टिकट बाँडफाँट अनिर्णित

|

काठमाडौं : आज पनि साँझसम्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गठबन्धन बैठकमा सहभागी नभएपछि नेताहरु निराश हुँदै घर फर्किएका छन्।​ हिजो बैठक बसेर सिट बाँडफाँटको टुङ्गो लगाउने भनिएपनि केही दल नआएपछि बैठक आजका लागि सरेको थियो।​

पार्टी भित्रका आन्तरिक किचलोका कारण गठबन्धन भित्र भाँडभैलो मच्चिएको छ। निर्वाचन आयोगले पर्सिसम्म समानुपातिक तर्फको बन्दसूची सच्याउन समय दिएपनि दलहरु भित्रैको रडाकोका कारण गठबन्धनको बैठक पछिल्लाे दुई दिन बस्नसमेत सकेको छैन।​

सिट बाँडफाँटका बिषयमा गठबन्धनको आजको बैठकमा सहभागी हुन पुगेका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्डलाई कुर्दाकुर्दै रात परेपछि घर फर्किएको बताए।

माओवादी भित्र नेताहरुबीच तीव्र असन्तुष्टि बढेपछि प्रचण्डलाई नेताहरुको व्यवस्थापन टाउको दुखाइको बिषय बनेको छ। महासचिव देव गुरुङ पनि दशैँ लागेपछि लमजुङ पुगेका छन्।

सत्ताधारी दल नेपाली काङ्ग्रेस भित्रपनि सिट बाँडफाँटको बिषयमा तीव्र असन्तुष्टि चुलिँदै गएको छ। प्रतिनिधिसभाको १ सय ६५ र प्रदेशसभातर्फ ३ सय ३० सिटको भागवण्डा मिलाउन गठबन्धन कार्यदल र शीर्ष नेताहरुको बैठक डेढ महिना यता निरन्तर बस्दै आएको छ।

दलहरुबीच अहिलेसम्मको समझदारी अनुसार प्रतिनिधिसभामा कांग्रेस ८० आसपास, माओवादी ५० आसपास, एकीकृत समाजवादी र जसपा १५ आसपास र जनमोर्चाले दुई सिट पाउने गरी सहमतिको सम्भावना छ ।

तर, केही क्षेत्रको हेरफेर आवश्यक रहेकाले अन्तिमसम्म अंक केही तलमाथि हुन सक्ने नेताहरूले बताएका छन्। निर्वाचन आयोगले असोज २३ गतेका लागि प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको समय तोकेको छ। त्यसैले दशैँअघि नै सिट बाँडफाँट टुङ्ग्याएर उम्मेदवार चयनमा जुट्ने गठबन्धन दलहरूको तयारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.