|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी निर्वाचनमा आफूले राजसंस्था पुनःस्थापना गर्ने एजेन्डालाई लिएर मतदातासँग भोट माग्ने बताएका छन्।

शुक्रबार काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार औपचारिक रुपमा घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले आगामी निर्वाचनमा जाने आफ्नो मूल एजेन्डाबारे प्रष्ट्याएका हुन्।

राजसंस्थावादी, गणतन्त्रवादी र धर्मनिरपेक्षतावादी नभएको उल्लेख गर्दै उनले संविधानले बाँधेर राखेको राजसंस्था पुनःस्थापित हुनुपर्छ भन्ने मान्यतामा आफू रहेको बताए। यसरी जाँदा भोट नपाए पनि आफूले खुशीसाथ मतदातालाई धन्यवाद दिने उनको भनाई थियो।

वरिष्ठ उपाध्यक्ष मिश्रले भने, ‘म गणतन्त्रवादी होइन, राजसंस्थावादी पनि होइन। म धर्मनिरपेक्षतावादी पनि होइन। म नेपालवादी हुँ। म नेपालवादी भएकै कारणले नेपालको हित गर्नका लागि यो देशमा कुनै न कुनै रुपमा संविधानले बाँधेर राजसंस्था पुनस्थापित गर्नुपर्छ भन्ने मान्यता राख्छु।

यही कुरा लिएर म मतदाताकहाँ जान्छु, भोट पाए पाउँछु। पाइन भने खुशी साथ म धन्यवाद व्यक्त गर्छु। यसमा म प्रष्ट छु।’

वरिष्ठ उपाध्यक्ष मिश्रले १५ वर्षसम्म जनताको पक्षमा काम नगरेका प्रकाशमान सिंहलाई काठमाडौं क्षेत्र नम्बर १ का जनताले पुनः विजयी गराउन नमिल्ने बताए। उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ का जनताले आफ्नो एजेन्डालाई हेरेर विजयी गराउने विश्वास समेत व्यक्त गरे।

निर्वाचनमा मतदाताकहाँ जाँदा आफूले ढाँटेर भोट माग्ने काम नगर्ने पटकपटक दोहोर्‍याउँदै वरिष्ठ उपाध्यक्ष मिश्रले गत निर्वाचनमा पनि आफूले सुकुम्बासीलाई लालपुर्जा दिन्छु भनेर फटाहा कुरा नगर्दा ८१९ मतले हार्नु परेको गुनासो गरे।

उनले भने, ‘पहिले पनि २०७४ सालमा म उम्मेदवार हुँदाखेरी म सुकुम्बासी बस्तीमा गएँ। म विभिन्न ठाउँमा गएँ। कतिपय नागरिकले के भन्नु भयो भने हेर्नुस् हाम्रो घर अगाडिको बाटो जसले बनाई दिन्छ, हामी उसैलाई भोट दिन्छौँ। सुकुम्बासी बस्तीमा गएँ। ३०/४० वर्षदेखि हाम्रो लालपुर्जा छैन। जसले लालपुर्जा दिन्छ, उसैलाई भोट दिने हो। मैले भने–म सांसद भएर बाटो बनाउन पनि सक्दिन। म सांसद भएर लालपुर्जा दिन पनि सक्दिन। किनभने त्यो मेरो अधिकार क्षेत्रको विषय नै होइन। म किन फटाहा बोल्छु ? मैले के चाँही भने भने म सांसद भएँ भने नीतिगत तहमा हस्तक्षेप गरेर यो विषयलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा चाँही म तपाईहरुलाई वचनबद्धता प्रकट गर्न सक्छु भने। जहिले पनि ढाँटेर भोट लिने, फटाहा बोलेर चुनाव जित्ने। म गर्दिन। अहिले पनि गर्दिन, पहिले पनि गरिन। पहिला नगर्दाखेरी ८१९ भोटले हारेँ। अहिले फेरि जुन एजेण्डाहरु लिएका आएको छु। त्यो एजेण्डाको बलमा तपाईहरुले मलाई सशक्त ढंगले विजय गराउनु हुनेछ भन्ने विश्वास बोकेको छु।’

कार्यक्रममा बोल्दै राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देश र जनताका लागि केही गरौँ भन्ने भावका साथ राजनीतिमा आएका मिश्रलाई आगामी निर्वाचनमा विजयी गराउन काठमाडौं क्षेत्र नम्बर १ का जनतालाई आग्रह गरे। उनले ठूला दलहरु देश र जनताका लागि नालायक भएकाले पनि आगामी निर्वाचनमा नेपाली जनताले त्यसको विकल्पमा आफ्नो पार्टीलाई विजयी गराउनुपर्ने जिकिर गरे। उनले भने, ‘तपाईंहरुले एकपटक विचार गर्नुहोस् कि क्यान्टोनमेन्टमा अरबौँ लिने, ललिता निवासमा भ्रष्टाचार गर्ने वा ओम्नीसँग औषधिमा कमिशन खानेहरूबाट, त्यही समूहलाई, त्यही संस्कारलाई, त्यही दृष्टिलाई समर्थन गरेर अनि के नेपालमा गतिशीलता आउँछ ? आउँदैन। त्यसलाई चुनौती दिनेबेला आएको छ अहिले। तिमी नालायक हौ, यो देशलाई माथि उठाउँछौँ भन्ने नारा लिएर वास्तवमा तिमीहरुले यो देशको शोषण गरेका छौ। तिमीहरुलाई बाहिर पठाउँछौँ भनेर  भन्ने मौका अहिले आएको छ।'

लोहनीले अरबौँको भ्रष्टाचारमा मुछिएकाहरुलाई नेपाली जनताले फेरि पनि निर्वाचनमा विजयी गराएर गल्ती गर्न नहुने पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.