेको नाटकमा प्रदीप कुमार चौधरी, विपिन कार्की, राजकुमार पुडासैनी, प्रवीण खतिवडा, निशा शर्मा, सरिता गिरी लगायतका कलाकारको अभिनय रहेको छ।

मित ज्यू

दयाहाङ राईको परिकल्पना तथा निर्देशन एवम सोमनाथ खनालको लेखन रहेको नाटक मण्डला थिएटरको युट्युब च्यानलमा राखिएको छ।

नाटकमा विजय बराल र बुद्धि तामाङ केन्द्रीय भूमिकामा देखिएका छन्। त्यस्तै सृजना सुब्बा, विकास जोशी, उमेश तामाङ, किरण चाम्लिङ, अंकित खड्का लगायतका कलाकारको अभिनय रहेको छ।

महाभाेज​
तीन वर्षअघि मञ्चन भएको अनुप बराल निर्देशित नाटक महाभोज सोही वर्ष भारतको नेशनल स्कुल अफ ड्रामाले आयोजना गरेको भारत रंग महोत्सवमा पनि मञ्चन भएको थियो। भारतीय लेखक मनु भण्डारीको उपन्यासमा आधारित नाटकको नेपाली अनुवा विप्लभ प्रतिकले गरेका हुन्। 

मण्डला थिएटरको प्रस्तुतीमा बनेको नाटकमा रमेश बुढाथोकी, राजन खतिवडा, बुद्धि तामाङ, सिर्जना सुब्बा, विजय बराल, सोमनाथ खनाल लगायतका दर्जन बढी कलाकारको अभिनय रहेको छ। नाटक तीन वर्षअघि भदौ १४ देखि असोज १२ सम्म सफल रुपमा मञ्चन भएको थियो। 

कोमा

कुमार नगरकोटीको लेखन तथा घिमिरे युवराजको निर्देशन रहेको नाटक कोमा शिल्पी थिएटरको युट्युब च्यानलमा हेर्न सकिन्छ। कोमा शिल्पीको गोठाले नाटकघरमा मञ्चन भएको पहिलो नाटक पनि हो।

नाटकमा कुमार नगरकोटी, प्रकृति कार्की, रोशन मेहता, बादल भट्ट, पवित्रा खड्का लगायतका कलाकारको अभिनय रहेको छ।

यी बाहेक बाथटब, ताराबाजी लै लै, पाहुना घरकी साहुनी, सपनाको साबिती लगायतका नाटक पनि युट्युबमा हेर्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.