|

धनगढी : बैतडीका खगेन्द्र धामी शुक्रबार कैलालीबाट दशैँ मनाउन पहाडतिर झरे। धामी सुदूरपश्चिमको अस्थायी राजधानीसमेत रहेको धनगढीबाट सिगास फर्किएका हुन्।

धनगढीबाट सिगास बैतडीसम्मको बस भाडा करिब एक हजार रुपैयाँ छ। तर, उनले एक हजार ५ सय बढी रुपैयाँ तिरे। उनले लिएको टिकटमा भने एक हजारमात्रै उल्लेख गरिएको थियो।

धामीले भने, ‘काउन्टरमा गएँ। त्यहाँ टिकट छैन। सीट सबै प्याक भएको छ भनेर बाहिर पठाए। बाहिर टिकट त पाएँ। तर, दलालहरु रहेछन्, ती मान्छेहरुले महँगो भाडा लिए। टिकटमा कम लेखिएको थियो। मैले चाँही बढी तिर्नु परेको थियो। घर जानै पर्ने बाध्यताले चर्को भाडा तिरेरै भएपनि घर फर्किएँ।’

चाडपर्वका बेला यसैगरी उनीजस्तै कयौँ यात्रुहरुलाई सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीहरुले ठगिरहेको गुनासो बढेको छ। दशैँका लागि घर जाने यात्रुबाट प्रदेशका यातायात व्यवसायीहरुले तोकिएभन्दा चर्को रकम असुलीरहेका हुन्।

मनोमानी रुपले यातायातका साधन सञ्चालन गर्दै आएका उनीहरुले शुल्क पनि मनोमानी तवरले लिने गरेको बताइएको छ। धनगढी बसपार्कबाट पहाडी जिल्लाको टिकट १६ गतेसम्मका लागि अग्रिम बुक भएको बताउँदै आएका व्यवसायीहरुले बाहिर भने यात्रुबाट बढी रकम लिइरहेको गुनासो छ।

धनगढी बसपार्कमा रहेका काउण्टरहरूमा बसका टिकट नै पाउँदैनन्। यातायात प्रालिका कर्मचारीहरु १६ गतेसम्मका लागि टिकट बुक भएको भन्दै यात्रु फर्काउँछन्। तर, खल्तीबाटै प्रालिहरुको नाम नभएका महँगा टिकट काटेर पहाडी जिल्लामा यात्रु पठाउने गरिएको छ।

बाजुरा जिल्लासम्मको एक हजार ८ सय भाडा लिइएको छ। त्यहाँका लागि एक हजार २ सयको भाडा तोकिएको भएपनि महँगो रकम लिएको अछामका एक यात्रुको गुनासो छ।

सुदूरपश्चिमका यातायात व्यवसायीले क्यु फ्रिमा सार्वजनिक सवारी सञ्चालन गर्दै आएका छन्। पहाडी जिल्लाबाट फर्किदा यात्रु नपाउने भन्दै उनीहरुले महँगो भाडा लिने गरेका हुन्।

यता सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले सो विषयमा जानकारी नभएको बताए। ‘हामीले बाहिर टिकट काट्न अनुमति दिएका छैनौँ। बाहिर टिकट काटिएको विषयमा जानकारी पनि छैन। बाहिर टिकट काट्नेलाई हामी दलाल भन्छौँ। दलाली भएको भए कारबाही गर्छौं,’ उनले भने।

यस्तै काठमाडौंबाट फर्किने यात्रुहरुलेसमेत धनगढी र महेन्द्रनगरसम्मको भाडा दिनैपर्ने बाध्यता छ। यात्रुहरु लम्की, अत्तरिया अथवा बाटोमै झर्नु परेपनि उनीहरुले धनगढी र महेन्द्रनगरसम्मको भाडा तिर्दै आएका छन्।

यस्तै पहाडतर्फ बैतडी, अछाम, बाजुरा, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी लगायतका जिल्लाहरुमा जाने यात्रुहरुले पनि बीच बाटोमै झर्दा पनि सदरमुकाम तथा अन्तिम गन्तव्यसम्मको भाडा तिर्नु परिरहेको बताएका छन्। यसरी भाडामा मनोमानी भइरहेका बेला नियामक निकाय भने मूकदर्शक बनेको उनीहरुको गुनासो छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.